कुनै पनि देशलाई समाप्त पार्नु छ भने त्यो देशको इतिहास नष्ट गर । त्यस्तै कुनै पनि जातिलाई नष्ट गर्नु छ भने उसको भाषालाई नष्ट गर, स्वयं नष्ट भएर जान्छ । –जेमिनी
इतिहासको जगेर्ना गर्नुपर्छ धननाश भएमा पुन प्राप्त गर्न सकिन्छ तर इतिहास नै नष्ट भयो भने सर्वनाश हुन्छ । –महाभारत
माथिका दुई भनाइ केकति सार्थक लाग्छन्, त्यो त आआफ्नो बुझाइमा भरपर्ने कुरा हो तर इतिहास लेखनले निरन्तरता पाउँदा सत्यतथ्य उजागर हुँदै जाने मात्र होइन विगतमा तिरस्कृत हुने वर्तमानमा श्रद्धाका पात्र पनि हुन जान्छन् । कुनै पनि शासकको मूल्याङ्कन सोही समयमा हुन नसक्नु एउटा यथार्थ पनि हो । शासनकालमा सम्बन्धित शासकको देवत्वकरण गर्ने र सत्ताबाहिर पुगेपछि खेदो खन्ने परिपाटी चलेको देखिन्छ ।
यसैकारण ५० वर्षपछि मात्र सत्यतथ्य घटना उजागर हुँदै जान्छ भन्ने गरिन्छ । यस्तै एक ऐतिहासिक पात्र थिए चन्द्रशमशेर । यिनै श्री ३ चन्द्रशमशेरलाई सत्तामा छँदा गरिएका स्तुतिगान र देवत्वकरण तथा राणाशासन पतन भएपश्चात् गरिएका क्षुद्र, कटु र पूर्वाग्रहपूर्ण दृष्टिकोणको पृष्ठभूमिमा यथार्थ खोज्ने प्रयास यस आलेखमा गरिएको छ ।
जङ्गबहादुरले स्थापना गरेको एकतन्त्रीय जहानिया शासन राणा शासनमा सन् १९४६ देखि १९५१ सम्म १० जना राणा प्राइमिनिस्टर र श्री ३ महाराजहरूले शासन गरे । तीमध्येका छैठौँ थिए, चन्द्रशमशेर । उनी सन् १९०१ देखि १९२९ सम्म नेपालको राजनीतिका सर्वेसर्वा व्यक्ति थिए । राणा शासनकालमा सबैभन्दा लामो अवधि शासन गर्ने चन्द्रशमशेर धीरशमशेरका छोरा थिए । उनको जिउडाल पातलो र छोटो कदको भएकाले जङ्गबहादुरले फिस्टे नाम राखेका थिए । उनको राज्यकालमा नेपालको आन्तरिक र बाह्य राजनीतिमा प्रत्यक्ष प्रभाव पार्ने धेरै कार्य भए । नेपालको सामाजिक, आर्थिक, राजनैतिक तथा विदेश सम्बन्धमा अनेकौँ परिवर्तन र युगान्तकारी घटना भए ।
आफ्नै काका रणोद्वीप सिंहको हत्याका मुख्य योजनाकार चन्द्रशमशेर वीरशमशेरको राज्यकालमा कमान्डर इन चिफ खड्गशमशेरलाई रोलकट्टी गरी डाँडो कटाउने कार्यमा सहयोगी बने । केवल ११४ दिन मात्र श्री ३ महाराज बनेका देवशमशेरलाई पदच्युत गरी आफू श्री ३ भएका चन्द्रशमशेरको समय राणा शासनकालको चरमोत्कर्षको समय थियो भने राणाशाही पतनको बिजारोपण गर्ने पनि उनै भए । उनको राज्यकालमा स्तुतिगान गरी मानसम्मान तथा दौलत कमाउने धेरै भए । दरबारियाहरूले उनको स्तुतिगानमा काव्य नै रचना गरे । स्वयं चन्द्रशमशेरले नै टाइम्स पत्रिकाका पत्रकार पर्सिबल ल्यान्डनलाई नेपाल बोलाई राष्ट्रिय ढुकुटीबाट खर्च गरी आवश्यक सामग्रीसमेत जुटाई एक विशद् ग्रन्थ नेपाल तयार गर्न लगाए । यो सन् १९२८ मा प्रकाशित भएको थियो । यो पुस्तक तत्कालीन नेपाल बुझ्न ज्यादै सहयोगी भएको छ । चन्द्रशमशेरको स्तुतिगान गरी एसियाकै सर्वश्रेष्ठ राजनीतिज्ञ, समाज सुधारक, नेपाललाई नयाँ युगमा प्रवेश गराउने सुयोग्य शासक जस्ता अनेकौँ विशेषण, विभूषण र अलङ्कार प्रयोग गरेको पाइन्छ ।
