पहिरोले दुई बस बगाउँदा त्रिशूलीमा बेपत्ता, बसमा ६५ जना रहेको अनुमान

नारायणगढ-मुग्लिन सडकको सिमलतालमा लेदोसहितको पहिरोले दुईवटा बस बगाउँदा त्रिशूली नदीमा बेपत्ता भएका छन् । ती बसमा चालकसहित ६५ जना रहेको बताइएको छ ।

घटनास्थलमा पुगेका चितवनका प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादवका अनुसार आज बिहान ३:३० बजे काठमाडौँबाट रौतहटको गौर जाँदै गरेको गणपति डिलक्स र वीरगञ्जबाट काठमाडौँ जाँदै गरेको एञ्जल लेखिएको बस पहिरोले बगाउँदा त्रिशूलीमा खसेका हुन् ।

प्रजिअ यादवका अनुसार गौर जाँदै गरेको बसमा ४१ र काठमाडौँ जाँदै गरेको बसमा २४ जना रहेका थिए । उनले भने, ‘हामी घटनास्थलमा छौँ । पानी परिरहेको छ । उद्धारको काम थालिएको छ । पहिरो पन्छाउन सुरु गरिएको छ ।’ उनले ती बसमा रहेका यात्रुको यकिन विवरण प्राप्त भइनसकेको बताए ।