काठमाडौं उपत्यका सार्वजनिक पुस्तकालयको अवसाननै हो त !

उपत्यकामा स्तरीय सार्वजनिक पुस्तकालय सेवा प्रदान गर्ने, राष्ट्रव्यापी पुस्तकालय प्रणलीको लागि ऐन, नियम, नीतिहरू तर्जुमागर्न पहल गर्ने, देशव्यापी आधुनिक सुविधा सम्पन्न सार्वजनिक पुस्तकालयको सञ्जाल विकास गरी सूचना एवं साक्षारताको अभिबृद्धि गर्ने, औपचारिक तथा अनौपचारिक शिक्षा केन्द्रकोरुपमा काम गर्ने, पुस्तकालय विधामा तालिम, गोष्ठी, कार्यशाला आदिको तर्जूमा गर्ने जस्ता कुराहरू उद्देश्यमा राखेर काठमाडौं उपत्यका सार्वजनिक पुस्तकालय समाज २०६०।६।८ का दिन जिल्ला प्रशासन कार्यालय, काठमाडौंमा दर्ता भएर आधिकारिक स्थापना भएको हो।

तेइसवर्ष अघि डा. नारायण खडकाको परिकल्पनालाई स्वतस्फूर्तरुपमा हातेमालो गर्ने महानुभावहरू अर्थात् संस्थापक सदस्यहरू: केदारभक्त माथेमा, तीर्थराज वन्त, कृष्णमणि भण्डारी, मुरारिविनोद पोखरेल, श्रीमती जानकी कर्माचार्य, भक्तबहादुर बलायर, गोविन्दप्रसाद कुसुम, रणबहादुर शाह, श्यामबहादुर पाण्डे, डा. दुर्गेशमान सिंह, श्रीमती विणा बैद्य, ओमप्रकास सरावगी, देवानन्द सरावगी, चिरञ्जिवीलाल अग्रवाल, महेशकुमार अग्रवाल, डा. लिला पाठक, श्रीरामसिंह बस्नेत, डा. विमल कोइराला, डा. मधुनिधि तिवारी, राजेश्वर आचार्य, भोलाकुमार श्रेष्ठ, डा. साकेतबिहारी ठाकुर, दशरथ थापा, रुद्रप्रसाद दुलाल, जुजुभाई डंगोल, राजु शाक्य, नविनप्रकाशजंग शाह, डा. मोहनप्रसाद लोहनी, मोहन इग्नाम, दिबसविक्रम शाह, ज्ञानेन्द्रप्रसाद पोखरेल, तुलसी दिवस, डा. तीर्थप्रसाद मिश्र, सूर्यप्रसाद श्रेष्ठ, हिरेन्द्रमान प्रधान, खेलबहादुर श्रेष्ठ, डा. पूर्णकान्त अधिकारी, डा. अभि सुवेदी, श्री आकर्षण प्रधान, डा. लोकनारायण झा, श्रीमती यांगकिला शेर्पा, डा. गोविन्दराम अग्रवाल, हरिश्चन्द्र राय, केशबमान मास्के, गणेश साह, श्रीमती ग्रेटा राणा, दुर्गाप्रसाद भटृराई हुनुहुन्छ।

त्यसै गरी आजीवन सदश्यहरूमा: डा. मदन भटृराई, डा. शंकर शर्मा, डा. विमला पौडेल राई, गजेन्द्रबहादुर श्रेष्ठ, आङ्छिरिङ्ग शेर्पा, सुरेशमान श्रेष्ठ, डा दिनेश भटृराई, किशोर थापा, भिमध्वज श्रेष्ठ, सन्तोष परियार, प्रा.डा. गोविन्दराज पोखरेल, डा. श्रीराम पौडेल, डा. स्वर्णिम वाग्ले, डा. रामभक्त ठाकुर, डा. लिला न्याइचाई, मधुरमण आचार्य, प्रा.डा. कुलप्रसाद कोइराला, प्रा.डा. उपेन्द्रकुमार कोइराला, श्रीमती कल्पना धमला, प्रा.डा. विद्यानाथ कोइराला, प्रा.डा. जीवराज पोखरेलहरू रहनुभएको छ।

