खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले नेपालमा उत्पादित इनर्जी ड्रिंक्समा क्याफिनको मात्रा अन्तर्राष्ट्रिय मापदण्डअनुसार सुरक्षित सीमाभित्र रहेको जनाएको छ।विभागका अनुसार अनुमति प्राप्त १७ उद्योगका उत्पादनमा प्रतिक्यान एक सय मिलिग्रामभन्दा कम क्याफिन पाइएको छ।
स्वस्थ वयस्कका लागि दैनिक कुल चार सय मिलिग्रामसम्म क्याफिन सेवन सामान्यतया सुरक्षित मानिने अन्तर्राष्ट्रिय मापदण्डलाई आधार बनाउँदै विभागले यस्तो जानकारी दिएको हो। यद्यपि, विभागले बालबालिका, गर्भवती तथा सुत्केरी महिला, मधुमेहका बिरामी र क्याफिनप्रति संवेदनशील व्यक्तिलाई इनर्जी ड्रिंक्स सेवन नगर्न आग्रह गरेको छ। अन्य उपभोक्तालाई पनि दैनिक ३३० मिलिलिटरका दुई क्यानभन्दा बढी सेवन नगर्न सुझाव दिइएको छ। विभागले इनर्जी ड्रिंक्सलाई पानी, दूध वा जुसको विकल्प नबनाउन र अन्य पेय पदार्थमा मिसाएर नपिउन सचेत गराएको छ।
साथै, विज्ञापनमा सुरक्षित सेवनसम्बन्धी सन्देश अनिवार्य गर्न निर्देशन दिँदै खाद्य गुणस्तरसम्बन्धी कानुन उल्लङ्घन गर्नेलाई कारबाही गर्ने चेतावनी दिएको छ।



















