लिःल (घले) ल्होसरको एतिहासिक परिचय

घले राजालाई मारेपछि घलेहरुको पहिचानमा ठूलो क्षति पुग्यो

“प्रि”ल्हो–२०६१ (२०२५) लिःल–घले । ल्हो–बर्ग । परापूर्व काल देखि हामी घले जातिका समुदायले विशेष र महत्वपूर्ण शुभ दिनको रुपमा हरेक वर्ष माघ १ गते लिःल ल्हो सर लाई सांस्कृतिक पर्वको रुपमा मनाउँदै आएको छौं । “मुग” ल्हो चिल वर्गको विदाई गर्दै “प्रि” ल्हो सर्प वर्गको आगमनलाई स्वागत गर्दै सम्पूर्ण घले समुदायहरु र अन्य मित्रहरुमा सुख, शान्ति र उत्तरोत्तर प्रगतिको मंगलमय शुभ–कामना व्यक्त गर्दछौं ।

घले जातीले माघ १ गते किन लिःल “ल्हो” सर मान्छन् त ? प्रश्न ? र उत्तर ल्हो सर–“ ल्हो ” भन्नाले वर्ग वा वर्ष बुझिन आउँछ भने “सर” भन्नाले नयाँ भन्ने बुझिन्छ । “ल्हो” एउटा चक्र हो । १२ बाट जन्तुको नामबाट अंकित गरिएको हुन्छ र १२ वर्ष पछि फेरी घुमेर त्यही ल्हो फर्केर आउँछ र घले भाषामा “ल्हो थोप”–वर्ग आयो भन्छ । हरेक वर्षको माघ १ गते राति मध्यान्तरमा ज्योतिष शास्त्र अनुसार (रातको १२ बजे) सूर्य कर्कट राशिबाट प्रवेश गरेको हुन्छ वा दक्षिण दिशाबाट उत्तर दिशा तिर सर्छ । अब जाडो महिनाबाट गर्मी महिनाको अनुभव गर्न थाल्छन् ।

पौष महिनाको मसान्त भित्र शुरु गरेका कामहरु जस्तैः राडी, बख्खु, डोको, थुमसे, कोक्रो, बैंकिङ कारोवार, नयाँ घर, भकारी आदि सबै कामहरु सक्नु पर्ने हुन्छन् । घले राजाले चलाएको नियम अनुसार अन्य जातिहरुले पनि अनुसरण गर्न थाल्यो र यो सबै चिज सकेर माघ १ गते खुशीयालीमा मनाउने “ल्हो” सर घले जातिको ठूलो दिन हो । घले भाषाबाट यो महान वर्षलाई “ल्हो थोप” (वर्ष पुरा भएको नयाँ शुरु दिन) पनि भनिन्छ । वर्गहरुः ता(बाघ), योए(बिरालो), मुग(चिल), प्रि(सर्प) तं(घोडा), ल्हुँक (भेडा), प्रः(वादर), ज्.या(चरा), खीं (कुकुर), फा (मृग), ज्युव (मुसा), र लड् गाईं) ल्हो हुन् ।

वि.सं. १५५९ सालमाः शाहहरुबाट द्रव्य शाह, बाहुनबाट नारायण अर्याल, क्षेत्रीबाट गणेश पाण्डे र अन्य जातिहरु गुरुङ, मगर र केही दलितको साथ सहयोग लिएर घले जातिको राजा थानसिंह घले राजालाई लिग–लिग कोटमा मारेपछि घलेहरुको पहिचान मात्र नभई धर्म–संस्कारमा ठूलो क्षति पुगेको ईतिहास साक्षी छन् । अहिले थानसिंह घलेलाई मगरको बाहुली भएर मगर घले बनाई भ्रम फैलाएको ताजा खबर त हाम्रो सामु सर्वबित्तितै छ । यसरी घले जातिको आफ्नै रीतिरिवाज भाषा, परम्परा र धर्म संस्कृतिको दृष्टिले धनि भए पनि बोन धर्ममा आस्था राख्ने घले जातिले भेडाको खसीलाई लामा, जैसी, डाडंरे र झाक्रीबाट बलिदान दिई कुलपूजा गरी जेष्ठ नागरिकबाट पानसमा बत्ति बाली ल्होसर सुरुवात गर्ने चलन रहदै आइरहेको छ ।

