केरुङमा फसेका नेपालीलाई उद्धार गर्न आग्रह

नेपाली कांग्रेसका नेता एवं रसुवाबाट निर्वाचित प्रतिनिधिसभा सदस्य मोहन आचार्यले केरुङमा फसेका नेपालीको चाँडो उद्धार गर्न परराष्ट्रमन्त्रीलाई आग्रह गरेको छ । सांसद आचार्यले आज परराष्ट्रमन्त्री डा आरजु राणा देउवालाई भेटेर रसुवागढीमा आएको बाढीका कारण केरुङमा फसेर बसेका नेपालीलाई चाँडो उद्धार गर्न आग्रह गरेको हो । रसुवागढी बाढीले निम्त्याएको समस्या समाधानका लागि कूटनीतिक पहल गरिदिनसमेत आफूले परराष्ट्रमन्त्रीको ध्यानाकर्षण गराएको उनले बताए ।

नेता आचार्यले भने, “केरुङमा रहेका नेपालीलाई नेपाल ल्याउन भइरहेको ढिलाइ, नेपाल–चीन जोड्ने अस्थायी पुल निर्माण, दुई देश जोड्ने मितेरी पुलको पुन:निर्माण, मौसम पूर्वानुमानसम्बन्धी सूचना आदानप्रदानलगायत विषयमा परराष्ट्रमन्त्रीको ध्यानाकर्षण गराएको छु ।” भेटमा परराष्ट्रमन्त्री राणाले यस विषयमा चिनियाँ पक्षसँग निरन्तर संवाद भइरहेको र छिटोभन्दा छिटो समस्या समाधान हुने बताउनुभएको उनले जानकारी दिए ।