महाधिवेशनको तयारीमा देउवा समूह, निर्वाचन आयोगलाई पठायो पत्र

नेपाली कांग्रेसको देउवा समूहले १५ औँ महाधिवेशनको प्रक्रिया अघि बढाउँदै निर्वाचन आयोगलाई औपचारिक जानकारी गराएको छ। पूर्वसभापति शेरबहादुर देउवाले बुधबार सभापतिकै हैसियतमा आयोगका प्रमुख निर्वाचन आयुक्तलाई पत्र पठाउँदै महाधिवेशनसम्बन्धी जानकारी गराएका हुन्।

पत्रमा १४औँ महाधिवेशनबाट निर्वाचित कार्यसमितिको पदावधि र पार्टी विधानअनुसार १५औँ महाधिवेशन आयोजना गर्न लागिएको उल्लेख गरिएको छ। आयोगलाई पठाइएको पत्रमा पार्टीको आधिकारिकतासम्बन्धी मुद्दामा सर्वोच्च अदालतले पुनरवलोकनका लागि अनुमति दिएको विषय पनि समेटिएको देउवा समूहका एक नेताले बताएका छन्। महाधिवेशनबाट नयाँ केन्द्रीय कार्यसमिति निर्वाचित भएपछि त्यसको नामावली आयोगमा अद्यावधिक गराउने जानकारीसमेत पत्रमार्फत दिइएको छ।

देउवा समूहले बिहीबारदेखि वडा अधिवेशन सुरु गर्दैछ। कांग्रेसको केन्द्रीय महाधिवेशन भने २१ देखि २३ मंसिरसम्म गर्ने तयारी छ।