श्री बौद्ध तामाङ कल्याण गुठीले यहि श्रावण २५ र २६ गते गाईजात्रा तथा रोपाइँजात्रा सहित विभिन्न कार्यक्रम गर्ने जनाएको छ । गुठीले साउन २२ गते आयोजना गरेको पत्रकार सम्मेलनमा गुठीका अध्यक्ष जयमंगल लामाले सो कुराको जानाकारी दिनुभएको हो । कार्यक्रममा व्यवस्थित बनाउन गाईजात्रा तथा रोपाइँजात्रा (घोनाई जात्रा) मूल समारोह समिति–२०८२ गठन गरिएको समेत उहाँले जानकारी दिनुभयो ।
कार्यक्रममा लाखे , रोपार , बाउसे , हाँस्यव्यङ्ग्य , घोडा , जोगी , झाँकी आदि प्रस्तुतिहरू गरिने पनि उहाँले जानाकारी दिनुभयो । कार्यक्रममा विद्यालयस्तरीय प्रस्तुतिहरू समेत समावेश गरिने छन् र उत्कृष्ट प्रस्तुतिलाई पुरस्कृत गरिने पनि उहाँले जानकारी दिनुभयो । गाईजात्रा तथा रोपाइँजात्रा शोक र मृत्यसँग सम्बन्धित पर्व भएको बताउदै लामाले नेपाल विविध धर्म र संस्कतिको संगमस्थल भएको बताए । ऐतिहासिक, धार्मिक एवं साँस्कृतिक नगरी बौद्धको रोपाइँ जात्रा त्यही विविध साँस्कतिक भित्रको पहिचान भएको बताउनुभयो । उहाँले रोपाइँ जात्रा अमूर्त साँस्कृतिक सम्पदा भएको र सँस्कृति राष्ट्रको गौरव भएको बताउनुभयो ।
अध्यक्ष जयमंगल लामाले गाईजात्रा तथा रोपाइँजात्रा पर्वलाई स्थानीय तामाङ भाषामा घोनाई भनिने र घोनाई पर्व मुख्य गरी जनैपूर्णिमादेखी प्रारम्भ भई गाईजात्रा हुँदै रोपाइँ जात्रामा समापन हुने पनि जानाकारी दिनुभयो । जनैपूर्णिमाको दिनलाई स्थानीय तामाङ भाषामा घोनाई इह्या भनिने र यस दिन विहानै मन्दिर, चैत्य, कुलदेवता र खेत–खेतमा क्वाटी र तीतेपाती चढाइन्छ र घर–घरमा क्वाँटी खाने चलन रहेको पनि उहाँले बताउनुभयो ।

साथै, उहाँले नेवारी भाषामा गाईजात्रालाई सापारु भनिने र विशेष गरी गाईजात्रा नेवारी समुदायले मनाउने साथै यो मृत्यु सँस्कारसँग सम्बन्धित पर्व भएको पनि बताउनुभयो ।
कान्तिपुरका मल्लकालीन राजा प्रताप मल्ल (सन् १६४१–१६७४) ले गाईजात्रा चलाएको भन्ने इतिहासलाई आधार मान्दा सोहौं र सत्रौं शताब्दीदेखि नै रोपाइँजात्रा मनाउन थालिएको पाईन्छ । राजा प्रताप मल्लको छोरा चक्रवतीन्द्र मल्लको कलिलै उमेरमा मृत्यु भएकोले पुत्र शोकबाट भावविह्वल आफूनी रानी अनन्तप्रियालाई सान्त्वना दिन प्रताप मल्लले यो जात्रा चलाउन थालेका किवदन्ती छ ।
बौद्धको सन्दर्भमा आफ्ना दिवंगत आफन्तजनको आत्माको शान्तिका लागि घर–घरबाट रोपार, बाउसे बनाई रोपाइँजात्रामा सहभागी गराउने चलन अधावधि चलेको पाइन्छ । जबसम्म व्यक्ति वा समुदायमा आफुनो संस्कृति आफैले वा आफूनो समुदायले जोगाउन पर्छ भन्ने चेतना आउँदैन तबसम्म चुनौतीहरू हाम्रा सामु आई नै रहन्छन् र हाम्रा पूर्खाले नासोको रूपमा सुम्पेका हाम्रो पहिचान बनेका अमुर्त साँस्कृतिक सम्पदाको संरक्षण एवम् सम्बद्र्धनमा हाम्रो ध्यान जानु आवश्यक छ ।


















