सहकारीका बचतकर्ता सडकमा, बचत कुम्ल्याउने नेताहरू

देशका विभिन्न सहकारीको बचत अपचलनपछि बचतकर्ताहरू झण्डै दुई वर्षदेखि आन्दोलनमा छन् । उनीहरू दु:ख गरी कमाएर बचाएको बचत फिर्ता हुने आशामा छन् । आन्दोलनकै क्रममा उनीहरू काठमाडौंको माइतीघरदेखि नयाँ बानेश्वरसम्मको प्रदर्शनमा कयौँपटक देखिए । एकपटक त उनीहरू संसद् भवनमै छिरे ।

कास्कीको पोखरा, रुपन्देहीको बुटवल, चितवनलगायत देशका ठूला सहरहरूमा सहकारीपीडितहरू अझैसम्म आन्दोलित छन् । खुल्दै जाँदा उनीहरूले सहकारीमा गरेको बचत राइँदाइँ गर्नेमध्ये धेरै प्रभावशाली नेताहरू देखिएका छन् । सुरुमा सहकारीको बचत अपचलनमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने र उनका पूर्वव्यावसायिक साझेदार जीबी राई मुछिएका थिए । राई अझै फरार छन् । प्रहरी उच्च स्रोतले दिएको जानकारीअनुसार उनी मलेसियामा छन् । हालै मलेसिया पुगेर प्रहरीको एक टोली नेपाल फर्किएको छ । टोलीले गृहमन्त्री रमेश लेखकलाई भनेका छन्, ‘पूर्वगृहमन्त्री रवि लामिछानेले जीबीलाई नेपाल पठाउन भन्दै त्यहाँको गृहमन्त्रीसँग कुरा गरेका रहेछन्, अब त्यहाँको गृहमन्त्रीसँग सम्वाद गरेर मात्रै ल्याउन सकिन्छ, प्रहरी–प्रहरीबाट असम्भव छ ।’

यता लामिछानेले पनि सहकारी छानिबन गर्न गठित संसदीय समितिसँग ९ घण्टा लामो बयान दिइसकेका छन् । यहीबीचमा सहकारी बचत अपचलनमा कांग्रेस, एमाले र माओवादीका नेताहरू मुछिएको विवरणहरू धमाधम आइरहेका छन् । सर्वसाधारणले सहकारीमा बचत गरेको रकम अपचलन प्रकरणमा नेताका परिवारका सदस्यहरू पनि जोडिएका छन् । यी घटनाक्रमलाई आधार मान्दा ६८ वर्षअघि चितवनको शारदानगरमा बखान बहुउद्देश्यीय सहकारी संस्था स्थापनापछि खुल्न थालेका सहकारीहरू पछिल्ला दशकमा नेता र तिनका परिवारको कब्जामा पुगेको देखिन्छ । उनीहरूबाटै सहकारीको बचत अपचलन भइरहेको देखिएको छ ।

शनिबार संसदको सार्वजनिक लेखा समितिका सभापति रहेका एमाले सांसद ऋषिकेश पोखरेलकी श्रीमती अञ्जला कोइराला सहकारीको बचत अपचलन प्रकरणमा जोडिएकी छिन् । कोइराला यसअघि मोरङको धनपालथान गाउँपालिका–४ कर्सियाको उमागौरी कृषि सहकारी संस्थामा आबद्ध थिइन् । सहकारीको अध्यक्ष शम्भूप्रसाद रौनियार हुन् । रौनियार सहकारी बन्द गरेर फरार छन् । सहकारीमा १२ करोड बढी अपचलन भएको प्रारम्भिक विवरण सार्वजनिक भएको छ । सहकारीका पूर्वसञ्चालक समिति सदस्य कोइरालासँगै अध्यक्ष रौनियार तथा सहकारीका अन्य सञ्चालक र कर्मचारीहरूको खाता बैंकले कालोसूचीमा राखेको छ ।

कोशी प्रदेश सहकारी रजिस्ट्रार तथा प्रशिक्षण कार्यालय प्रमुख हरिबहादुर खत्रीले सभापति पोखरेलकी श्रीमती अञ्जला एक बेला सहकारी सञ्चालक समिति सदस्य हुनु र अर्कातिर बैंकले पनि उनको खाता कालोसूचीमा राखिनुले उनी सहकारी ठगी प्रकरणमा जोडिएको हुन सक्ने बताए । ‘हामीले सहकारीको कागजात सबै मागेका छौँ । अस्ति मोबाइलबाट फोटो खिचेर केही विवरण अध्यक्षले पठाएका थिए तर उनी हाल फरार छन्,’ उनले सानन्यूजसँग भने, ‘र, बैंकले कालोसूचीमा राख्ने क्रममा पूर्वसञ्चालक अञ्जला कोइरालको नाम पनि छ र उहाँ पनि अपचलनमा संलग्न हो कि ।’

