इम्बोस्ड नम्बर प्लेट नजोड्नेलाई तत्काल कारबाही र जरिवाना नहुने

 

 

यातायात व्यवस्था विभागले असोज १ गतेदेखि इम्बोस्ड नम्बर प्लेट नजोड्नेलाई कारबाही र जरिवाना नहुने प्रष्टीकरण दिएको छ।

मंगलबार महानिर्देशक राजिब पोखरेलले एक विज्ञप्तिमार्फत इम्बोस्ड नम्बर प्लेट नजोड्नेलाई तत्काल कारबाही र जरिवाना नहुने उल्लेख गरेका हुन्।

‘असोज १ गतेदेखि जडान नगरेको खण्डमा तुरून्त जरिवाना वा कारबाहीमा परिने भन्ने भ्रम समेत उत्पन्न भएको विषयमा तत्काललाई कुनै किसिमको दण्ड/जरिवाना नगरिने व्यहोरा समेत स्पष्ट पारिन्छ,’ विज्ञप्तिमा भनिएको छ।

सर्वसाधरणलाई आफू अनुकूल यातायात कार्यालयमा गएर इम्बोस्ड नम्बर प्लेट जडान गर्न पनि अनुरोध गरेको छ।

विभागले सरकारको डिजिटल नेपालको अवधारणलाई आत्मसात गरेर डिजिटलाइज प्रविधिको अवलम्बन गरेको बताएको छ।

 

इम्बोस्ड नम्बर प्लेटमा देवनागरी लिपीको प्रयोग गर्नुपर्ने भनेर सामाजिक सञ्जालमा माग भएका छन्।

त्यस विषयमा सर्वोच्चको संवैधानिक इजलासबाट सम्झौता अनुसार अंग्रेजी लिपी प्रयोग गर्न कुनै संवैधानिक र कानूनी त्रुटि नहुने भनेर २०७६ मंसिर २७ गते फैसला भएको पनि विभागले जनाएको छ। सबै रिटहरू बदर भएपछि २०८१ असोज ६ मा भएको सम्झौता अनुसार अंग्रेजी लिपीको प्रयोग गर्ने निर्णय भएको थियो।