वास्तुपद्धति अनुसार शालिकको सुरुवात वैदककालदेखि नै भएको हो । वास्तुशास्त्र, महाभारत, उपनिषद, रामायण, पाणिनी लगायत पतञ्जली भाष्यमा यस सम्वन्धी चर्चा गरिएको छ । पुराण एवं आगम शास्त्रले सूक्ष्म ब्रह्माण्डरुपी शरीर र विशाल ब्रह्माण्डरुपी संसारको चिन्तन गरेका छन् । आजको मानसिले सुख र ऐश्वर्यमा बढी प्राथमिकता दिन्छ । भोग प्राप्तिका लागि अथर्ववेद भित्रको स्थापत्यवेद र त्यस अन्तर्गतको वास्तुशास्त्रले पदार्थको राम्रो प्रयोग र अध्ययन गर्न जोड दिएको छ । पदार्थकै प्रयोग गरी निर्माण हुने शालिकमा सम्बन्धित देवता वा ब्यक्तिको मूर्त अभिव्यक्ति हुन्छ ।
हिजोआज हामीकहाँ गाउँ, सहर, समूह, समुदाय सबैतिर शालिकहरु बन्न थालेका छन् । यस्ता शालिकहरु वास्तुपद्धति अनुसार बनेमा सामाजिक हितको साथै हाम्रो लक्ष्य पनि पूरा हुन्छ । पूर्वीय शास्त्रहरुले साकार शालिकले मान्छेका मनोरथ पूर्ति हुने बताएका छन् । प्राचीन ऋषि, महर्षिहरुको मत रहेको छ प्रत्येक जीव पृथ्वी, जल, वायु, अग्नि, तेज समिश्रण वास्तु विषय आवद्ध शालिकमा प्राण प्रतिष्ठा हुनु जरुरी छ । प्रतिमा या देवदेवी मूर्ति या शालिक पूर्ण, अद्र्ध, या आंशिक हुन सक्छन् । शालिक कलात्मक, चित्रांकित आदि हुन सक्छन् । विष्वक्सेन संहिताका अनुसार पूर्ण शालिकबाट पूर्ण लाभ प्राप्त हुन्छन् भन्ने अद्र्ध या खण्डितबाट आंशिक वा अधम फल प्राप्ति हुन्छ । ब्यक्तिको रुचिअनुसार शालिकको आसन फरक फरक हुन सक्छ – उभिएको, बसेको, सुतेको या विभिन्न मुद्राको !
वास्तुशास्त्रले शालिक एवं मन्दिरको उचाइ पनि बताएको छ । मत्स्यपुराण, अमरकोश, वराह मिहिर आदि ग्रन्थले पनि मन्दिर एवं शालिक स्थापना बारे चर्चा गरेका छन् । रामको शालिक १२० अंगुल, अन्य देवताको १०८ अंगुल आकार बताइएको छ भने ९६ अंगुल अग्लो शालिक सम्मलाई मध्यम र ८४ कुरेतको उत्तम, ९ कुरेत मध्यम, ८ कुरेत सामान्य हुन्छ । अग्निपुराणमा बताइए अनुसार देवीहरुको शालिक आठ कुरेत भन्दा न्यून हुनु हुन्न । माटो, काठ, ढुँगाको शालिकलाई यसरी उचाइ तोकिएको छ भने अन्यका हकमा ब्यक्तिको इच्छाअनुसार हुन सक्छ । विष्वक्सेन संहिताका अनुसार रामको सुर्वणादि धातुको शालिक ३२ अंगुल उचो उत्तम हुने, २५ अंगुल उचो मध्यम र १६ अंगुलसम्मको शालिक सामान्य हुन्छ । कृष्णको शालिक पनि यही आकारको हुनुपर्छ ।
सफेद, सुन्दर, पूर्ण आकारको मूर्ति वा शालिकले शुभ र पूर्ण फल दिन्छ । वास्तुशास्त्रअनुसार निर्माण भएको मूर्ति वा शालिकले देव देवीहरु मूर्तिमा प्रतिष्ठा गर्नासाथ प्राण प्रतिष्ठा पछि त्यस मूर्तिमा प्रवेश गर्छन् । वास्तुशास्त्र नमिलेको मूर्ति वा शालिक भने केवल देखावटी मात्र हुन्छ – हेर्न राम्रो हुन्छ – मनोकामना भने पूरा हुँदैनन् । पूर्ण लक्षण भएका मूर्ति वा शालिकले मनोकामना पूरा हुने र नभएका मूर्ति वा शालिकले घर परिवार, बधु बान्धव, कुटुम्व, ग्राम, नगर, परिवेश अनर्थ हुने र राष्ट्रमा अशान्ति समेत हुन्छ ।
