सामाजिक सञ्जाल विधेयकमा युवाको आवाज सुन्न सुमना श्रेष्ठ आग्रह

रास्वपा सांसद सुमना श्रेष्ठले सरकारले ल्याएको सामाजिक सञ्जालसम्बन्धी विधेयकको विरोधमा युवाहरूले अभियान सुरु गरेको भन्दै सरकारलाई युवाहरूको आवाज सुन्न आग्रह गरेकी छन् ।

बिहीबारको प्रतिनिधिसभा बैठकको आकस्मिक समयमा बोल्दै सांसद श्रेष्ठले के युवाले माइतीघर मण्डलामा तोडफोड गरे, सार्वजनिक सम्पत्तिमा ढुंगामुढा गरे भने मात्रै सरकारले युवाहरूको आवाज सुन्ने हो भन्दै प्रश्न गरिन् ।

उनले सामाजिक सञ्जालमा युवाहरूले सामाजिक सञ्जाल विधेयकबारे अभियान सुरु गरेको भन्दै त्यसमा वाक स्वतन्त्रता हननको कुरा गरिएको बताइन् ।

‘के यो आवाज सरकारले सुन्छ, विधेयकहरु ल्याउँदै गर्दा सरोकारवालासँग छलफल गर्छ, युवालाई बोलाउनुस् । आवाज सुन्नुस्’, उनले भनिन्, ‘पेलेर जाने होइन, दम्भ देखाउने होइन । यो विधेयकप्रति युवाहरूले गरेको विरोध सरकारले सम्बोधन गरोस् ।’