प्रहरी महानिरीक्षक बसन्त बहादुर कुँवरले जिल्ला प्रहरी कार्यालय रौतहट परिसरमा नवनिर्मित कार्यालय भवन, कार्यालय प्रमुखको निवास, ब्यारेक, हिरासत कक्ष, सिनियर प्रहरी आवास, भान्साघर लगायतका भवनहरूको सोमबार आयोजित एक कार्यक्रमबीच उद्घाटन गरेको छ ।
साथै उनले उक्त नवनिर्मित भवनहरूको अवलोकन गर्नुका साथै कार्यालय परिसरमा वृक्षारोपण समेत गरे । कार्यक्रममा प्रहरी महानिरीक्षक कुँवरले भवन निर्माण कार्यमा सहयोग पुर्याउने विभिन्न महानुभावहरूलाई प्रशंसा-पत्र समेत प्रदान गरे । उक्त अवसरमा प्रहरी महानिरीक्षक कुँवरले नवनिर्मित आधुनिक र सुविधा सम्पन्न भवनहरूले जिल्ला प्रहरी कार्यालय रौतहट र मातहतमा कार्यरत प्रहरी कर्मचारीहरूमा जिम्मेवारी निर्वाह गर्न थप ऊर्जा र हौसला थपिएको विश्वास व्यक्त गर्दै सुविधा सम्पन्न भौतिक संरचना निर्माणले प्रहरी कर्मचारीहरूको मनोबल उच्च हुनुका साथै प्रहरीबाट प्रवाह हुने सेवाको गुणस्तर थप प्रभावकारी हुने बताए ।
कानुन विपरीत गतिविधि नियन्त्रण गरी समाजमा शान्ति, सुव्यवस्था कायम गर्न प्रहरीको एकल प्रयासले मात्र नभई स्थानीय नागरिकहरूसँगको उचित समन्वय र सहकार्यमा मात्र सम्भव हुने उल्लेख गर्दै स्थानीय नागरिकहरूबाट जिल्लाको शान्ति सुरक्षा अमन चयन कायम गर्नमा नेपाल प्रहरीलाई पूर्णरूपमा साथ एवम् सहयोग हुने विश्वास उनले व्यक्त गरे ।
कार्यक्रममा गौर नगरपालिकाका प्रमुख शम्भु साह र रौतहट जिल्लाका प्रमुख जिल्ला अधिकारी बिनोद कुमार खड्काले आ-आफ्नो शुभकामना मन्तव्य व्यक्त गरेको थियो ।
मधेश प्रदेश प्रहरी कार्यालयका प्रमुख प्रहरी नायव महानिरीक्षक लालमणि आचार्यले धन्यवाद मन्तव्य व्यक्त गर्नुभएको उक्त कार्यक्रममा जिल्ला प्रहरी कार्यालय रौतहटका प्रमुख प्रहरी उपरीक्षक दिलिप घिमिरेले स्वागत मन्तव्य व्यक्त गरेको थियो । सो अवसरमा प्रहरी उपरीक्षक ई। इश्वर थापाले भवन निर्माण सम्बन्धी प्रतिवेदन प्रस्तुत गरेको थियो । नेपाल सरकारको नियमित बजेटबाट कुल १७ करोड ६४ लाख २७ हजार ६ सय २८ रूपैयाँको लागतमा उक्त भवनहरू निर्माण कार्य सम्पन्न भएको हो ।
उद्घाटन समारोहमा जिल्लास्थित सुरक्षा निकायका प्रमुखहरू, जिल्लास्थित विभिन्न सरकारी कार्यालयका प्रमुखहरू, विभिन्न राजनैतिक दलका प्रतिनिधिहरू, विभिन्न संघ संस्थाका प्रमुख एवम् प्रतिनिधिहरू, स्थानीय समाजसेवी, भद्रभलाद्मी, संचारकर्मी एवम्स्था नीयवासीहरूको उपस्थिति रहेको थियो ।



















