नेपाल-भोट व्यापार : नुन, ऊन र सुन

नेपाल र भोटको सम्बन्ध ज्यादै प्राचीन छ। राजनीतिक दृष्टिले सार्वभौम मुलुकको पहिचान कायम हुनुपूर्व नै भौगोलिक निकटता र समान आर्थिक-सामाजिक परिवेशका कारण दुवै देशका जनताहरूबीच सम्पर्क र सौहार्द सम्बन्ध थियो। हिमालय पर्वत वारिपारिका बासिन्दाबीच एकअर्काको आवश्यकतापूर्तिका लागि प्रारम्भ भएको सम्पर्कले कालान्तरमा राजनीतिक सम्बन्ध स्थापित भयो। राजनीतिक सम्बन्ध भएपछि अन्य विविध सम्पर्क हुँदै जाने हिजो र आजको क्रम हेर्दा हिजो जनताको सम्पर्ककै कारण नेपाल र भोटको नाता गाँसिएको तथ्य रोचक देखिन्छ। नेपाल-भोट सम्बन्धमा ऊन, नुन र सुनले निर्वाह गरेको भूमिका तथा हिजोआज पनि सुनले देखाएको करामतका विषयमा केही मधुरो प्रसङ्ग यहाँ चर्चा गरिएको छ।

नेपाल र भोटबीच खाद्यान्न र नुनको वस्तु विनिमय (यी दुवै वस्तुबीच माइत लाउने)बाट व्यापारिक कारोबार प्रारम्भ भएको थियो। भोटमा खेतीयोग्य जमिनको अभाव थियो भने नेपालमा नुनको उत्पादन शून्यप्रायः थियो। हुन त मुस्ताङको नर्सिङ खोलामा नुन उत्पादन कार्य प्रारम्भ भए तापनि त्यो न्यून उत्पादनबाट नेपालको माग पूरा हुन सम्भव थिएन। तसर्थ विनिमयबाट सुरु भएको व्यापारिक सम्बन्धले नेपाल-भोटबीच धेरै तीतामीठा घटनाहरू घट्न गए। नुन र खाद्यान्नको विनिमय व्यापारले हिजोसम्म निरन्तरता पाएको थियो। नेपाल-भोट व्यापारमा रुपैयाँ पैसाको बाहुल्य हुँदै आए तापनि नुन र खाद्यान्न व्यापारमा भने पुरातन व्यवस्था नै कायम हुँदै आयो। नेपालमा हुने नुनको आपूर्तिको ९० प्रतिशत यही वस्तु विनिमयको आधारमा पूर्ति हुने गरेको थियो। नुन र खाद्यान्नको भाउ आपसी सम्झौताद्वारा तय गरिन्थ्यो भने सामान्यतया एक माना चामल बराबर दुई माना नुन हुने गर्दथ्यो। यी वस्तुको माग र उपलब्धताको आधारमा भाउ फरक पनि पर्न सक्थ्यो। यी वस्तुको विनिमय प्रायः सीमा नाकाहरूमा हुन्थ्यो। नेपाल भोट सीमाका प्रायः सबै नाकामा यी वस्तुहरूको विनिमय हुन्थ्यो तर धेरै ठूलो व्यापार भने कुती, केरुङ, कोरोला, ओलाङचुङ, टिंकर जस्ता नाकाबाट हुने गरेको देखिन्छ। काठमाडौँ उपत्यकामा भने कुतीबाट आपूर्ति हुन्थ्यो। मुस्ताङको सीमानापारि नैथापिला भन्ने स्थानमा नुनकै ठूलो खानी थियो। विक्रम संवत् १९८४ को आठ महिनामा ३० हजार पाथी (३७,५९,९२० किलोग्राम) नुन कुती क्षेत्रबाट भित्रिएको थियो। नुन व्यापार सम्बन्धमा बेलाबेलामा दुवै मुलुकबीच कचिङ्गल उठ्ने गरेका थिए। नेपालबाट पठाइएको खाद्यान्नमा मिसावट हुने, शुद्ध नहुने सिकायत भोटबाट हुन्थ्यो भने नेपाली व्यापारीहरु भोटबाट कमसल नुन पठाउने र विनिमय दरमा पनि छलफल नै नगरी थपघट गर्नेगरेको आरोप प्रत्यारोपका उदाहरण पाइन्छन्। नेपाल-भोट युद्ध १७८८ र १८५४ मा नुन काण्ड पनि युद्धको मौलिक कारणमध्ये एक हुन गएको थियो। श्री ३ वीरशमशेरको पालामा त नुन काण्ड चर्केर युद्धकै स्थिति देखा परेको थियो। यस्ता कचिङ्गल र सिकायतहरू दुवै देशका स्थानीय अधिकारीहरूले निरूपण गर्ने चलन थियो। नुन र खाद्यान्न व्यापार बीचमा दुवै देशका अधिकारीहरूले आचारसहिता पनि तय गरेका थिए। यसअनुसार भोटका व्यापारीहरुले नेपाल सरहदबाहेक नुन बिक्री वा सटही गर्न नपाउने र नेपाली खाद्यान्न भोटकै व्यापारीसँग मात्र विनिमय वा बिक्री गर्न पाउने व्यवस्था थियो। तर यो व्यवस्थाको उल्लङ्घन भएको आरोप एकले अर्कोलाई लगाउने गरेको दृष्टान्त पाइन्छ। २०औँ शताब्दीको सुरुदेखि त नुन काण्डले उग्र रूप लिन थाल्यो। भोटबाट नुन नआउने र नेपालबाट खाद्यान्न नजाने कारणबाट दुवै मुलुकको सम्बन्धमा नै तनाव सिर्जना हुन पुग्यो। यस खटपटलाई स्थानीय अधिकारीहरूले मिलाऊन नसक्दा दुवै मुलुकका सरकार प्रमुखहरूबाटै लामो लेखापढी भई मिलाउने प्रयास भएको थियो। यसअनुसार चामल र नुनको विनिमयको दर र स्तर तोकियो, भने व्यापार व्यवस्थित गर्ने नियमहरू पनि तय भए।