लामो समयसम्म शासन गर्ने चन्द्रशमशेरले राष्ट्रिय ढिकुटीलाई आफ्नै निजी सम्झिए । उनले जति धनसम्पत्ति वा दौलत, जग्गाजमिन कसैले जोड्न सकेनन् । त्यसैबेला आफ्ना सात छोरालाई हीरासुन जस्ता बहुमूल्य जवारत, जग्गाजमिनको अलावा सात सात करोड रुपियाँ पैसा नै अंश दिएका थिए । धीरशमशेरकै सन्तानलाई ए, बी र सी क्लासमा वर्गीकरण गरी द्वन्द्वको कहिल्यै नपुरिने खाडल निर्माण उनैले गरेका थिए । यिनै राणाहरूको आपसी सङ्घर्षकै कारण १९९० सालको काण्ड भयो, जसले २००७ साल निम्त्यायो । राणाशाही पतन गराउने बिजारोपण गर्ने व्यक्ति पनि यस अर्थमा फिस्टे महाराज नै भए । अंग्रेजलाई प्रसन्न बनाउने कार्य गरी भोटसँगको सम्बन्धलाई बेवास्ता गरी राष्ट्रिय स्वार्थलाई आघात पारेको बात पनि उनलाई लागेको छ । नेपालमा राजनैतिक जागरण हुन नदिने, आध्यात्मिक चेतनासमेत गराउन नदिने जस्ता उनका प्रपञ्चको निन्दा हुने गरेको छ । २००७ सालपछि त राणा शासनलाई गाली गर्नेहरूले नै राष्ट्रभक्त देखिने परिपाटीले गर्दा राणाहरूको समर्थनमा कसैले चँुसम्म गरेनन् । अरूको त कुरा छाडौँ स्वयं रोल काटिएका राणाहरू नै रोलवाला राणाहरूमाथि पुन: खनिए । राणा खानदानको यो द्वन्द्वको तुस हालसम्म पनि मेटिन सकेको छैन ।
संवत् २००७ पछिका शासकहरूले पनि राणाहरूको नराम्रो पक्षका बारेमा प्रकाश पार्न थाले । राणाहरूलाई गाली गरी राजालाई देवत्वकरण गर्ने कार्यले प्रश्रय पाउन थाल्यो । संवत् २०४६ को आन्दोलनपश्चात् भने यो शृङ्खलामा परिवर्तन भई तथ्यरूपमा केही खुल्ने वातावरण सिर्जना भयो । संवत् २००७ देखि २०४६ सम्म शासकीय प्रभावकै कारण राणा शासकहरूलाई अवमूल्यन गर्ने प्रशस्त प्रयासहरू भए । श्री ५ महेन्द्रले राष्ट्रिय विभूति घोषणा गर्दा कुनै राणा अटाएनन् यी विभूतिहरूको नाम हेर्दा राणा शासक जङ्गबहादुर र चन्द्रशमशेरहरू कोपभाजनमा परेको प्रस्ट छ । राणा शासन स्थापना हुने परिस्थिति सिर्जना गर्नेमा राजा एवं राजपरिवारकै हात बढी भएको इतिहास बिर्सनै हुँदैन । राणालाई गाली गरी राजालाई सुनपानी छर्कने कार्य पनि स्तुतिगानकै एक अध्याय हो ।
चन्द्रशमशेरले गरेका सबै कार्य मुलुकका लागि अहितकर मात्र थिएनन् । उनका धेरै कार्यहरू प्रशंसनीय पनि छन् । उनको राज्यकालमा नेपालमा पहिलोपटक विभिन्न कार्य परियोजनाहरू सञ्चालनमा आए । तिनको संक्षेपमा चर्चा निम्नानुसार गर्न सकिन्छ :
क) त्रिचन्द्र कलेजको स्थापना गरे ।
ख) गोर्खा भाषा प्रकाशनी समितिको स्थापना गरे ।
ग) आयुर्वेद अध्ययनका लागि हिन्दुस्थानमा छात्रवृत्ति र जापानमा नेपाली विद्यार्थीलाई प्राविधिक विषय अध्ययन गराउन पठाउने व्यवस्थाको प्रारम्भ गरे ।
घ) सतीप्रथा तथा दासप्रथा नेपालबाट अन्त्य गरी सामाजिक कुरीति र अमानवीय प्रथा हटाउने सराहनीय कार्य चन्द्रशमशेरकै थियो । दासप्रथा उन्मूलन भएको घोषणा गर्दा उनले गरेको भाषण आजसम्मकै शासकले गरेको लामो भाषण थियो भन्ने गरिन्छ ।
ङ) रक्सौलदेखि अमलेखगञ्जसम्म रेलसेवा, फर्पिङबाट जलविद्युत् उत्पादन, सप्तरीमा चन्द्रनहरको निर्माण, वीरगञ्जदेखि काठमाडौँसम्म टेलिफोन सेवा, नेपाली हुलाक टिकट टाँसी विदेशमा पत्र पठाउने व्यवस्था प्रारम्भ, सैनिक अस्पतालको स्थापना जस्ता कार्य पनि चन्द्रशमशेरले नै गराएका थिए ।
