२०८१ बैशाखमा पार्टी विभाजित भएपछि जनता समाजवादी पार्टी नेपाल कसरी अगाडि बढी रहेको छ ?
मेरो मान्यता पार्टीहरु फुट्नु हुन्न भन्ने हो, तर नेपालमा पार्टी टुटफुट हुनु सामान्य जस्तो भएको छ । हाम्रो पार्टी जनता समाजवादी पार्टी नेपाल संघीय समाजवादी पार्टी, मधेशी जनअधिकार फोरम, समाजवादी पार्टी हुँदै पछि जनता समाजबादी जस्ता विभिन्न पार्टीहरु मिलेर बनेको पार्टी हो । २०७२ सालको संविधान जारी गर्दा पनि हाम्रो पार्टीले संविधानमा सबै वर्ग, क्षेत्र, आदिबासी जनजाति, दलित, महिला मुस्लिम, अल्पसंख्यकका अधिकार राख्नु पर्दछ भन्दै ती अधिकार संविधानमा समावेश गर्न महत्वपूणर् भूमिका खेलेको पार्टी हो । संविधान जारी भए पछि पनि संविधानले नेपालको हिमाल, पहाड र तराईको भावनाको प्रतिनिधित्व गर्न सकेन, यसले आदिबासी जनजाति, दलित, महिला मुस्लिम सबैको भावना समेटिनु पर्ने समेटेन भनेर आन्दोलन गरेको पार्टी हो । त्यसैगरी हामीले संघीयता बनाउँदा पनि पहिचान सहितको संघीयता भन्दै आएका थियौं । पहिचानको मुद्धा पनि हामीले उठाएका हौ । त्यसैले हाम्रो पार्टी फुट्नु हुने थिएन तर सरकार लागेरै फुटायो ।
-मेलै सोध्न चाहेको तपाईहरुको पार्टी ऐजेण्डा नमिलेर फुट्यो कि पद नमिलेर भन्ने हो ?
हाम्रो पार्टी त्यसबेला ऐजेण्डा नमिलेर वा पद नमिलेर भन्दा पनि सरकारले फुटाएको हो । किनकि तत्कालीन प्रधानमन्त्री पुष्पकमल दाहाल(प्रचण्ड)ले सिन्धुलीमा भाषण गर्दा हामीले चाह्यौं भने पार्टी फुटाउछौं दुई दिन अघि मात्रै जसपा नेपाललाई फुटाऔं भनेर भन्दै हास्नु भएको थियो । सरकार प्रमुखले खुलासभा त्यसरी अभिव्यक्ति दिनु भन्दा हास्यास्पद अरु के हुन सक्छ। हाम्रो पार्टीले मधेशलाई मधेश प्रदेश भनेर नामाकरण गर्न सफल भयो । अरु ६ वटा प्रदेशमा त त्यो सम्भव भएन । अहिले कोशी प्रदेशमा पनि हामीले आन्दोलन गरिरहेका छौं । यसरी पहिचानको मुद्धा उठाउने दललाई कमजोर बनाउन सरकारले पार्टी फुटायो । जसपा फुट्यो भने पहिचानवादी कमजोर हुन्छन् भनेर सरकारले पार्टी फुटाएको हो ।
-भनेपछि सरकारले नै पार्टी फुटायो ?
त्यो त खुल्ला रुपमै आइसक्यो किनकि सरकार प्रमुखले नै खुला रुपले हामीले फुटायौं भनेर त्यसबेला बोली सक्नु भएको छ ।
-पहिला त प्रचण्ड र उपेन्द्र यादवको निकै सहकार्य थियो तर किन प्रचण्डले उपेन्द्र यादवको पार्टी फुटाउनु भयो होला ?
