लेखराज भट्टको नगरका ४६ संगठित सदस्यले छाडे एमाले

नेकपा (एमाले) का सचिव लेखराज भट्टको गृहनगर कैलालीको गोदावरी नगरपालिकाको एकै वडाका ४६ जना संगठित सदस्यहरूले पार्टी परित्याग गरेका छन् । भट्टको गृहनगर गोदावरी नगरपालिका–२ का ४६ जना एमालेका संगठित सदस्यहरूले एकै दिन सामूहिक रूपमा पार्टी परित्यागको घोषणा गरेका हुन्।

उनीहरूले पुस ११ गते एमालेको नगर कमिटी अध्यक्षलाई हस्ताक्षर र संगठित सदस्यता नम्बरसहित उल्लेख गरेर सामूहिक राजीनामा पत्र बुझाएका हुन् । यसरी राजीनामा दिनेहरू सबै ४६ जना सचिव भट्टसँगै नेकपा माओवादी केन्द्र परित्याग गरेर एमालेमा प्रवेश गरेकाहरू हुन् । माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’को सचिवालयले उक्त राजीनामा पत्र सोमबार मात्रै सार्वजनिक गरेको छ ।

एमाले परित्याग गर्नेहरूले एमाले भएर बस्दा पनि आफूहरूले पटक–पटक अपमानित हुनुपर्ने, राजनीतिक रूपमा पूर्वमाओवादी भनेर अपहेलित हुनुपर्ने, मूल नेतृत्व कै विरुद्ध तलैसम्म गुटबन्दी गर्ने परम्परा भित्र बस्न नसकिएको निष्कर्षमा पुगेको राजीनामा पत्रमा उल्लेख गरेका छन् ।

‘अहिलेको एमालेको नीति विभिन्न पार्टीका कार्यकर्तालाई जति सक्यो बढी भित्र्याउने भए पनि त्यसका विरुद्ध मुख्य नेतृत्व खास गरी महासचिव शंकर पोखरेल र अन्य केही नेताहरूले जनयुद्धका बारेमा लगातार प्रहार गरेपछि अब यहाँभित्र हामीले बसिरहनु आवश्यक ठानेका छैनौँ,’ एमाले परित्याग गरेका पूर्व माओवादीहरूको राजीनामा पत्रमा भनिएको छ ।