नुन व्यापारको विवाद भारतबाट सामुद्रिक नुनको सहज आपूर्ति हुन थालेपछि हराउँदै गयो तर पनि नेपालीहरूमा भोटे नुनप्रतिको मोह कम भएको थिएन। सीमामा र पहाडी क्षेत्रमा हिमाली भेगका बासिन्दा नुनसँग खाद्यान्न माइत लाऊन झर्ने गरेका थिए। तर, यो चलन पनि हराएर गयो। भोटे नुनले नेपालीलाई लगाएको गुण पनि अब इतिहासको कुरा हुन गयो।

नेपाल भोट व्यापारमा ऊनले नुन जत्तिकै महत्त्व राखेको पाइन्छ। नेपालमा बनेका ऊनका सामानहरूको माग हिन्दुस्तानको बजारमा उच्च भएको कुरा कौटिल्यको अर्थशास्त्रमा उल्लेख छ। आठ टुक्रा जोडेर बनाइएको भ्रिङ्गिसी र आपसरका नामक कालो कम्बल अति उत्तम ठहरिएको ईसापूर्व चौथो शताब्दीको उक्त ग्रन्थमा वर्णन गरिएको पाइन्छ। यस्ता कम्मलको भारतीय बजारमा उच्च माग भएको कुरा पनि पुस्तकमा परेको छ। यस्तै मूल सर्वस्तीवाद विनयन नामक जैन ग्रन्थमा ऊन र ऊनबाट बनेको सामान किन्न भारतीय व्यापारीहरू नेपाल आउने बोली परेको छ। नेपालका उत्पादित ऊनबाट मात्र त्यत्रो माग पूरा हुन सम्भव नभएकाले भोटबाट ऊन नेपाल आउने अनुमान हुन्छ। यसैबाट प्रारम्भ हुन्छ, नेपालीहरूको भोटसँग ऊन व्यापारको सम्बन्ध। यो ऊन व्यापार फस्टाउँदै गएको र यसबाट नेपाल र नेपालीले उल्लेख्य आर्थिक फाइदा पाएका थिए। सातौँ शताब्दीमा नेपाली राजकुमारीको भोटका नरेश स्रङ चङ गम्पोसँग विवाह भएपश्चात् नेपाल-भोट सम्बन्ध विस्तार हुँदै जाँदा नेपालको भोटसँगको व्यापार फस्टाएको थियो। भोटबाट ऊनलाई हिन्दुस्तान पठाउने मध्यस्थ व्यापार खुब चम्केको थियो। नेपालीबाहेक काश्मिरी मुसलमान पनि ऊन व्यापारमा संलग्न थिए। यो व्यापार मध्यकालमा पनि खुबै चलेको थियो। यसैकारण कर्णालीको सिन्जा (खस राज्य) समृद्ध हुन पुग्यो। यस समृद्धिमा ऊनको व्यापारले पनि काम गरेको अनुमान गर्न सकिन्छ।

