१४ दिनपछि बीपी राजमार्ग एकतर्फी खुलेपछि जनताहरु हर्षित

काभ्रे । केन्द्रीय राजधानी काठमाडौंलाई पूर्वी नेपालसँग जोड्ने छोटो बीपी राजमार्ग १४ दिनपछि एकतर्फी खुलेको छ । यही असोज ११ र १२ गतेको बाढी पहिरोले पूर्णरूपमा अवरुद्ध भएको बीपी राजमार्ग नेपाली सेना सहितका सुरक्षाकर्मी, सडक विभाग र स्थानीय पालिकाले अहोरात्र खटिएर आजबाट एकतर्फी खुलाउन सफल भएपछि स्थानीय जनताहरु हर्षित भएका छन्।

बीपी राजमार्ग अन्तर्गत काभ्रेको रोशी–९ मंगलटारको बोक्सीकुनामा डाइभर्सन बनाएसँगै बीपी राजमार्ग एकतर्फी सञ्चालनमा आएको हो । रोशी ९ मंगलटारका स्थानीय रूपक अधिकारीका अनुसार बोक्सीकुनाको डाइभर्सन बनेपछि बीपी राजमार्गमा सवारीसाधन चल्न थालेका छन् ।

यही असोजको दोस्रो हप्ताको बाढीपहिरोले राजमार्गको चौकीडाँडादेखि नेपालथोकसम्म क्षति पुर्‍याएपछि बीपी राजमार्ग पूर्णरूपमा अवरुद्ध थियो । राजमार्ग खुलाउन चौकीडाँडा र नेपालथोक दुवैतिरबाट निर्माण सुरू गरिएको थियो । त्यसका लागि नेपाली सेना सहितका सुरक्षाकर्मी, भौतिक पूर्वाधार मन्त्रालय र सडक विभागका प्राविधिक कर्मचारी तथा स्थानीय पालिकाहरुले अग्रसरता लिएका थिए ।

रोशी गाउँपालिकाका अध्यक्ष दिनेश लामाका अनुसार शुक्रबार बिहान ८ बजेबाट राजमार्ग खुलाइएको छ । कतै एकतर्फी र कतै दुईतर्फी नै राजमार्ग खुलेको छ।धेरैजसो ठाउँमा खोला फर्काएर बगरमा सडक बनाइएको छ भने केही ठाउँमा पुरानै सडक प्रयोग गरिएको छ । दशैंको टीकाको अघिल्लो दिन सडक खुलेपछि आउजाउ गर्नेहरुलाई सुविधा हुने विश्वास भएपछि स्थानीय जनताहरु हर्षिक भएका हुन् ।

राजमार्गको सडक, पुल र कल्भर्टहरु बगेको ठाउँमा अस्थायी संरचना निर्माण गरिएको डिभिजन सडक कार्यालय भक्तपुरका सिनियर डिभिजनल इन्जिनियर सुमन योगेशले जानकारी दिए । उनका अनुसार रोशी खोलाको बाढीले चौकीडाँडादेखि काभ्रेको सिमानासम्मको २१ किलोमिटर सडक खण्डको १४ वटा स्थानमा ८ किलोमिटर सडक पूर्णरूपमा क्षति गराएको थियो ।

इन्जिनियर योगेशका अनुसार बीपी राजमार्ग अन्तर्गतको दाप्चा खोलामा एक सय मिटर, चौकीडाँडामा दुई सय मिटर, कटुञ्जे घुमाउनेमा पाँच सय मिटर, लास्कोट बेसीमा दुई सय मिटर, चार सय बेसीमा पाँच सय मिटर, गिम्दीबेसीमा तीन सय मिटर, खार्पाचोक बेसीमा तीन सय मिटर, नार्केमा आठ सय मिटर सडक ध्वस्त भएको थियो ।

यसैगरी पिन्थलीबेसीमा चार सय मिटर, दाउन्नेमा तीन सय मिटर, मङ्गलटार बोक्सीकुनामा छ सय मिटर, चिउरीबासमा दुईसय मिटर, भ्याकुरेखोला कालढुङ्गामा एक किलोमिटर, डालाबेसीमा आठ सय मिटर, पिप्लको दुई स्थानमा गरी सात सय मिटर, बर्खेखोला तीन सय मिटर, चालिसेमा चार सय मिटर र माम्तीमा आठ सय मिटर सडक पूर्ण रूपमा क्षति भएको थियो । यी ठाउँहरुमा डाइभर्सन गरिएको छ ।

जापान अन्तर्राष्ट्रिय सहयोग नियोग (जाइका) ले बीपी राजमार्ग निर्माण गरी २०७२ असार १८ गते औपचारिक रूपमा नेपाल सरकारलाई हस्तान्तरण गरेको थियो। रोशी गाउँपालिकाका अध्यक्ष दिनेश लामाका अनुसार कतै एकतर्फी र कतै दुईतर्फी नै बीपी राजमार्ग खुलेको छ। राजमार्गमा सवारी साधनहरु चल्न थालिसकेपछि स्थानीय जनताहरुमा खुशी छाएको छ ।