देशको दक्षिणी भागमा इरानको पछिल्लो क्षेप्यास्त्र आक्रमणमा तीन जनाको मृत्यु भएको इजरायलको अग्नि तथा उद्धार सेवाले बताएको छ । ‘हामीले प्रभावित क्षेत्रबाट बाक्लो धुवाँ उडिरहेको देख्यौँ र जब हामी नजिक पुग्यौँ, हामीले त्यहाँ धेरै भवनहरूमा क्षति पुगेको पायौँ ।’ इजरायलको आपत्कालीन सेवा म्यागेन डेभिड एडोमले घटनास्थलको विवरण दिँदै भन्यो । आफुहरूले एउटा भवनको गेटमा एक बेहोस मानिस सुतिरहेको देखेको अनि भवनभित्र खोजी गर्दा एक पुरुष र एक महिला बेहोस अवस्थामा फेला परेको भनिएको छ ।
घाइतेहरूको लागि एक चिकित्सा केन्द्र स्थापना गरेका र भवनहरूबाट बाहिर निस्कने मानिसहरूको जाँच गरिरहेको पनि बताइएको छ । ‘इरानबाट क्षेप्यास्त्र प्रहार भएको कारण इजरायलीहरू आश्रयको लागि दौडिरहेका छन् । पछिल्लो एक घण्टामा यो तेस्रो पटक हो कि उनीहरूले अन्यत्र शरण लिनु परेको छ ।’ इजरायली रक्षा बल (आईडीएफ)ले आफ्नो एक्स पोस्टमा भनेको छ ।
आफूहरूले इरानी क्षेप्यास्त्रलाई रोकिरहेको तर इरानको क्षेप्यास्त्र आक्रमण नरोकिएको आईडीएफको भनाई छ । अमेरिकी राष्ट्रपतिले मंगलबार इजरायल र इरानबिच युद्धविरामको घोषणा गरेका थिए । इजरायलले सैन्य कारबाही बन्द गर्छ भने, आफूहरूसँग कुनै पनि प्रकारको बदला लिने कुनै इरादा नभएको इरानकी विदेशमन्त्री सईद अब्बास अरघचीले भनेका थिए । इजरायलले अहिलेसम्म यसबारे कुनै प्रतिक्रिया दिएको छैन ।


















