चुनावी गठबन्धनको विरुद्धमा चार ठूला दल

संसदको ठूला चार दल नेपाली कांग्रेस, नेकपा एमाले र नेकपा (माओवादी केन्द्र) चुनावी गठबन्धन विरोधी कित्तामा उभिएका छन् । आगामी २०८४ मा हुने आम निर्वाचनमा यी तीनै दल एक्लाएक्लै चुनाव लड्ने भएका छन् । यसअघि भने तीनै दल २०७४ र २०७९ को चुनावमा साना ठूला दलहरूसँग गठबन्धन गरेर चुनाव लडेका थिए । तर, आगामी चुनाव आउन तीन वर्ष बाँकी छँदै चुनावी गठबन्धन नगर्ने तीन दलले घोषणा गरिसकेका छन् । कांग्रेसले त गठबन्धन नगर्ने प्रस्ताव केन्द्रीय समिति बैठकबाट पारित नै गरेको छ ।

‘हाम्रो आफ्नै संगठनलाई थप ऊर्जाशील बनाउँदै आमजनताको मत र विश्वास बढाएर नेपाली कांग्रेसलाई एक्लै बहुमत ल्याउन सक्ने पार्टीको रूपमा पुन स्थापित गर्नेछौँ । हामी भविष्यमा हुने आवधिक निर्वाचनहरूमा आफ्नै तागतमा एक्लै लड्नेछौँ र हाम्रा मतदातालाई नेपाली कांग्रेसको चुनाव चिह्न रुखमा नै मत हाल्न पाउने अवस्था सुनिश्चित गर्नेछौँ’ महामन्त्री गगन थापाको पारित प्रस्तावमा उल्लेख छ ।

यसरी गठबन्धन नगर्ने कांग्रेसले निर्णय लिएको दोस्रो दिनमै एमाले अध्यक्षसमेत रहेका प्रधानमन्त्री केपी शर्मा ओलीले पनि गठबन्धन नगर्ने घोषणा नै गरे । ‘अब हुने चुनावमा गठबन्धन हुँदैन, एक्लाएक्लै चुनाव लड्ने हो । हामी त्यसको तयारीमा बस्नुपर्छ । मंसिरको उपचुनाव र ८४ को चुनावमा एक्लाएक्लै लड्छौँ,’ ओलीले मंगलबार पार्टीको पोलिटब्युरो बैठकमा भने । उनले एक्लै चुनाव लड्ने र सोहीअनुसार तयारी थाल्न नेता कार्यकर्तालाई निर्देशन दिए । तर, चुनावपछि सरकार गठनको सन्दर्भमा भने गठबन्धनलाई नकार्न नसकिने उनको भनाइ छ ।

यसअघि ४ मंसिर २०७९ मा भएको चुनावमा भने एमाले गठबन्धनसहित चुनाव लडेको थियो । त्यसबेला राप्रपालाई एमालेले गठबन्धनमा समावेश गरेको थियो । अन्य केही साना राजनीतिक घटकसँग पनि एमालेको गठबन्धन थियो । तर, एमाले संसदको दोस्रो दल मात्रै बन्यो । सोही दलका अध्यक्ष तथा प्रधानमन्त्री ओलीले आगामी तीन वर्षपछि हुने चुनावमा भने गठबन्धन नगर्ने भनेका हुन् । चुनावी गठबन्धन नगर्ने निर्णय गरिसकेको कांग्रेस पनि गठबन्धनसहित चुनावमा गएको शक्ति हो । नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादीलगायत दलहरू कांग्रेस नेतृत्वको चुनावी गठबन्धनमा समाहित थिए । यसले गर्दा पनि ८९ सिटसहित कांग्रेस पहिलो दल बन्यो । तर, यतिबेला कांग्रेस र एमाले दुवै दलले गठबन्धन नगर्ने जनाए । यी दुवै दल सरकारमा छन् ।

जबकि, यतिबेला चुनावी घोषणापत्रअनुसार देश विकास र समृद्धिको यात्रामा अघि बढ्नुपर्ने मूलभूत दायित्व सरकारको छ । तर, तीन वर्षपछि हुने चुनावमा गठबन्धन गर्ने कि नगर्ने बहसमा सत्तारुढ दुई दल अल्झिए ।उसो त कांग्रेस र एमाले जसरी प्रमुख विपक्षी दल नेकपा माओवादी केन्द्र पनि चुनावी गठबन्धन नगर्ने कित्तामा उभिएको छ । उक्त दलका अध्यक्ष पुष्पकमल दाहालले चुनावी गठबन्धन नगर्ने र एक्लै चुनाव लड्ने बताइसकेका छन् । त्यहीअनुसार पार्टी संगठन मजबुत बनाउन उनले पार्टीका नेता कार्यकर्तालाई निर्देशन दिइसकेका छन् ।

उसो त नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले पनि गत पार्टी महाधिवेशनमै एक्लै चुनाव लड्नेगरिको शक्ति जनताबाट आर्जन गर्न जनताकहाँ जान पार्टीका नेता कार्यकर्तालाई निर्देशन दिएका थिए । मतदानको क्रममा मतदाता झुक्किने र दलभित्र आन्तरिक असन्तुष्टि चुलिने भएका कारण पनि चुनावी गठबन्धन उपयुक्त नहुने तर्क नेपालको थियो । अर्कातिर, अप्राकृतिक चुनावी गठबन्धन भएको र त्यसले जनतामा राम्रो सन्देश नगएको पनि दलहरूको विश्लेषण छ ।

राजनीतिशास्त्री प्रा. कृष्ण पोखरेल पनि चुनावी गठबन्धनलाई जनताले राम्रो नभनेकाले गठबन्धन नगर्नु जनमतको सम्बोधन हुने अर्थमा विश्लेषण गर्छन् । चुनावी गठबन्धन गर्दा मतदाता अल्मिलिएको उनले बताए ।‘एउटै मतपत्रमा मत हालिरहने बानी परेका मतदाता धेरै छन् । गठबन्धन भएपछि पहिले माओवादीलाई मत दिनेले कांग्रेसलाई दिनुपर्‍यो । कांग्रेसलाई पहिल्यैदेखि दिनेले माओवादीलाई दिनुपर्‍यो,’ उनले सानन्यूजसँग भने, ‘यसले मतदाताको मताधिकारको स्वतन्त्रतालाई दलहरूले कुण्ठित पारे ।’

चुनावी गठबन्धनको इतिहास त्यति पुरानो छैन । २०४८ सालको आम निर्वाचन साना वाम घटकहरू संयुक्त वाम मोर्चाको नाममा गोलबद्ध भएर चुनाव लडेका थिए । त्यसपछि भने एकैचोटी २०७४ मा चुनावी गठबन्धन भयो । पछिल्लोपटक २०७९ मा भएको हो । यतिबेला भने चुनावी गठबन्धनविरोधी कित्तामा गठबन्धन गर्ने दलहरू नै उभिएका छन् । यसलाई राजनीतिशास्त्री पोखरेल उपयुक्त ठान्छन् ।