नेपाली व्यापारीहरूले ऊनको व्यापारका लागि हिन्दुस्तानमा कलकत्ता जस्ता सहरमा आफ्नै कोठी खोलेका थिए। भोटका गलैँचाहरु घरमा राख्ने हुनेखानेको सोख बनेको थियो। राणाकालमा त ल्हासास्थित नेपालका आवासीय दूत (वकिल)हरुले राणा श्री ३ तथा अन्य रोलवाला राणा एवं उच्च प्रशासनिक कर्मचारीहरुलाई भोटबाट गलैँचा उपहार पठाउने गरेका दृष्टान्त पाइन्छ। यही ऊनको व्यापारमा पनि आफ्नो वर्चस्व राख्ने उद्देश्यले अङ्ग्रेजको भारतस्थित इस्ट इन्डिया कम्पनी र पछि ब्रिटिस भारतले पनि भोटको बजारमा पहुँच पुर्‍याउन अनेकौं प्रयास गरेको थियो। नेपालमार्फत भोट पस्ने अङ्ग्रेजको उच्च चाहना थियो कर्क प्याट्रिक, अब्दुल कादिर जस्ता अङ्ग्रेजका दूतहरुले त झन् भोटबाट हुने व्यापारको गुन्जाइस तथा नेपालले गरेको उन्नति बढाइचढाइ बताएर उक्साएका थिए। तर, भोट र नेपाल दुवैले अङ्ग्रेजको चाहना पूरा गर्न कुनै उत्सुकता नदेखाउँदा अंग्रेजले अनेक प्रपञ्च रच्न थालेका थिए। सन् १८१६ को सुगौली सन्धिबाट नेपाल नचाहँदा नचाहँदै पनि अङ्ग्रेजसँग नजिक हुन बाध्य भयो तर भोटको व्यापारमा भने नेपालमार्फत पहुँच विस्तार गर्न सकेन। ऊनको व्यापारमा नेपालको वर्चस्व कायमै रह्यो। भोटको ऊनको माग युरोपको बजारमा पनि निकै थियो। यसको प्रमुख कारण यहाँको ऊनको सामान सस्तो थियो।