पुस्तकालय जस्तो पवित्र शिक्षा प्रदान गर्ने संस्थाको लागि थलोको खोजिगर्दै, माथिका विदुषी महानुभावहरूको सक्रियतामा, समाज कल्याण परिषद्को भृकुटी मण्डप स्थित मरमत गर्नुपर्ने खाली रहेको भवन नं.३४ लाई लाग्ने शुल्कको ७५ प्रतिशत छुट हुने र २५ प्रतिसद् भाडा तीर्नु पर्ने गरी दुईपक्ष बिच करारनामा भएको हो। यसै भवनबाट २०६२ असार २५ गते, श्री सत्यमोहन जोशीको प्रमुख आतिथ्यतामा भएको समारोहबाट पुस्तकालयको सेवा सुचारु भयो। पुस्तक र पाठक संख्या बढदैजांदा कार्तिक २०६४ देखि सोही २५ प्रतिसद् भाडा तिर्ने प्रावधान अनुरुप भवन ६८ समेत् प्राप्त गरि पुस्तकालयको सेवा विस्तार गरिएको थियो।

पुस्तकालय सेवा अभिबृद्धि हुंदै जांदा नेपालमा रहेका प्राय: सबै मित्रराष्ट्रका महामहिम राजदूतहरू, त्यस समयका मन्त्रीहरू, पूर्व प्रधानमन्त्रीहरू एवं प्रधानमन्त्रीहरूले पटक पटक यस पुस्तकालयको भ्रमण गरी सहयोगको निरन्तरता हुने बचनबद्धता गर्नु भएको थियो। कतिपय राजदूताबासबाट किताबहरू प्राप्त भए। साथै पुस्तकालयले आफ्नो स्थान प्राप्त गरेमा मित्र राष्ट्रका राजदूतहरू मध्ये केहीले भवन निर्माणको लागि पहल गर्न सक्ने आश्वासान पनि दिएका थिए। दुई भवनहरूबाट पुस्तकालयको सेवा निर्वाध चलिरहेकै थियो। नेपाल लाइबे्ररी फाउण्डेशन, क्यानाडा जस्ता संस्थाले पुस्तकालयलाई सहयोग जुटाएको थियो। यस समाजलाई विश्वास गरेर ब्रिटिश काउन्सिलले २०६४ मार्ग १९ गतेका दिन त्यहां भएका किताब फर्निचर समेत् उपलब्ध गराएर त्यहांको किताब आदान प्रदान गर्ने सेवानै यस पुस्तकालयलाई हस्तान्तरण गरेको हो।

त्यस किसिमको विश्वास यस पुस्तकालयले आर्जन गरेकै हो। स्थान अभाव भएर पुस्तक उपलब्ध गराउने महानुभावहरूलाई भवनको विस्तार गरे पछि पुस्तक लिनेछौं भन्दै फर्काईरहनु परेको अवस्था थियो। पुस्तकादी सरसामाग्रीहरूको प्राप्ती एवं विभिन्न कार्यक्रमहरू व्यक्ति/ संस्थाका सदासयतामा सञ्चालन हुने गरे तापनि ५।६ जना कर्मचारी, विद्युत, पानी मरमतसम्भार लगायतको न्यूनतम खर्च व्यहोर्न शिक्षा मन्त्रालयको वार्षिक अनुदान सुरुदेखिनै पुस्तकालयले प्राप्त गर्दै आएको हो। सत्तरीको दशकको कुनै महिनामा देखि हुनुपर्छ, समाज कल्याण परिषद्ले एकतर्फी निर्णय गरी पुस्तकालयलाई दिइएको ७५ प्रतिशत छुट हुन सक्दैन, पुरै रकम बुझाउनु पर्छ भन्ने जानकारी पुस्तकालयमा प्राप्त भयो। न व्यापार, न कमाई गर्ने, पुस्तकालय जस्तो संस्थाले उक्त सत्प्रतिसद् शुल्क तीर्न नसक्ने कुरा बारम्बार अवगत गराउंदा, पुस्तकालय हो, बन्दगर्नु त भएन, सञ्चालन हुंदै गरोस् भन्ने भावना परिषद्का महानुभावहरूबाट पनि मुखरित भएकै हुन्। अन्यथा एकाध वर्षमै कडिकडाउ गरेर पुस्तकालय पहिलेनै बन्द गराइन्थ्यो होला। सुरु देखि वर्षेनी झैं, २०८१ साल सम्मको दुबै भवनको करार बमोजिमको २५ प्रतिसत शुल्क पुस्तकालयले तिरेकै छ।

