नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पार्टीभित्रका सानातिना असमझदारीलाई छाडेर आन्तरिक एकता बलियो बनाउन नेता-कार्यकर्तालाई आग्रह गरेका छन्। बुधबार प्रदेश तथा जिल्ला कमिटीका सचिवालय सदस्यलाई भर्चुअल सम्बोधन गर्दै ओलीले भने, ‘शत्रुका लात सहने, तर आफ्ना साथीका बात नसहने काम अब बन्द गरौं।’ उनले साझा सङ्कल्पका साथ पार्टीलाई एकढिक्का बनाएर अघि बढ्नुपर्ने बताए।
ओलीले एमालेभित्र समस्या नै छैन भनेर दाबी गर्नुभन्दा संगठनलाई थप व्यवस्थित, सक्रिय र प्रभावकारी बनाउनुपर्नेमा जोड दिए। विरोधीहरूले एमाले विभाजित हुने अपेक्षा गरे पनि विचार र संगठनका हिसाबले पार्टी एकताबद्ध रहेको उनको दाबी छ।
उनका अनुसार अहिले एमालेको प्राथमिकता लोकतान्त्रिक अधिकारको रक्षा र आगामी निर्वाचनको तयारी हुनुपर्छ। ओलीले आफूहरू ‘एउटा मोर्चामा मात्र हारेको’ भन्दै नेता-कार्यकर्तालाई आत्मविश्वासका साथ अघि बढ्न आग्रह गरे। ‘सत्य हाम्रै पक्षमा छ, त्यसैले आत्मविश्वासका साथ अघि बढ्नुपर्छ,’ ओलीले भने।


















