राप्रपा कार्यालयमा बस्यो ’संयुक्त जनआन्दोलन समिति’ को बैठक, उपत्यकामा प्रचारात्मक अभियान सञ्चालन गर्ने निर्णय

नवराज सुवेदी नेतृत्वको ’संयुक्त जनआन्दोलन समिति’ को बैठक राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) को केन्द्रीय कार्यालयमा बसेको छ।

बैठकमा संयोजक सुवेदी, राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देन, राप्रपा नेपालका अध्यक्ष कमल थापा, राप्रपाका पूर्व अध्यक्षद्वय पशुपति शमशेर जबरा र प्रकाशचन्द्र लोहनीलगायत उपस्थित थिए।

जेठ १५ गतेदेखि गर्ने तय भएको ’जनआन्दोलन’ बारे बैठकमा छलफल भएको थियो।

बैठकले जेठ १५ गतेदेखि सुरू हुने काठमाडौं उपत्यकाकेन्द्रित ’जनआन्दोलन’मा पार्टी, संस्था, अभियानका सबै संरचनाहरू परिचालन गर्ने निर्णय गरेको राप्रपा नेता राजाराम श्रेष्ठले जानकारी दिए।
साथै ’जनआन्दोलन’ प्रारम्भ हुनुभन्दा केही दिनअघि उपत्यकामा प्रचारात्मक अभियान सञ्चालन गर्ने, यसको सुरू जेठ ८ गते काठमाडौंको साँखुबाट हुने निर्णय भएको छ।

’जनआन्दोलन’मा आम उपत्यकावासीको सहभागीताका लागि टोल टोलमा घरदैलो, कोणसभा र जागरणका विविध गतिविधि सञ्चालन गर्ने निर्णय गरिएको पनि श्रेष्ठले जानकारी दिए।

आजै बिहान सुकेधारास्थित नवदुर्गा पार्टी प्यालेसमा समितिको आयोजनामा विभिन्न ४४ वटा दल, संस्था, समूह र अभियानको संयुक्त बैठक पनि बसेको थियो।

राजसंस्था पुनस्र्थापना, हिन्दुराष्ट्र पुनस्र्थापना र संघीयता खारेजीलगायत एजेन्डामा राजावादीहरूले ’जनआन्दोलन’ गर्ने घोषणा गरेका छन्।