जनयुद्ध अगाडि उपे्रन्द्र यादव जी र हामी एउटै पार्टीमा थियौ, माले एमालेमा संगै थियौ । पछि उपेन्द्र जि एमाले छाडेर माओवादीमा लाग्नु भयो । त्यसबेला उहाँ मधेशी जनअधिकार फोरमको अध्यक्ष हुनुहुन्थ्यो । उहाँले प्रचण्ड बाबुरामलाई धेरै नै सहयोग गर्नु भयो । पछि उहाँलाई बाइपास गर्न खोजेपछि उहाँले जनअधिकार फोरमलाई लिएर बाहिरीनु भयो र त्यसैलाई पार्टी बनाउनु भयो । जहाँसम्म प्रचण्डलाई सहयोगको कुरा छ ऐजेण्डा मिलेपछि सहयोग गर्नु भएको हो । ऐजेण्डा मिलेकोले उपेन्द्र यादवले सहयोग गर्नु भयो । अहिले एमालेको सरकारलाई पनि समर्थन नै गरेका छौं । पचण्डलाई गरेको सहयोग सत्ताको लागि भन्दा पनि ऐजेण्डाकोलागि थियो ।
-हाम्रा देशका पार्टीहरु विदेशी ईशारामा जुट्ने फुट्ने गर्दछन् भन्ने आरोप छ तपाईहरुको पार्टीमा यो कुरा लागू भयो भएन होला ?
यो सतहमै देखिएको कुरो हो । पहिला राजा महाराजाको समयमा पनि भित्रभित्रै विदेशी शक्तिको चलखेल हुने गर्दथ्यो अहिले सतहमै देखिने गरि भएको छ । हाम्रा नेताहरु सत्ताकै लागि जे पनि गर्ने गर्दछन् । जसले गर्दा विदेशी चलखेल पार्टी भित्र पनि हुने गर्दछ । हाम्रो हकमा पनि त्यो भयो होला । किनकि विगतमा १२ बुँदे सहमति पनि भारतमा नै भएको हो । यहाँ नेता बनाउने र गिराउने जनताको हातमा भन्दा पनि अरुकै हातमा छ । यसबाट हामी मुक्त नहुन सक्छौ ।
–यहाँले पार्टी फुटाउन देशी-वदेशी शक्ति लागे भने पनि बाहिर त उपेन्द्र यादव आफ्ना समकक्षीसँग डराउनु हुन्छ त्यसैले उहाँलेनै सबैलाई पार्टी बाट धकेलेर पार्टी फुटाउनु हुन्छ भन्ने आरोप छ नी ?
नेपालमा कुनै पनि नेता पदमा पुगेपछि त्यो पद छाड्न नचाहने प्रवृत्ति आम रुपमा देखिन्छ । प्रचण्ड कहिलेदेखि अध्यक्ष हुनुहुन्छ भनि रहनु परेन । एमालेमै माधव नेपाल सत्तामा नहुँदा पार्टी फुटाउनु भयो । केपी ओली अस्वस्थ हुँदा पनि पद छाड्न चाहनु भएको छैन । काँग्रेस भित्र पनि अवस्था त्यस्तै छ । त्यसैले यहाँका नेताहरु एकपटक पदमा गएपछि पद छाड्न छाहदैनन् । त्यसको अपवाद हामी छौं भनेर दावी गर्न सकिदैन ,यदि एक जना व्यक्ति दुई कार्यकाल वा यति वर्ष सम्म अध्यक्ष बन्ने भनेर विधानमा नभनेसम्म कसैले पद छाड्ने कुरा छैन । हाम्रो पार्टी फुटाउने अशोक राईकै कुरा गर्दा पनि उहाँ पार्टीको संघीय परिषद् अध्यक्ष हुनुहुन्थ्यो । उहाँले परिवारकै सदस्य शुुशिला श्रेष्ठलाई सांसद बनाउनु भयो । र एकपटक मन्त्री बनाई दिनु भन्नु भएको थियो, हामीले मानेनौं । त्यसैले पछि उहाँ संघीय परिषद् अध्यक्ष हुँदाहुँदै र अरु साथीहरु मन्त्री पदमा रहेकै बेला पार्टी फुटाउनु भयो । यो सबै उपेन्द्रजी विदेशमै हुँदा भयो । त्यसैले पदमा रहन चाहने आम प्रबृती भए पनि यहाँले प्रश्न गर्नु भए जस्तै उपेन्द्र यादव आफ्ना समकक्षीसँग डराउनु हुन्छ त्यसैले उहाँलेनै सबैलाई पार्टी बाट धकेलेर पार्टी फुटाउनु हुन्छ भन्ने आरोपमा मैले सत्य देख्दीन सरकारले नै पार्टी फुटाएको छ ।
–पार्टी फुटेपनि यहाँहरुको पार्टी भित्रको समस्या त समाधान भएन जेठमा महाधिवेशन गर्दा पनि अध्यक्ष बाहेक अरु पदाधिकारी चयन गर्न सक्नु भएन, सबैलाई चित्त बुझाउन २ सय ४१ सदस्यीय केन्द्रीय समीति बनाउनु भयो पछि पनि पदाधिकारीमा बहुपद छ किन ?