२०६२ असार देखि अनवरत सञ्चालनमा रहेको यस पुस्तकालय, जहां ३ महिने पुस्तकालय तथा सूचना विज्ञानको तालिम चलिरहेको अवस्था थियो, सो दिन सयौं हाराहारीका पाठक पढिरहेका थिए, यकायक २०८२ चैत्र ३० गते सोमबार समाज कल्याण परिषद्बाट तालाबन्दी भयो। नेपालको इतिहासमा पहिलेनै ‘पुस्तकालय पर्व’ त दरिएकै हो, यस दिनलाई के भन्ने होला कुन्नी? ‘पुस्तकालयको इतिहासमा कालो दिन’ भनेर दोश्रो इतिहास रचिने हो कि, थाहा छैन। कसैले केही राम्रो काम गरे भने केही नेपालीको ओठ लेप्राउने वा टिकाटिप्पणी गर्ने त चलनै छ। यस पुस्तकालयलाई पनि त्यस्ता व्यक्तिले कांग्रेशी पुस्तकालय भनेर हल्ला गर्दा रहेछन्। म पनि यस पुस्तकालयको सुरुवाती चरण देखि संगै भएकोले ठोकुवा गर्छु कि, पुस्तकालयमा राजनीतिको ‘र’ सम्म पनि कहिले कतै उच्चारण भएको छैन। अर्थात् पुस्तकालय सम्पूर्ण आम जनमानसको लागि हो भन्ने कुरा चरितार्थ भएको छ। डा. नारायण खडाका आफ्ना उद्गारमा: चिनका नेता माओत्सेतुङ पहिले पेकिङ विश्वविद्यालयमा काम गर्थे, इजरायलकी गोल्डा मेर सार्वजनिक पुस्तकालयमा काम गर्थिन्, अमेरिकाका थोमस जेफरसन तथा अब्राहम लिंकन एवं रुसका भ्लादिमिर लेनिनको पुस्तकालयसंग गहिरो सम्बन्ध थियो जस्ता उदाहरण दिएर श्रोतालाई पुस्तकालय तर्फ सम्मेहित गराउन खप्पिस हुनुहुन्छ। उहांमा यस पुस्तकालयलाई यशियाकै उत्कृट पुस्तकालय बनाउनु पर्छ भन्ने दूरदृष्टि रहेको छ। माथीका संस्थापक तथा आजीवन नामावली केलाउने हो भने नेपालको कुन विधा, समूह वा पेशाका उल्लेख्य कोही छुटेका होलान् र? समाजको लोगो बनाउने श्रेय यसै नामावलीमा रहनु भएका अति आदरपूर्वक नाम लिइने एकजना व्यक्ति हुनुहुन्छ, माथेमा सर!

तालाबन्दी हुनासाथ यस अवस्थाको सिर्जना कसरी भयो र यथास्थिति के छ भन्ने विवरण पेश गरी समस्याको निदानको लागि महिला, बालबालिका तथा जेष्ठ नागरिक मन्त्रालय, शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालय तथा अर्थ मन्त्रालयमा २०८३ बैशाखको सुरुमै पत्राचार भएको हो। पत्रमा समस्या छ, सोको निदान गर्नै पर्छ भन्दै: मन्त्री परिषद्बाट काठमाडौं उपत्यका सार्वजनिक पुस्तकालयको नाममा महालेखाले देखाएको हालसम्मको बेरुजु मिनाहा गर्ने, ती दुई भवन अर्को व्यवस्था नभएसम्म पुस्तकालयले निशुल्क सञ्चालन गरिरहने एवं कर्मचारी तथा पानी, विद्युत, मरमत आदि खर्चको लागि शिक्षा मन्त्रालयबाट सञ्चालन खर्च बर्षेनी उपलब्ध गराइनु पर्ने कुराहरू परेका थिए। यद्यपी, झण्डै ३ महिना देखि तालाबन्दीमा रहेको काठमाडौं उपत्यका सार्वजनिक पुस्तकालय खुल्ने वा सदाको लागि बन्द हुने भन्ने बारेमा आजसम्म कुनै निर्णय भएको छैन।

