नक्कली यौनजन्य औषधि उत्पादन तथा विक्री वितरण गर्ने कार्यमा संलग्न ३ जनालाई प्रहरीले पक्राउ

नक्कली यौनजन्य औषधि उत्पादन तथा विक्री वितरण गर्ने कार्यमा संलग्न रहेको अभियोगमा ३ जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा रामेछाप दोरम्बा गाउँपालिका–२ घर भई काठमाडौं कागेश्वरी मनोहरा नगरपालिका–२६ बस्ने ३४ वर्षीय सुजन गौतम, काभ्रेपलाञ्चोक नमोबुद्ध नगरपालिका-२ घर भई भक्तपुर सूर्यविनायक नगरपालिका-४ बस्ने २७ वर्षीय सुजन खड्का र ओखलढुंगा सिद्धिचरण नगरपालिका-४ घर भई काठमाडौं बुढानिलकण्ठ नगरपालिका–११ बस्ने ४२ वर्षीय डिल्ली प्रसाद घिमिरे रहेका छन् ।

यार्सागुम्बाको नाममा सताबरी, अश्वगन्धा, सिलाजित जस्ता विभिन्न जडिबुटीहरूको मिश्रणबाट तयार पारिएको यौन क्षमता बढाउने, शक्ति बढाउने हिमाली जडिबुटी भनेर विभिन्न नामका बट्टाहरू र क्याप्सुलहरू देखाई फेसबुक, टिकटक जस्ता सामाजिक संजालको माध्यमबाट आकर्षक र अश्लिल विज्ञापन गरी कुनै साईड ईफेक्ट नभएको, डाक्टरको सिफारिस नचाहिने भनी उल्लेख गरी सर्व-साधारणमा भ्रम सिर्जना गरी विक्री वितरण भइरहेको भन्ने सूचना प्राप्त हुनासाथ केन्द्रीय अनुसन्धान ब्यूरोबाट खटिएको प्रहरीले भक्तपुर गट्ठाघरस्थित स्टोर संचालन गरिरहेको ठाउँबाट सुजन गौतम र सुजन खड्का तथा ललितपुर लुभुस्थित वायो फुड्स नेपाल प्रालि नामक फुड्स सप्लीमेन्ट फ्याक्ट्रीका संचालक डिल्ली प्रसादलाई पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

यसैगरी वैदेशिक रोजगारमा पोल्याण्ड पठाइदिन्छु भनी रकम ठगी गरेको अभियोगमा कपिलवस्तु बाणगंगा नगरपालिका–८ घर भई काठमाडौं महानगरपालिका–३१ नयाँबानेश्वर बस्ने ४२ वर्षीया कल्पना कुँवरलाई बुधबार प्रहरीले पक्राउ गरेको छ ।

कल्पनाले पोल्याण्ड पठाइदिन्छु भन्दै १ जना पीडितबाट ३ लाख ३० हजार रूपैयाँ लिई सम्पर्कबिहीन भएको भन्ने पीडितको उजुरीको आधारमा काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुबाट खटिएको प्रहरीले उनलाई काठमाडौं टेकुबाट पक्राउ गरेको हो ।

उनलाई आवश्यक अनुसन्धान तथा कारवाहीको लागि वैदेशिक रोजगार विभाग ताहाचल काठमाडौं पठाइएको छ ।