नेपाली कांग्रेसका सहमहामन्त्री भीष्मराज आङ्देम्बेले ‘ब्रेन स्ट्रोक’ पछि हाल स्वास्थ्य लाभ गरिरहेका नेकपा एमालेका प्रतिनिधिसभा सदस्य वसन्तकुमार नेम्बाङलाई भेटेका छन् । भेटको क्रममा नेम्बाङको स्वास्थ्य स्थितिबारे आङ्देम्बेले जानकारी पनि लिए । उनले सांसद नेम्बाङको पूर्ण स्वास्थ्य लाभको कामना गरे । दुवै जना पाँचथरे नेता हुन् ।
पूर्वमन्त्रीसमेत रहेका सांसद नेम्बाङलाई भेट्न शनिबार आङ्देम्बे ललितपुरको हात्तीवनमा रहेको क्लासिक टावर पुगेका थिए । जहाँ सांसद नेम्बाङले सहयोगीको साथमा हिँडेर आङ्देम्बेसँग हात मिलाएका थिए । त्यसपछि उनीहरूबीच केहीबेर सम्वाद भएको थियो ।
नेम्बाङ पत्नी भूमिका आङ्देम्बे भेट्न पुग्दा खुसी देखिएकी थिइन् । ‘देवरबाबु (भीष्म)आउनुभयो । खुसी लाग्यो । चुनावमा भिन्नभिन्न दलबाट लडे पनि मानवीय संवेदनाको विषय भिन्नै हो’, भूमिकाको भनाइ उदृत गर्दै आङ्देम्बेको सचिवालयमा रहेका नेता याम ढुंगानाले भने,‘तपाईंहरू आउँदा खुसी भएँ ।’
दुवै नेता पाँचथरका हुन् । ४ मंसिर २०७९ मा भएको प्रतिनिधिसभा निर्वाचनामा दुई नेताबीच प्रतिस्पर्धा भएको थियो । जसमा नेम्बाङ विजयी भए । उनै सांसद नेम्बाङलाई गत वर्षको १७ माघमा ब्रेन स्ट्रोक भएको थियो । जतिबेला उनी ताप्लेजुङमा थिए । पछि ललितपुरको मेडिसिटी हस्पिटलमा लामो समय उपचारपछि सांसद नेम्बाङको स्वास्थ्यमा सुधार देखिएको छ । उनी केपी शर्मा ओली नेतृत्वको सरकारमा लामो समय मन्त्री भएका थिए ।



















