काठमाडौँ । सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वी सुब्बा गुरुङले राष्ट्रिय समाचार समिति (रासस)ले नेपाली भाषामा २४ घण्टा समाचार सेवा शुभारम्भ गरेर महत्वपूर्ण फड्को मारेको बताएका छन् । रासस केन्द्रीय कार्यालयमा आज ‘नेपाली भाषामा २४ घण्टा समाचार सेवा’ शुभारम्भ गर्दै उनले भने, “काम सानो भए पनि यसले ठूलो अभियानको सुरुआत गरेको छ । चौबिसै घण्टा गतिशील हुनुले ठूलो अर्थ राख्छ, हामीले फड्को हानेका छौँ ।”
राससले दूरदराजका नागरिकका आवाज समेट्नुपर्नेमा जोड दिँदै मन्त्री गुरुङले सामाजिक न्यायका विषयलाई उच्च प्राथमिकता दिन आग्रह गरे । संरचनागत पुनःसंरचनामा लाग्न निर्देशन दिँदै उनले कर्मचारीको क्षमता अभिवृद्धिमा ध्यान दिन आग्रह गरे । मन्त्रालयले ऐन, कानुन निर्माण र संशोधनलाई उच्च प्राथमिकतामा राखेको जानकारी दिँदै उनले केही ऐन सरकारका एक सय दिनभित्र सम्पादन गर्नेगरी काम भइरहेको स्पष्ट पारे ।
“सामाजिक सञ्जालको सञ्चालन, प्रयोग र नियमन गर्नेसम्बन्धी विधेयक र सूचना प्रविधि तथा साइबर सुरक्षासम्बन्धी विधेयक भदौ मसान्त तथा दूरसञ्चारसम्बन्धी विधेयक, राष्ट्रिय आमसञ्चार विधेयक, चलचित्रसम्बन्धी विधेयक, डाटा सेन्टर सञ्चालन मापदण्ड र सरकारी इमेल सञ्चालनसम्बन्धी कार्यविधि असोज मसान्तसम्म तयार गरेर मन्त्रिपरिषद्मा पेस गर्नेगरी काम थालनी गरिएको छ”, मन्त्री गुरुङले भने ।
सुरक्षित मुद्रणसम्बन्धी नियमावली स्वीकृतिका लागि यही भदौ मसान्तभित्र मन्त्रिपरिषद्बाट पारित गर्ने तयारी गरिएको जानकारी दिँदै मन्त्री गुरुङले हुम्लामा द्रूत गतिको इन्टरनेट सेवा पु¥याइने बताए । पुराना नीति नियममा टेकेर नयाँ काम गर्न नसकिने स्पष्ट पार्दै उनले ऐनकानुनलाई समयानुकूल बनाइनुपर्ने आवश्यकता औँल्याए । “पुराना हतियार बोकेर समयसापेक्ष सेवा देऊ भन्न मिल्दैन”, उनले भने ।
आमसञ्चार प्रशिक्षण प्रतिष्ठान स्थापना गरेर पत्रकारको क्षमता अभिवृद्धिका साथै पत्रकारलाई सामाजिक सुरक्षा कोषमा आबद्ध गराउनुपर्ने विषयमा आफ्नो ध्यानाकर्षण भएको उल्लेख गर्दै मन्त्री गुरुङले नीति बनाएरै यसलाई सम्बोधन गरिने बताए । सार्वजनिक प्रसारण सेवा विधेयक समितिबाट पारित भएको जनाउँदै उनले मिडिया काउन्सिल विधेयकले पनि छिट्टै पूर्णता पाउने विश्वास व्यक्त गरे ।
फरक प्रसङ्गमा मन्त्री गुरुङले पोखराको एक पत्रकार सम्मेलनमा सञ्चारकर्मीको जिज्ञासामा आफूले नेपाल प्रहरीको प्रमुखका सम्बन्धमा विगतका सन्दर्भमा मात्रै उल्लेख गरेको स्पष्ट पारे । सङ्घीयताको कार्यान्वयनमा राज्यका सबै निकायले सहयोग गर्नुपर्ने धारणा राखेकोसमेत उनले बताए ।
सञ्चार सचिव राधिका अर्यालले सेवाको गुणस्तर र प्रभावकारिता अभिवृद्धि गरी दूरदराजका नागरिकसम्म पहुँच पु¥याउन निर्देशन दिँदै आधिकारिता र विश्वसनीयता कायम गर्दै सेवा क्षेत्र विस्तार गर्नुपर्नेमा जोड दिए। उनले सीमित स्रोतसाधन र जनशक्तिबीच पनि सेवा विविधीकरण र २४ घण्टा समाचार प्रवाह गर्नु प्रंशसनीय रहेको बताए । “सत्यतथ्य सूचना जस्ताका तस्तै नागरिकसमक्ष पुरयाउनुहोस्”, सचिव अर्यालले भन्नुभयो, “नागरिकप्रति जिम्मेवार भएर पत्रकारिता गर्नुहोस् ।”


