कोइराला यसअघि सदस्य रहेको उक्त सहकारीले लघुुबित्त र केही बैंकबाट सस्तोमा ऋण लिने गरेका थिए । त्यसरी ऋण लिएर संस्थाका सदस्यहरूलाई लगानी गर्थो । उनीहरूबाट संस्थाले साँवाब्याज लिन्थे । तर, बैंक र लघुबित्तमा भने नबुझाउने गरेको पाइएको पनि प्रमुख खत्री बताउँछन् । तर, अञ्जलाले भने आफूले ६–७ वर्ष पहिले सहकारी छाडेको र संस्थाको समग्र पक्षबारे अध्यक्ष रौनियारसँग बुुझ्नुु भन्दै आएकी छिन् । उनले सहकारी ठगीमा आफ्नो संलग्नता अस्वीकार गर्दै आएकी छिन् ।

‘अध्यक्षलाई बुझ्नुुस् यसबारे । म संस्थामा छैन । ६/७ वर्ष नै भइसक्यो । अनि म कसरी अपचलनमा जोडिन्छु,’ उनले भनिन् । सत्तारुढ दल नेपाली कांग्रेसका उपसभापति तथा पूर्वकानुनमन्त्री गुरुङ सहकारी प्रकरणमा जोडिएको खबर सेलाउन नपाउँदै सार्वजनिक लेखा समिति सभापति पोखरेलकी श्रीमती अञ्चलाको बाहिर आएको हो । गुरुङ भने ललितपुरको मितेरी बचत तथा ऋण सहकारीको अपचलन प्रकरणमा जोडिएका हुन् । भन्न त उनले आफूमाथि संसदीय समिति गठन गरेर छानबिनका लागि चुनौती दिएका छन् । तर, सार्वजनिक भएका तथ्यहरूलाई आधार मान्दा उनी कतै न कतैबाट मितेरी सहकारीको अपचलनमा संलग्न भएको देखिएका छन् ।

तर, उनले पूर्वश्रीमती ज्योति गुरुङ मात्रै मितेरी सहकारीको बचत अपचलनमा जोडिएको र आफूलाई अनाश्यक मुछिएको दाबी गर्दै आएका छन् । जबकि, उनले आफैं गत जेठमा ज्योतिको नाममा भएको केही ऋण सहकारी पुगेर तिरेको अध्यक्ष कुम्भराज गुरुङले शुक्रबार नै छानबिन समितिलाई जानकारी दिएका छन् । त्यसलाई पुष्टि गर्ने खालका तथ्य पनि दिएका छन् । यहीबीच नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले अनुसन्धान थालेको प्रवक्ता होविन्द्र बोगटीले बताएका छन् ।

‘सहकारीका कर्मचारी र सञ्चालकविरुद्ध उजुरी लिएर अनुसन्धान गरिरहेका छौँ । यसक्रममा पैसा कहाँ अपचलन भयो ? अपचलनमा को संलग्न भए ? यसबारे अनुसन्धान गरिरहेका छौँ’, बोगटीले भने । शुक्रबार मात्रै सूर्यबहादुर थापा संयोजक रहेको सहकारी छानबिन समितिको टोली मितेरीको कार्यालय अनुगमन गर्न पुुगेको थियो । त्यस क्रममा सङ्कलन गरेको केही तथ्यको विश्लेषणपछि धनराज र ज्योतिको सम्बन्ध बिच्छेदलाई ‘सहकारी डिभोर्स’ भनेका थिए ।

संसद बैठकमा यसअघि सम्बोधन गर्ने क्रममा धनराजले मितेरी सहकारीमा भएको अपचलनबारे आफूूलाई केही थाहा नभएको जिकिर गरेका थिए । उनले त्यस क्रममा ठगी प्रकरणमा आफ्नो संलग्नता अस्वीकार गरे । यद्यपि, पूर्वश्रीमती ज्योतिको नाममा रहेको कर्जा ललितपुुरस्थित उनको घर बेचेर ऋण तिर्नुेजस्ता गतिविधिले भने ज्योतिसँग उनी सम्बन्धमै रहेको अड्कल धेरैको छ । कागजमा भने धनराज र ज्योतिबीच २०७६ मै सम्बन्ध विच्छेद भएको देखिएको छ । तर, उनले भन्दै आएको ज्योतिसँगको सम्बन्ध विच्छेदलाई जनताले पत्याएका छैनन् ।