यहाँसम्म कि टूट फूट, हिन, अंग, आकार, प्रकार उचाइ आदि नमिलेको मूर्ति वा शालिकले खराव फल दिन्छन् । अर्थनाश, विभिन्न रोग, भय, चोरी, हिंसा र मरणतकको कष्ट हुन्छ । वायाँतिर झुकेको शालिक पत्नी पिडा, दायाँतिर ढल्केको शालिकले आयु र कीर्ति क्षय, माथितिर ढल्केको मूर्तिले आँखालाई कष्ट पैदा हुन्छ । अधोमुखी शालिकले भने मनमा चिन्ता र सन्त्रास पैदा हुन्छ । कुनै शालिक अंगहरु भित्रतिर धसेकिएका भए विभिन्न रोग एवं उपद्रव, राज्यबाट चिन्ता समेत हुन्छ ।
रौद्र शालिक हेर्दै डर लाग्दो भयानक देखिने शालिकले बनाउने र राख्ने दुवैलाई घातक हुन्छ र हेर्दैमा चिन्ता कलह हुने, दीन, दु:खीको संकेत गर्ने, मलिन आकारको शालिकले निर्माण कर्तालाई नै नराम्रो फल प्राप्त हुन्छ । विरुप शालिकले सन्तान नहुने, भएका सन्तानलाई कष्ट हुने र कुनै शालिकले त ब्यक्ति, समूह वा राष्ट्रलाई नै अनिकाल ग्रस्त बनाइदिन्छ ।
नाधिकाङ्गा न हीनाङ्गा कत्र्तव्या देवता क्वचित्
स्वामिनं घातयेन्यूना करालवदना तथा
अधिका शिल्पिनं हन्यान् कृशा चैवार्थनाशिनी
– मत्स्यपुराण २९५।१५–१६
मत्स्यपुराणका अनुसार देव देवीको मूर्ति न्यून अंगी र विकराल मुखको भए घरमूलीका लागि घातक हुन्छ भने अधिक अंगी मूर्ति भए शिल्पकारको लागि घातक हुन्छ । टूट–फूट नराम्रो शालिकले अर्थनाश हुन्छ । मत्स्य पुराणका अनुसार सम्पूर्ण अवयव पूर्ण, सफेद, राम्रो शालिकले सुख, शान्ति हुन्छ । विष्णु धर्मोत्तर ग्रन्थका अनुसार विद्धान् र सिद्धपुरुषले पूर्ण लक्षणका शालिक चयन गर्नुपर्छ । नारद पुराणले वक्र आकृतिको, डढेको, खण्डित भएको, अपूर्ण शालिकलाई वर्जित गरेको छ । यसबाट अनेक प्रकारका कष्ट, हानि आदि दुष्परिणाम प्राप्त हुन्छ । यदि शालिक पुराना भए, खण्डित भए, टूटपूmट भए, अग्नि ज्वलन भए भने नयाँ शालिक प्रतिष्ठा गरी राख्नु पर्छ ।
सुवर्ण आदि धातुको मूर्ति घरमा पूजा गर्दा एक वूढी औँला परिमाणदेखि १२ अंगुल परिमाण सम्मको राम्रो मानिन्छ, उचाइमा । वाहिर मन्दिर या दरवारमा स्थापना गर्ने हो भने एक हातदेखि माथिको हुनुपर्छ । आठ हात सम्मको उचाइको मूर्ति वा शालिक सार्वजनिक स्थल या दरवारमा ग्राहय हुन्छ । धन या खर्च उपलब्धि ज्यादा छ भन्दैमा वास्तुपद्धति विपरीत ठूला मूर्तिले सर्व कल्याण गर्दैनन् । चित्र आदि अंकित मूर्ति भने २३ अंगुलसम्म अग्लो हुन सक्छन्, राख्न सकिन्छ । काठ, माटो, ढुंगाको मूर्ति सहित चित्र अंकित समेत घरभित्र पनि एक हातभन्दा अग्लो पनि उतम हुन्छ । जयाख्य संहिताका अनुसार भने घरभित्र शिला, काठ या माटाका शालिक वा मूर्ति राख्नु हुन्न ।


