माघ १ गते घले ल्होसरमा गर्ने कामहरु १) आफ्नो चेलीहरुलाई कोसेली (खेस्रो) चोयाले बुनेको कोसोरोमा हालेर रोटी, तरुल, खिर, सक्नेले नयाँ नयाँ लुग कपडा दिने चलन छ । २) माघ १ गतेबाट नयाँ ल्होको सुरुवातबाट नयाँ-नयाँ चिजहरु बुन्न र बनाउन सुरुवात गर्छन् । ३)लामा, जैसी, गोठाला र झाक्रीले चोखो राख्न नुहाई-धुवाई गरी पुजापाठ गर्ने चलन छ भने गाउँलेहरुबाट अक्षेता लिएर आउँछन् । ४) जुन व्यक्तिको “ल्हो” सुरु हुन्छ वा जन्मेको हुन्छ ल्हो आयो भनेर १३ वर्षमा लागेको सुरुवात गरिन्छ वा “ल्हो थोप” (वर्ग आएको भन्ने चलन) भन्छ । “ल्हो थोप” सुरु भएपछि भेडाको खसी वा कुखुराको भाले काटेर मनाईन्छ । ५) ल्होको आधारमा लामा, जैशी, धामी वा झाक्रीले सायत हेर्ने, जोखना हेर्ने (काफ्या) वा रातमा ४ दिशाको आकाशमा तारा हेरेर नयाँ कामको सुरुवात गरिन्छ । ६) मान्छे मर्दा, भेडीगोठ, गाईगोठ सार्दा गोठलाहरुले पनि सायत हेर्ने चलन रहेको छ । विशेष गरी पौष १५ भनेको दिन छोटो र रात लामो हुने समय हो र वर्ग कहिले पनि फेरिदैन ।

नेपाल सरकारबाट कुन–कुन जातिलाई मान्यता दिएको छ त ? गत केही वर्ष अघिदेखि मन्त्री परिषद्को निर्णय अनुसार सबै आदिबासी जनजातिहरुको सांस्कृतिक पर्वहरु मनाउन दिएको सार्वजनिक विदाहरु कटौती गरेका छन् जसमा तमु ल्होछार-सार, तामाङ वा शेर्पाको सोनाम ल्होछार र गेल्बो ल्होछार पर्दछ । घलेहरुको ल्हो सरलाई अझै सरकारले सम्बोधन गरेका छैनन् । आदिबासी जनजाति उत्थान राष्ट्रिय प्रतिष्ठान ऐन वि.सं. २०५८ ले आदिबासी जनजाति भन्नाले आफ्नो मातृ भाषा र परम्परागत, रीतिरिवाज, छुटै सांस्कृतिक पहिचान, छुटै सामाजिक संरचना र लिखित अलिखित ईतिहासलाई बुझाउँछन्। जस्तै जनगणाना वि.सं. २०५८-जाति-१४२ भाषा–१२४ गृहमन्त्रालयबाट वि.सं. २०७४ साल बैशाख ११ गते अल्पसंख्याको घोषणा-हाल १३५ जातिय र अल्पसंख्यामा घोषणा गर्दा, घले जाति-३५औं नम्बरमा सूचिकृत छ । जनगणनाः घले जातिको जातिय कोड नं.६७ घले मातृ भाषाको कोड नं.५२ कूल संख्याः ३५४३४ रहेको छ।

घले समुदायले आफ्नो भाषा, धर्म, संस्कृति तथा परम्पराहरुलाई जोगाउँदै नयाँ पुस्तालाई हस्तान्तरण गर्नु सक्नु पर्छ र साथै नयाँ पुस्ताहरुले पनि आफ्ना भाषा, धर्म, संस्कार र रीतिरिवाजलाई जोगाउँदै संसार भर चिनाउन सक्रिय भएर लाग्नुपर्छ । अन्त्यमा सर-नयाँ लिःल (घले) ल्होसरको शुभ-कामना । साथै युके तथा देश विदेश एवंम संसार भरि बसोबास गर्ने सम्पूर्ण घले समुदाय तथा गैरे घले समुदायलाई एवंम मित्रजनहरुलाई श्युब–खयंड, नमस्कार तथा शुभकामना ।
धन घले–संस्थापक, महासचिव आदिबासी जनजाति महासंघ हाल बेलायत