काठमाडौं । प्रहरी महानिरीक्षक (आईजीपी) दानबहादुर कार्कीमाथि राजीनामाको दबाब बढेको भन्ने आशयका समाचार तथा टिप्पणीप्रति नेपाल प्रहरीले गम्भीर ध्यानाकर्षण भएको जनाएको छ ।
नेपाल प्रहरी प्रधान कार्यालय, प्रहरी महानिरीक्षकको सचिवालयले एक प्रेस विज्ञप्ति जारी गर्दै केही सञ्चारमाध्यम तथा सामाजिक सञ्जालमा आईजीपी कार्कीमाथि राजीनामाको दबाब बढेको भन्ने समाचार तथा टिप्पणी प्रकाशित तथा प्रसारित भइरहेकोप्रति आपत्ति जनाएको हो ।
प्रहरीले पुष्टि नभएका विषयलाई अनुमानका आधारमा समाचार तथा टिप्पणीका रूपमा प्रस्तुत गर्दा आम नागरिकमा भ्रम र नकारात्मकता सिर्जना हुने तथा सुरक्षा संगठनप्रतिको विश्वास, सांगठनिक छवि र निष्ठामा असर पर्न सक्ने जनाएको छ ।
विज्ञप्तिमा समाचार तथा सूचना प्रकाशन वा प्रसारण गर्नुअघि सम्बन्धित निकायबाट तथ्य पुष्टि गर्न र सूचनाको विश्वसनीयता सुनिश्चित गर्न सञ्चारमाध्यम तथा सामाजिक सञ्जाल प्रयोगकर्तालाई आग्रह गरिएको छ ।
नेपाल प्रहरीले सरकारको नीति तथा निर्देशनअनुसार नागरिकप्रतिको विधिसम्मत जिम्मेवारी र उत्तरदायित्व निर्वाह गर्न आफू प्रतिबद्ध रहेको स्पष्ट पारेको छ । साथै, कुनै पनि प्रकारका भ्रामक प्रचार, अनावश्यक दबाब वा गैरकानुनी गतिविधिबाट विचलित नभई संवैधानिक तथा कानुनी जिम्मेवारी पूरा गर्ने जनाएको छ ।
त्यस्ता भ्रामक समाचार तथा स्वार्थकेन्द्रित टिप्पणीबाट विचलित नभई उच्च मनोबलका साथ एकताबद्ध भएर काम गर्न प्रहरीका सकल दर्जाका कर्मचारीलाई समेत निर्देशन दिइएको विज्ञप्तिमा उल्लेख छ ।
त्यसैगरी, नेपाल प्रहरीलाई कमजोर बनाउने वा सुरक्षा संगठनलाई विवादमा तानेर सरकारविरुद्ध खेल्न सकिन्छ भन्ने सोचका साथ नियोजित रूपमा भ्रामक सूचना सम्प्रेषण गर्ने सीमित व्यक्तिहरूमाथि प्रचलित कानुनबमोजिम अनुसन्धान तथा कानुनी कारबाहीको प्रक्रिया अगाडि बढाइने चेतावनीसमेत प्रहरीले दिएको छ ।
केन्द्रीय प्रहरी प्रवक्ता प्रहरी नायव महानिरीक्षक अबि नारायण काफ्लेद्वारा जारी विज्ञप्तिमा आम नागरिकलाई आधिकारिक तथा तथ्यमा आधारित समाचारमा विश्वास गर्न र अपुष्ट सामग्रीको अनावश्यक प्रसार नगर्न आग्रह गरिएको छ ।
















