युद्धविरामको दुई दिनपछि भारत–पाकिस्तानबीच वार्ता हुन लागेको छ। सोमबार दिउँसो भारत र पाकिस्तानका वरिष्ठ अधिकारीहरुबीच वार्ता हुन लागेको भारतीय सञ्चारमाध्यमहरूले जनाएका छन्।
हिन्दुस्तान टाइम्सका अनुसार भारतीको सैन्य अपरेशनका महानिर्देशक (डिजिएमओ) लेफ्टिनेन्ट जनरल राजीव घाइ र पाकिस्तानको सन्य अपरेशनका महानिर्देशक मेजर जनरल काशिफ चौधरीबीची सोमबार दिउँसो वार्ता हुने तय भएको हो।
उनीहरूबीच सोमबार दिउँसो १२ बजे हटलाइनमार्फत वार्ता हुने बताइएको छ। वार्तामा तेस्रो पक्षको मध्यस्थता अस्वीकार्य हुने भारतले यसअघि नै बताइसकेको छ। सो अनुसार दुई डिजिएमओबीच सिधा वार्ता हुने हिन्दुस्तान टाइम्सले जनाएको छ।
वार्तामा युद्धविरामलाई सुदृढ बनाउने र सीमानामा शान्ति कायम गर्न आधार तयार गर्ने विषयमा छलफल हुने बताइएको छ। डिजिएमओमा मात्रै सिमित हुने वार्तामा कश्मिर तथा सिन्धु जल सम्झौता लगायतका विषयमा छलफल नहुने हिन्दुस्तान टाइम्सले जनाएको छ।
बुधबारदेखि चर्केको भारत–पाकिस्तान तनाव शुक्रबार उत्कर्षमा पुगेर शनिबार साँझदेखि युद्धविराम भएको थियो। युद्धविराममा कैयौं देशहरूले मध्यस्थ गरे पनि भारतले दुई देशबीच सिधा कुराकानीबाट युद्धविराम भएको बताएको छ।
















