११ असोज, काठमाडौं । अन्तरिम सरकारका शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री महावीर पुनले जेन-जी आन्दोलनका क्रममा घाइते भएकाहरूलाई ट्रमा सेन्टरमा पुगेर भेट गरेका छन् ।
शनिबार मन्त्री पुनले ट्रमा सेन्टरमा पुगेर घाइतेहरूको स्वास्थ्य अवस्थाबारे जानकारी लिएका हुन् । उनले स्वास्थ्य उपचार राम्रो रहेको पाएको र कसैले पनि स्वास्थ्य उपचारबारे गुनासो नगरेको जानकारी दिए ।
‘शरीरको चिन्ता भन्दा पनि माग पूरा हुन्छ की हुँदैन, भविष्यमा के हुन्छ ? भन्ने छ’ उनले भने, ‘कुनै बिरामीले पनि उपचार पाएन भनेर कम्प्लेन गरेको पाइँन ।’
प्रत्यक्ष निर्वाचित कार्यकारी अहिलेको स्थितिमा के हुन्छ भन्न नसकिने भन्दै राजनीतिमा कुनैपनि बेला फरक स्थिति बनिदिने बताए ।
‘बिरामीहरूको माग मुद्दाहरू नै जेन जी आन्दोलनको माग मुद्दा हो ।
हामी देशको लागि लडेका हौँ । हामीले देशका लागि रगत बगाएका हौँ । हाम्रो माग पूरा हुनुपर्छ भन्ने किसिमको छ,’ उनले भने ।
उनले थपे, ‘स्वास्थ्य उपचार राम्रो भएको छ । ठिकै छ । प्रत्यक्ष निर्वाचित भनेको अहिलेको स्थितिमा के हुन्छ भन्न सकिँदैन । यो राजनीति हो । अहिले गर्न सकिँदैन भन्नेकुरा आइरहेको छ । परिस्थिति कुन बेला के हुन्छ, त्यो थाहा छैन ।’
गत भदौ २३ र २४ गते भएको जेन जी पुस्ताको आन्दोलनमा ७४ जनाको मृत्यु भएको छ भने सयौँ घाइते भएका छन् । घाइतेको उपचार जारी छ ।
ट्रमा सेन्टरमा उपचाररत जेन जी घाइतेमध्ये १ जनामात्रै आइसीयूमा रहेको र अरू खतरामुक्त रहेको पाएको मन्त्री पुनले बताए ।




