गत साउनमा ज्योति संस्थाको महाप्रबन्धक रहेका बेला १२ करोड ५० लाख रुपैयाँ ठगी गरेको भन्दै सहकारीले सहकारी रजिस्ट्रारको कार्यालयमा उजुरी परेको थियो । उजुरीपछि छानबिन समितिमा गएर मितेरीका अध्यक्ष कुम्भराजले बयान दिएपछि सहकारीको बचत अपचलन प्रकरणमा धनराज जोडिएका हुन् ।
यसअघि कांग्रेस प्रतिपक्षमा रहँदा भने सहकारी प्रकरण गर्न छानबिन समिति गठनका लागि गुुरुङले पनि सरकारलाई दबाब दिएका थिए । त्यसबेला एमाले अध्यक्ष केपी शर्मा ओलीसँग उनले गरेको विवाद भाइरल भयो । हाल भने गुुरुङको नाम पनि सहकारी ठगी प्रकरणमा आएको हो ।
सहकरीको बचत अपचलन प्रकरणमा जोडिएकोमा राप्रपा सांसद गीता बस्नेत पनि हुन् । उनी हालसम्म फरार छिन् ।

पूर्वी नवलपरासीस्थित छिपछिपे सहकारी संस्था लिमिटेडमा बचतकर्ताको रकम हिनामिना गरेको आरोपमा सांसद बस्नेतविरुद्ध पक्राउ पुुर्जी यसअघि नै जारी भएको छ । प्रहरी प्रतिवेदनका आधारमा जिल्ला सरकारी वकिल कार्यालयले जिल्ला अदालतमा गत २० जेठमै बस्नेतसहित २५ जनाविरुद्ध अभियोगपत्र दायर गरेको थियो । अभियोग पत्रमा सहकारीको बचत ९६ करोड रिसोर्टमा लगानी गरेको उल्लेख छ । यसअघि राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने, उपसभापति डोलप्रसाद अर्याल, कार्यवाहक महामन्त्री कविन्द्र बुर्लाकोटी, सहमहामन्त्री विपीन आचार्य पनि सहकारी प्रकरणमा मुछिएका छन् ।
पूर्वउपराष्ट्रपति नन्दबहादुर पुनका छोरा तथा माओवादी विद्यार्थी नेता दिपेश पुन बुटवलको सुप्रिम सहकारी ठगी प्रकरणमा यसअघि नै जोडिएका थिए । उनी रिहा भइसकेका छन् । तर, मुद्दाको टुंगो लाग्न भने बाँकी छ ।

लामिछाने गृहमन्त्री भएकै बेला कांग्रेसको दबाबमा सहकारी छानबिन समिति गठन भयो । उक्त समितिले सहकारीको बचत अपचलन प्रकरणमा जोडिएका लामिछानेसहितका आरोपीहरूसँग बयान लिइसकेको छ । तर, मुख्य आरोपी गितेन्द्रबाबुु (जीबी) राई भने अझै फरार छन् । जसकारण समितिले उनीसँग सोधपुुछ लिने पाएको छैन । समितिको दोस्रोपटक थपिएको म्याद भने सकिन लागेको छ । पूर्वसहकारीमन्त्री रहेका राष्ट्रिय जनमोर्चाका अध्यक्ष तथा सांसद चित्रबहादुर केसी सर्वसाधारणको बचतमा नेताहरूको राइँदाइँ भएको भन्दै चिन्ता प्रकट गरे । सहकारीकै पैसाले चुनाव लडेर कांग्रेस, एमाले, माओवादी, राप्रपालगायत दलबाट संसदमा आएको आरोप लगाए ।

‘चुनाव कति महंगो छ भन्ने थाहै छ । चुनाव लड्नै नसकिने भयो तर कांग्रेस, एमालेलगायत दलका उम्मेदवारहरू सहजै चुनाव लडेर संसद आइपुग्छन् । अहिले खुल्दै जाँदा थाहा भयो कि उनीहरूले सहकारीको बचत कब्जामा लिएका रहेछन्’, केसीले भने । सहकारी विभागका अनुसार देशभर ३३ हजार बढी सहकारी छन् । पछिल्ला समय सहकारीका सञ्चालक र व्यवस्थापकको मिलेमतोमा सहकारीहरूको बचत अपचलन हुँदै आएको छ । यसबारे छानबिन गर्न गठित संसदीय समितिले आरोपीहरूसँग सोधपुछ गरिरहेको छ । यसपछि भने प्रतिवेदन बुझाउन अभिभारा समितिलाई छ ।