२ सय ४१ सदस्यीय केन्द्रीय समीति बनाउने कुरा प्राविधिक विषय हो, हाम्रो पार्टी एउटा राष्ट्रिय पार्टी हो । जहाँसम्म पदको कुरा छ त्यो जिम्मेवारी लिने कुरा हो । आवश्यकता अनुसार जिम्मेवारी लिने अवस्था हुन्छ । मुख्य कुरा कत्ति सदस्य केन्द्रिय समिति वा पदाधिकारी भन्ने होइन मुख्य कुरा ऐजेण्डा हो । हामी ऐजेण्डामा प्रष्ट छौं । ऐजेण्डा र आचरण ठिक हुँदासम्म कसैको फुटाउ र राज गर भन्ने नीति सफल हुँदैन । पार्टी सहि रुपले अगाडी बढ्छ।
–तपाईले ऐजेण्डा र आचरणमा ठिक छौं भने पनि उपेन्द्र यादवले मधेशको मुद्धा केवल सत्ता चड्ने भर्याङको रुपमा मात्र प्रयोग गर्दछन् भन्ने आरोप छ नी ?
त्यस्तो होइन, उपेन्द्र यादवले मधेशी जनअधिकार फोरमदेखि जे मुद्दाहरु उठाउनु भएको छ । त्यसमा अहिले पनि अडिक हुनुहुन्छ । उहाँले मधेशको मात्र होइन संघीयताको मुद्धा पनि सुरुमा उठाउनु भएको हो । आवश्यकता अनुसार सरकारमा जाने नजाने तत्कालीन कार्यनीति प्रश्न हो । सत्ताको लागि मात्रै काम गरयो भने आरोप त अहिलेकै सरकारलाई हामी सरकार बाहिरै बसेर समर्थन गरेबाट पनि खण्डन हुन्छ । सत्तामै मुख्य ठानेको भए अहिले पनि एक जना मन्त्री पठाउनुस् भन्नु भएको थियो, पठाउँथ्यौ होला तर हामीले पठाएनौं । यसबाटै पनि प्रष्ट हुन्छ हामीले ऐजेण्डाको राजनीतिक गर्दछौं पदको लागि होइन ।
-यहाँले समावेशीता र संघीयता जस्ता ऐजेण्डा उठाएको बताए पनि उपेन्द्र यादवले पहाडबाट गएका बाबुराम भट्टराई, जनजाति अशोक राई, मधेशकै नेताहरु महन्त ठाकुर, राजेन्द्र महत्तोलाई नराखेर केवल यादव र मुस्लीमको पार्टी बनाउन खोज्न थाल्नु भयो भन्ने आरोप पनि छ नि ?
त्यस्तो होइन पहाडबाट त्यो पार्टीमा म आफै छु, म पनि पहाडकै मान्छे हुँ, जनजाति भनेको अशोक राई मात्र होइन, यसो भनेर उपेन्द्र यादव भित्र कमजोरी नै छैन भन्ने होइन । जहाँ राम्रो हुन्छ त्यहाँ केही नराम्रो पनि हुन सक्छ । बाबुराम भट्टराई असल मान्छे हो । पार्टी फुट्दा पनि उपेन्द्र जिसँग हात मिलाएरै छुटिनु भएको हो । अशोक राईजी र महन्तजीहरुलाई पदका कारणले छाड्नु भएको हो । अशोक राई त पदमा हुँदाहुँदै पार्टी फुटाउनु भयो त्यहाँ जाने दुई जाना त मन्त्री पदमा थिए । अब त्यहाँ अशोक राईका मान्छे पनि तीनबटा पार्टीमा जान्छन । अशोक राई एमालेमा जानु हुन्छ । राजेन्द्र श्रेष्ठ माओवादीमा जान्छ र मधेशका नेताहरु पनि जहाँ फाइदा हुन्छ त्यही जान्छ।
-तपाईहरुले पार्टीको नेतृत्वमा सरकार बनेको मधेश प्रदेशमा सबै भन्दा बढी भ्रष्टचार हुने गरेको छ नि ?