यो समस्या खडा हुनुमा अज्ञानता नै प्रमुख कारण हो कि! सायद् जुनबखत २५ हैन १०० प्रतिसदनै शुल्क लाग्छ र जसरी पनि उठाउनै पर्छ भन्ने मूढ निर्णय हुनु यसैको प्रतिफल न हो। ‘टक्का सेर भाजी टक्का सेर खाजा’ त्यसै उखान बनेन होला। अन्यथा, ज्ञान प्रवाह गर्ने खुला विश्वविद्यालयरुपी सार्वजनिक पुस्तकालयहरू राष्ट्रलेनै सञ्चालन गर्ने हो, यो समाज कल्याण परिषद्को काम हो भन्ने भावना आउंथ्यो होला। नेपालको संविधानले प्रत्याभूत गरेको अधिकार हो ‘पुस्तकालय’, त्यो पनि बुझिन्थ्यो होला। किन यस्तो अवस्थाको सिर्जना भयो ???

देशले नगरेको अवस्थामा देशले गर्नु पर्ने है भनेर यस्ता कृयाकलापहरू कुनै व्यक्ति वा समुहले बाटो देखाइदिन गर्ने गर्छन्। नेपालमा थुप्रै यस्ता पुस्तकालय खोल्ने र सञ्चालन गर्ने काम व्यक्तिबाट हुंदै आएको छ। मोती पुस्तकालय, फलेवास, पर्वत; किरण पुस्तकालय, तम्घास, गुल्मी; केसर पुस्तकालय, काठमाडौं; डिल्लीरमण कल्याणी रेग्मी पुस्तकालय, काठमाडौं केही उदाहरणहरू हुन्। काठमाडौंमै सरकारकै तर्फबाट एउटा विशाल सार्वजनिक पुस्तकालय सयौं वर्ष अगाडीनै स्थापना भई सञ्चालनमा रहिरहेको हुनुपर्ने हैन र? अमेरिकाको लाइव्रेरी अफ कांग्रेश, बेलायतको बृटिश म्यूजियम वा जापानको डायट पुस्तकालयको हवाला दिंदै त्यस्ता पुस्तकालय नेपालमा खै? भन्ने हामी सबै राजनैतिक, प्रशासक, समाजसेवी, वुद्धिजिबीहरू छौं। तर करिब ३ महिना देखि बन्द रहेको सार्वजनिक पुस्तकालय खोलाउन प्रयत्न गर्ने त हामी कोही रहेनछौं।

हालको मन्त्री परिषद्मा पुस्तकालयको महत्व नबुझेको कोही पनि हुनुहुन्न। त्यहां कर्मचारी संयन्त्रमा रहनु भएका युवा सबै पनि पुस्तकालयको सेवाबाट लाभान्वित भएका व्यक्तिहरू छन्। आसा गरौं तत्काल पुस्तकालय खोल्न केही समय लाग्छ भने पनि बर्षात्मा पानीका वाछिटाले पुस्तक विग्रेकि सग्लैछन्, त्यो सम्म त आज भोलीनै खोज पडताल होस्, ती बौद्धिक सम्पत्ती कम्तिमा गुम्सियर विग्रिने नहोस्। आज नभए पनि कुनै न कुनै दिन पुस्तकालय त खुल्छन् नै, पुस्तकालयको लागि सधैं कालो दिन त कहां हुन्छ र! नेपाल सरकारले तत्काल काठमाडौं उपत्यका सार्वजनिक पुस्तकालय सुचारु गर्ने दिशामा कदम चालोस।