अङ्ग्रेजले चीनमार्फत भोट प्रवेश गर्न सन् १८९० र १८९३ मा दुई सम्झौता गर्यो। यस सम्झौताबाट अङ्ग्रेजले भोट पस्ने अनुकूल स्थिति बनायो तर भोटले दुवै सम्झौतामा आफूलाई अन्याय भएको घोषणा गर्यो। उता चीन पनि आफ्नै आन्तरिक राजनीतिको दलदलमा फसेको हुँदा भोटलाई कज्याउन सकेन। यस परिस्थितिमा अंग्रेजले सन्धिपालना गराउन सन् १९०३ मा योङ हसबैन्डको नेतृत्वमा सैनिक परिचालन नै गर्यो। त्यतिबेला भोटले कतैबाट सहयोग पाएन र सन् १९०४ को ल्हासा सम्झौतामा हस्ताक्षर गर्न बाध्य भयो। यस सम्झौताले छुम्बी उपत्यकाबाट फरीको बाटो हुँदै भोट पुग्ने मार्ग खुल्ला भयो। कलकत्ताबाट काठमाडौँ हुँदै ल्हासा पुग्न करिब ४० दिन लाग्दथ्यो भने कलकत्ताबाट छुम्बी हुँदै ल्हासा २० दिनमा नै पुग्न सकिन्थ्यो। यसकारण अब भारत-भोटको व्यापारमा काठमाडौँको खास भूमिका रहेन। यो बाटो खुलेपछि नेपाल र नेपालीहरूका लागि हिजोजस्तो भोट व्यापार अनुकूल भएन। भोटमा नेपाली व्यापारीहरूले कुनै कर महसुल तिर्नु नपर्ने थियो तर नयाँ खुलेको बाटोबाट व्यापार गर्न नेपालीलाई प्रतिबन्ध लाग्यो भने व्यापार गर्न जाँदा पनि महसुल तिर्नुपर्ने भयो। नेपालले सन् १८५६ को सन्धि अनुसार नै नेपाली व्यापारीलाई व्यवहार हुनुपर्ने अडान लियो। दुवै सरकारबीच लामो लेखापढी भयो। यस विवादको समयमा नेपालीहरूको ऊनको व्यापारमा ठूलो धक्का पर्यो । ऊन गोदाममै थन्कियो। अन्य व्यापारीले फाइदा लिए कालान्तरमा नेपालीले उक्त नाकाबाट व्यापार गर्न पाउने त भए तर महसुल चाहिँ तिर्नै पर्ने भयो। केही समय ऊनको व्यापारमा व्यवधान खडा भए तापनि नेपालीको ऊन व्यापारमा हात धुनुपर्ने अवस्था चाहिँ सिर्जना भएन। नेपाली व्यापारीहरूले कालिङ्पोङमा कोठी खोली सोही ठाउँबाट भोटमा व्यापार गर्न थाले। काठमाडौँको स्थान अब कालिङ्पोङले लियो। यसैकारण काठमाडौँका धेरै नेपाली व्यापारीहरूको अब कालिङ्पोङमा ठूलो बस्ती बस्यो। नेपालको आन्तरिक खपतका लागि भने भोटबाट नेपालमा ऊन र ऊनबाट बनेका सामान आउँदै गरे। छुम्बी घाँटीको मार्गबाट अरु वस्तुको व्यापारमाझैँ ऊनको व्यापारबाट नेपालीले प्रशस्त आम्दामी गर्न सके। सन् १९४९ मा भोटलाई चीनले कब्जा गरेपछि पनि नेपाली व्यापारीहरूका लागि दुःखका दिन सुरु भए नेपाल छिर्ने नाकाहरू व्यापारिक प्रयोजनलाई बन्द भए। सन् १९६२ को चीन-भारत युद्धले छुम्बी घाँटीको मार्ग बन्द भयो। नेपाली व्यापारीहरू कुम्लोकुटुरो बोकी कालिङ्पोङबाट काठमाडौँ आए। ऊनको व्यापारको कुरा पनि एकादेशको कथा हुन पुग्यो। नेपालीहरूको भोटको ऊन व्यापारमा हात नभए तापनि ऊनप्रतिको मोह भने उस्तै नै छ।

नेपाल-भोट व्यापारमा ऊन र नुनभन्दा सुनको विशेष स्थान थियो। भोटमा प्रशस्त सुन पाइन्छ भन्ने नेपाली मानसिकता थियो। त्यसैले ल्हासामा सुन छ कान मेरो बुच्चै भन्ने उखान नै प्रचलनमा आएको देखिन्छ। यस उखानले भोटमा प्रशस्त सुन छ भन्ने संकेत गर्दछ। प्राचीन कालदेखि नै भोटको सुन सबै पक्षको आकर्षण बनेको थियो। महाभारतमा भीमसेन युद्धका लागि सुन खोज्न भोट गएको उल्लेख पाइन्छ। यसैगरी इतिहास लेखन विधाका जननी मानिने हेरोडोटेसले पनि हिमालय क्षेत्रका बासिन्दा सुन खोज्न भोट जाने गरेको टिप्पणी गरेका छन्। पश्चिमाहरूमा पनि भोटमा प्रशस्त सुन पाइने कुरामा विश्वास राख्दथे। प्राचीन कालमा सिक्काको प्रचलन नहुँदा सबैतिरका व्यापारीहरू सुनचाँदीमा नै कारोबार गर्न रुचाउँथे। सिक्का प्रचलनमा आएपछि पनि देशदेशावरका व्यापारीहरूमा सुनचाँदीकै कारोबार बढी थियो।