च) उनैले सिंहदरबार निर्माण गराए । जसमा १२०० भन्दा बढी कोठा थिए । यसले त्यसबेलादेखि हालसम्म पनि मुलुकको प्रशासनिक केन्द्रको भूमिका निर्वाह गरेको छ । यो नेपालकै पहिलो ठूलो भवन थियो र आजसम्म पनि यो दोस्रो भएको छैन ।
छ) सुदी/बदी लेख्ने तत्कालीन प्रचलनलाई विस्थापित गरी उनले नै गते साल लेख्ने प्रचलन स्थापित गराए भने गोरखा सरकार भनिने गरिएकोमा नेपाल सरकार भन्ने परिपाटी पनि उनैले बसाएका थिए ।
ज) चन्द्रशमशेरकै राज्यकालमा हनुमान ढोकाबाट भन्सार, टक्सार, इटा चपली र कोटलिङ गरी ४ अदालत डिल्लीबजारमा स्थानान्तरण गरियो । जसको कारण आजसम्म पनि चारखाल अड्डा भन्ने गरिन्छ । बिन्तीपत्र, निक्सारी अड्डा, खड्ग निशाना अड्डा, खानी अड्डा खोल्ने श्रेय पनि चन्द्रशमशेरलाई नै जान्छ ।
झ) चन्द्रशमशेरकै पालामा नेपालमा जापानी पदयात्री इकाई कावागुची नेपाल आएका थिए । वास्तवमा नेपालको विषयमा जापानमा परिचित गराउने पहिलो जापानी पनि उनै थिए ।ञ) नेपालको कूटनीतिक इतिहासमा चन्द्रशमशेरको आफ्नै विशिष्ट स्थान छ । सन् १८१६ को सुगौली सन्धिबाट नेपालको स्वतन्त्र अस्तित्वमा लागेको कालो बादल सन् १९२३ को अङ्ग्रेजसँगको सन्धिले हटायो । अङ्ग्रेज सरकारले नेपाललाई स्वतन्त्र, सार्वभौम मुलुक वा राज्यको हैसियतलाई विधिवत स्वीकारी अङ्ग्रेज–भोट विवाद सन् १९०३–०४ र भोट–चीन सङ्घर्ष पनि उनै फिस्टे महाराजको निर्देशनमा नेपाली वकिलले मध्यस्थता गरी समाधान गराएका थिए । अन्तर्राष्ट्रिय विवादमा नेपालले मध्यस्तता गरेको यी नै पहिलो र दोस्रो घटना थिए ।
ट) नेपाल र फ्रान्स बीच दौत्य सम्बन्ध उनैको पालामा कायम भएको थियो भने बेलायती नरेश जर्ज पञ्चमले नेपालको भ्रमण उनकै शासनकालमा गरेका थिए । यो नै नेपालमा भएको पहिलो विदेशी राष्ट्रप्रमुखको भ्रमण पनि थियो ।
उल्लिखित घटनाहरू चन्द्रशमशेरको राज्यकालमा पहिलोपटक भएका केही प्रतिनिधि घटना मात्र हुन् । उनको राज्यकालमा भएका सुधारात्मक कार्यको विश्लेषण धेरैले गरेका छन् । यिनै फिस्टे महाराजको राज्यकालमा भएका सबै घटनाको वस्तुनिष्ठ मूल्याङ्कन गरी उनको गुण दोषका आधारमा न्याय गरिनुपर्ने आजको ऐतिहासिक आवश्यकता हो । हिजो भएका राम्रा कार्यको स्मरण गरौँ । नराम्रा कार्यहरूलाई उधिन्दा द्वन्द्व सिर्जना हुन सक्छ, भइरहेको पनि छ । यसमा सचेत हुनैपर्छ ।
संक्षेपमा भन्ने हो भने चन्द्रशमशेरले नराम्राभन्दा राम्रा काम नै धेरै गरेका थिए तर राणा भएकै कारणले शासकीय प्रभावमा पनि उनको शासनकालपछि उनीमाथि अवमूल्यन गरियो । राष्ट्रिय विभूतिमा सूचीकृत व्यक्तिहरू हेर्दा चन्द्रशमशेर २० को १९ पनि देखिँदैनन् । त्यसैले हिजोलाई राजनीतिक दृष्टिले हेर्दा इतिहासको मर्म र मान्यतालाई आघात पर्छ भन्ने हेक्का राख्नै पर्दछ । राजनीतिज्ञ शासकहरूले उचित सम्मान नगरे पनि इतिहासमा चन्द्रशमशेर सम्मानित छन्, र भइरहनेछन् । आजको विकसित राजनीतिले त झन् उनलाई योग्य प्रधानमन्त्री साबित गर्ने कार्य गरेको छ ।



















