प्रहरी महानिरीक्षक कुँवरबाट जिल्ला प्रहरी कार्यालय मनाङमा नवनिर्मित भवनहरू उद्‍घाटन

प्रहरी महानिरीक्षक बसन्त बहादुर कुँवरले जिल्ला प्रहरी कार्यालय मनाङ परिसरमा नवनिर्मित कार्यालय भवन, कार्यालय प्रमुखको निवास, ब्यारेक, हिरासत कक्ष तथा भान्साघर लगायतका भवनहरूको बुधबार आयोजित एक कार्यक्रमबीच उद्‍घाटन गरेको छ । साथै उनले उक्त नवनिर्मित भवनहरूको अवलोकन गर्नुका साथै कार्यालय परिसरमा वृक्षारोपण समेत गरे ।कार्यक्रममा प्रहरी महानिरीक्षक कुँवरले भवन निर्माण कार्यमा सहयोग पुर्‍याउने विभिन्न महानुभावहरुलाई प्रशंसा-पत्र समेत प्रदान गरे । 

उक्त अवसरमा प्रहरी महानिरीक्षक कुँवरले सबैको सद्भाव र सहयोगले निर्माण सम्पन्न भौतिक पूर्वाधारहरूको प्रयोग गरी नेपाल प्रहरीले जनतालाई अहोरात्र सुरक्षाको प्रत्याभुति दिलाउन कटिवद्ध रहेको बताए । ग्रामीण भेग र शहरी भेगमा विभेद नगरी सुरक्षा प्रदान गर्न आवश्यक पूर्वाधार विकासका लागि नेपाल प्रहरीले पहल गरिरहेको समेत उनले उल्लेख गरे ।

गण्डकी प्रदेश प्रहरी कार्यालय पोखराका प्रमुख प्रहरी नायव महानिरीक्षक दुर्गा सिंहले धन्यवाद मन्तव्य व्यक्त गरेको उक्त कार्यक्रममा मनाङ जिल्लाका प्रमुख जिल्ला अधिकारी मातृका आचार्य, चामे गाउँपालिकाका अध्यक्ष लोकेन्द्र बहादुर घले र जिल्ला समन्वय समितिका प्रमुख चिन घले ले आ(आफ्नो शुभकामना मन्तव्य व्यक्त गरेको थियो ।

जिल्ला प्रहरी कार्यालय मनाङका प्रहरी नायव उपरीक्षक नरेश कुमार सिंहले स्वागत मन्तव्य व्यक्त गरेको उक्त कार्यक्रममा प्रहरी नायव उपरीक्षक ई। ध्रुव अधिकारीले भवन निर्माण सम्बन्धी प्रतिवेदन प्रस्तुत गरेको थियो । नेपाल सरकारको नियमित बजेटबाट कुल १२ करोड १०  लाख ५४ हजार ३ सय ३१ रूपैयाँको लागतमा उक्त भवनहरू निर्माण
कार्य सम्पन्न भएको हो ।

उद्‍घाटन समारोहमा जिल्लास्थित सुरक्षा निकायका प्रमुखहरू, जिल्लास्थित विभिन्न सरकारी कार्यालयका प्रमुखहरू, विभिन्न राजनैतिक दलका प्रतिनिधिहरू, विभिन्न संघ संस्थाका प्रमुख एवम् प्रतिनिधिहरू, स्थानीय समाजसेवी, भद्रभलाद्‌मी, संचारकर्मी एवम्स्था नीयवासीहरूको उपस्थिति रहेको थियो ।