भोटमा सुन खानी भएको र बौद्ध धर्मालम्बीहरूले दलाई लामा, पिन्छेन लामा जस्ता अवतारी लामाहरूलाई र मठमन्दिरमा सुन नै चढाउँथे। भोट भ्रमण गर्ने चीन, मंगोलिया एवं भारतका बौद्ध भिक्षु र अन्य घुमन्तेहरु पनि सुनमै कारोबार गर्ने हुँदा ल्हासाको सुनले प्रसिद्धि पाएको थियो। भोटका शासक स्रङ चङ गम्पोले सातौं शताब्दीमा नेपाली राजकुमारी भृकुटीसँग विवाहको प्रस्ताव पठाउने मन्त्री गर तोमसेन मार्फत लिच्छवि राजा अंशुवर्मालाई उपहार पठाउँदा सुनका सामानहरू पनि थिए। भोटमा बौद्ध प्रचारप्रसारमा जाने नेपाली र भारतीय बौद्धगुरु विद्वान्हरूले पनि दक्षिणामा प्राप्त गरेको सुन ल्याउने कुरा परेको छ। कुनै नेपाली बौद्ध पण्डित (ग्रेट मर्सी)ले भोटबाट १००० आउन्स(२८०.३५ किलो) सुन नै उपहार पाएका कुरा चार्ल्स बेलले उल्लेख गरेका छन्। चिनियाँ यात्रीले लिच्छवि राजाले महत्त्वरत्न जडिएका गहना लगाएका उल्लेख गरेका छन्।

सातौं शताब्दीदेखि नै नेपाल-भोट व्यापार फस्टाएको थियो। भोटका सामान हिन्दुस्तान पुर्‍याउने र उताका वस्तु भोट पुर्‍याउने मध्यस्थ व्यापारी नेपालीहरू नै भए। सातौंदेखि १९ शताब्दीसम्म उत्तर र दक्षिणको व्यापारिक राजधानी नै काठमाडौँ हुन पुगेको तथ्य स्मरणीय छ। यी व्यापारमा सुनचाँदीकै चलनचल्ती थियो।

सत्रौँ शताब्दीमा प्रताप मल्लको शासनकालमा काजी भीम मल्लले भोटसँग गरेको सन्धिबाट धेरै एकतर्फी फाइदा लिन नेपाल सफल भएको थियो। यसै सन्धिमा भोटमा नेपालले सिक्का पठाउने र सो सिक्का बराबरको भोटले सुनचाँदी दिने व्यवस्था सुरु भयो। कान्तिपुर, ललितपुर र भक्तपुरका मल्ल शासकले भोटमा चाँदीको सिक्का पठाई सो बराबरको सुनचाँदी ल्याउने गरेका थिए। भोटसँग व्यापारकै कारण दोलखाका शासकले चाँदीको सिक्काको प्रचलन सुरु गरे। यो मुद्रा व्यापारमा उपत्यकाका मल्ल राजाहरूले उल्लेख्य आर्थिक लाभ गरेकै कारण यी तीनै सहरमा ठूला ठूला दरबार तथा मठमन्दिरहरू बन्न गए। अन्तिम मल्ल शासकहरूले शुद्ध टक नपठाई मिसावटी टक पठाउने गर्दा कालान्तरमा समस्या खडा हुन गयो। बढी फाइदा लिन खोज्ने प्रवृत्ति कालन्तरमा प्रत्युत्पादक हुन गयो। पृथ्वीनारायण शाहले नुवाकोट विजय गर्नेबित्तिकै शुद्ध चाँदीको सिक्का पठाई सुन ल्याउन निकै ठूलो कसरत गरे। यो चाँजोपाँजो मिलाउन जमदग्नि उपाध्याय र हरिदेव पण्डितलाई दूत बनाई वार्ता गर्न भोट नै पठाए तर खोटा टकको विवादका कारण यस वार्तामा उनी सफल भएनन्। प्रतापसिंह शाहको पालामा भएको सन् १७७५ को सन्धिमा सो सन्धिका सर्त उल्लङ्घन गर्ने पक्षले २५ धार्नी सुन तिर्नुपर्ने प्रावधान राखिएको थियो।