ठिकै प्रश्न सोध्नु भयो । त्यहाँ हामी सरकारमा भएपनि त्यहाँका कर्मचारी केन्द्र सरकारले पठाएको हो । सिडियो, मालपोतका हाकिम, एसएसपी सबै संघबाटै पठाएका कर्मचारी हुन् । मधेशी र जनजाति त त्यहाँको कर्मचारी प्रशासनमा छैनन् । त्यसैले भ्रष्टचार माथि बाटै फठाएका व्यक्तिले गरेका हुन्। हामीले त भ्रष्टचार गरेको थाहा पाउन साथ कारवाही गर्दछौं । हरीनारायण रजौरिया पप्पु कस्ष्ट्रक्सनको मालिक हाम्रै पार्टीको सांसद हुनुहुथ्यो । यहाँले पूल बनाउँदा भ्रष्टचार गरेको थाहा पाएपछि हामीले साधारण सदस्यबाट समेत नरहने गरी हटाएयौं । तर केपी ओलीले आफ्नो पार्टीमा भित्र्याउनुभयो । यसबाटै प्रष्ट हुन्छ हामीले भ्रष्टचारीलाई पार्टीमा राख्दैनांै भन्ने । हामी त राज्यमा योगदान दिन चाहन्छौ मेरो आफ्नै कुरा गर्नुहुन्छ भने मेरो परिवार सधैं राज्यलाई योगदान गर्ने परिवार हो । मेरो बुवाले राज्यलाई गरेको योगदान स्वरुप बाग्मती प्रदेश सरकारले मोहन बज्रचार्य स्वास्थ्य केन्द्र खोलि दिएको छ । आमालाई युद्धभूमिमा ठूलो भूमिका निभाउने महिलायोद्धा भनेर सम्मान गरेको छ ।
– यहाँले योगदान गरेको बताए पनि तपाईलाई पनि पदकोलागि पार्टी बद्लिरहनु हुन्छ भन्ने छ नी ?
त्यो सत्य होईन । म २०३५ सालदेखि नेकपा मालेसम्बद्ध अनेरास्यूवियू मार्फत राजनीतिमा लागेको हुँ । त्यसबेला मकवानपुरमा हामी दुई चार जना मात्र थियौं पछि माले माक्सवादीसँग मिलेर एमाले बन्यो । त्यसलाई पार्टी बद्लेको भन्न मिल्दैन । पछि मैले मदन भण्डारीसँग सैद्धान्तीक असहमति राख्दा स्पस्टीकरण सोधियो । मलाई चित्त बुझेन पार्टी छाडेर नेकपा माले जसको नेतृत्व सिपी मैनालीले गर्नु भएको थियो त्यसमा काम गरे । पछि सिपी मैनाली परिवारवादमा फसेपछि अशोक राईले संघीय समाजवादी पार्टी बनाउँदा मैले पनि माले छाडेर संघीय समाजवादी पार्टीमा गए । संघीय समाजवादी पार्टीपछि समाजवादी पार्टी, जनता समाजवादी पार्टी, जनता समाजवादी पार्टी नेपाल बन्यो म अहिले पनि त्यसमै छु । त्यसैले पटक-पटक पार्टी बद्लीस् भन्न मिलेन । हाम्रो विभिन्न पार्टीसँग एकता गर्दा पार्टीको नाम नयाँ-नयाँ भएको मात्र हो ।


