खोटा टक र अन्य विविध कारणबाट सन् १७८८ मा नेपाल-भोटबीच युद्ध छेडियो। नेपाल-भोट युद्ध सुरु हुन गई सन् १७८९ को सन्धि भयो। सो सन्धिअनुसार भोटले नेपाललाई वार्षिक ५० हजार सिर्तो तिर्नुपर्ने व्यवस्था भयो। सोहीअनुसार पहिलो सालको रकम बराबरको सुनचाँदी भोटले नेपाललाई बुझायो। सन्धिको पालनाकै विषयलाई लिएर युद्धको पुनरावृत्ति हुँदा पेसी लेम्पो मठबाट असंख्य मात्रामा नेपालले सुनचाँदी लुटेर ल्यायो । उक्त लुटपाटमा के कति सुन जस्ता बहुमूल्य रत्न थिए लेखाजोखा नै हुन सकेको छैन। पछि नेपालले उक्त लुटेको सम्पत्ति फर्कायो तर कति लुटेको थियो र कति फर्कायो ? यसको हिसाब किताब पनि कहिँ कतै पारदर्शी भेटिँदैन। उक्त मठमा असंख्य सुन भएकै कारणले नेपाली फौजले धावा बोलेको थियो। सन् १७९२ को नेपाल-चीन सम्झौताले सिक्काको विवाद समाप्त गर्यो र यस विषयमा नेपालले कुरा नै उठाउन नपाउने भयो। तर, बन्दव्यापार भने सुचारु हुँदै गयो। भीमसेन थापाले पूजाआजाको नाममा भोटमा नेपाली सिक्का पठाई सो बराबरको सुन ल्याएका थिए भन्ने चित्तरञ्जन नेपालीको भनाइ रहेको छ।

नेपाल-भोट बीच भएको तेस्रो युद्धपश्चात् भएको सन् १८५६ को थापाथली सन्धिबाट नेपाल र नेपालीले एकतर्फी रूपमा धेरै सुविधा पाएका थिए। नेपालका आवासीय दूत ल्हासामा रहने र नेपाली व्यापारीहरूलाई ल्हासामा व्यापार गर्दा कुनै किसिमको कर नलाग्ने जस्ता प्रावधानले गर्दा नेपालमा सहज तरिकाले सुन आउन थाल्यो। त्यसबेला भोट जाने चाहना हाल खाडी जानेको लर्को जस्तै चर्को थियो। देवकोटाको मुनामदनले पनि उक्त विषय चित्रण गरेको छ। नेपाली वकिलहरू प्रायः सबैले भोटबाट उल्लेख्य मात्रामा सुन ल्याएका थिए। राणा शासकहरूले स्वयं अफिम जस्ता विनिसिद्ध वस्तुको व्यापारमा सरिक भई सुन ल्याउन लालायित भएका उदाहरण पाइन्छ। नेपालले चीन बादसाह र बेलायतका नरेशलाई उपहार पठाउँदा नेपाली सुनका सिक्का (असर्फी)समेत समावेश भएका हुन्थे। सन् १९५६ सम्म नेपालमा सुनको आपूर्ति गर्नेमा भोट नै पहिलो मुलुक थियो। भोटमा चीनको पकड मजबुत भएपछि र सन् १९५६ को नेपाल चीन सन्धिबाट नेपालको भोटमा रहेको नेपाली व्यापारीहरूको वर्चस्व समाप्त नै भयो।

नेपालमा हालसम्म पनि भोट (चीनको स्वशासित क्षेत्र तिब्बत)बाट नेपालमा सुन मूलबाटो र चोरबाटो दुवै मार्गबाट आउने गरेको छ। भोटका विभिन्न नाकाबाट सुन ल्याउने तस्करको गिरोह सक्रिय रहेको छापामा आइरहेको छ। सुन तस्करीका अनेक काण्ड भएका छन्। यसबाट पनि सुनले नेपालमा ल्याएको करामत बुझ्न सकिन्छ। यो सुनको अवैध कारोबारमा ठूलाठालु पनि लागेका छन् भन्ने चर्चा पनि यदाकदा हुने गरेको छ। जड कुरा के हो भन्ने कुरा भविष्यमा पत्ता लाग्ला । जेहोस् भोटे नुन र ऊन नआए पनि सुन भने उतैबाट आउने गरेको छ। सुनले गरेको गुण र बैगुन चाहिँ फेरि पनि भविष्यले नै बताउला। अस्तु।