वास्तु शास्त्र एवं अध्यात्म विज्ञानका प्रणेता वैदिक ऋषि, महर्षिहरु हुन् । यस्ता तत्वज्ञानी महापुरुषहरु– भृगु, अत्रि, वशिष्ठ, विश्वकर्मा, मय, नारद, नग्नजित्, विशालाक्ष, पुरन्दर, सनत, सनन्दन, सनातन, सनतकुमार, शौनक, शुक्राचार्य, वृहस्पति आदि मुख्य छन् । वास्तुशास्त्रका प्रमुख ज्ञाताहरुबाट निर्देशित घर, भवन, मठ, मन्दिरहरु, महलहरु बढी भरपर्दा र सुरक्षित हुन्छन् । सम्पूर्ण निर्माणस्थलको केन्द्रविन्दु भनेको वास्तुपुरषको ब्रह््मस्थान हो । यो स्थान हरदम खुल्ला हुनुपर्छ । ब्रह््माण्डका सर्जक ब्रह््माको निवास हो यो क्षेत्र ! ब्रह््मस्थानको मूल चिन्तन गर्दै विश्वकर्माले स्वर्गको निर्माण गरेका हुन् । विश्वकर्माले द्वारका बनाएका हुन् । समुद्रका गर्भगृहमा बनेको द्वारका परमेश्वर श्रीकृष्णको निबासक्षेत्र हो भने हालको दिल्ली जसलाई महाभारतकालमा इन्द्रप्रस्थ भनिन्थ्यो यसको निर्माण मय ले गरेका हुन् । आजसम्म पनि समुद्रको तटीयभागमा विश्वका विकसित सिंगापुर आदि मुलुकहरु रहेका छन् । पानीमुनि रेल गुडने पानी मुनि नै चरा उडने मुलुकहरु धेरै छन् हिजोआज !
भवननिर्माण गर्दा कुमारीको स्थान, नागको शिरको ज्ञान, वास्तुपुरुषको लक्षण जान्नुपर्ने हुन्छ । शास्त्रीयदृष्टिले वास्तुमुहुर्त वैशाख, श्रावण, कार्तिक र मार्गलाई विशेषरुपमा राम्रो मानिएकोे छ । अन्यमहिनाहरुमा वास्तु देवता निद्रामा हुने र वैशाख, श्रावण, कार्तिक र मार्गमा जागा हुने हुनाले पनि यी मासहरुमा निर्माण कार्य वढी हुने गर्छन् । श्रावणमासमा पनि अश्विनी, रोहिणी, मृगशिरा, तिष्य, उत्तराफाल्गुनी, हस्ता, चित्रा, स्वाती, अनुराधा, पूर्वाषाढा, श्रवण, धनिष्ठा, शतभिषा, रेवती आदि नक्षत्र बढी शुभ छन् भने वृष, मिथुन, सिंँह, कन्या, मकर, कुंभ लग्नहरु वास्तुमुहुर्तका लागि बढी ग्राहय छन् । वास्तुपुरुषको पूर्ण दृष्टि जेठ, आषाढ र श्रावणमा उत्तरतर्फ हुने र उत्तर पूर्व तर्फको ऊर्जा बढी सकारात्मक, शुभ र लाभप्रद हुने हुनाले यसबेलाको वास्तुमुहुर्तबाट निर्माण गरिएका घर, भवनहरु, शुभफलदायी, स्वास्थ्यवद्र्धक र बढी समयसम्म टिकाउ हुने हुन्छन् ।
वास्तु मिलेका घर, भवनमा रहने मानिसहरु बढी आनन्दित र सुरक्षित पनि हुन्छन् यस्तै शुभ मुहुर्त हेरेर “मनु” ले “अयोध्या” निर्माण गरे ! रामायण र योगवाशिष्ठको केन्द्रस्थल “अयोध्या” का परम आदरणीय गुरु वशिष्ठ श्रीरामका गुरु हुन् र अयोध्यानगरी बसाउनमा उनको ठूलो देन रहेको छ । गुरु वशिष्ठ वास्तुशास्त्रका प्रणेता हुन् । जुनक्षेत्रमा युद्ध हुँदैन त्यो नै अयोध्या हो । आदिभौतिक, आधिदैविक र आध्यात्मिक हरेक कुराका तीन अवस्थाहरु हुन्छन् । आधिभौतिकनगरी अयोध्या भन्नु सरयुनदीतटको स्थूल सहर अयोध्या हो भने आध्यात्मिक नगरी अयोध्या भन्नु हाम्रो हृदय हो जहाँ भक्तिरुपी सीताको समागम भई सम्पूर्ण जीवप्रतिको स्नेह उजागर हुन्छ । मनुनामक वास्तुशास्त्रीबाट निर्मित अयोध्यानगरी त्रेतायुगदेखि हालसम्म सुरक्षित र संरक्षित छ, जहाँ प्रवेश गर्नाले मात्रै पनि व्यक्ति बढी आनन्दित महसूस गर्छ । मयद्वारा निर्मित द्वारका द्वापरयुगदेखि हालसम्मकै पवित्रस्थल मानिएको छ जहाँ पुगेर क्षणिक विश्राम गर्दा नै मानिसले दिव्य आनन्दको अनुभूति महसूस गर्छ ।
रामायण, योगवाशिष्ठ, बाराहपुशंण, अग्निपुराण, मत्स्यपुराण एवं स्कन्दपुराणको नेपालमाहात्म्यले हाम्रो मुलुकको केन्द्रस्थली पश्चिमक्षेत्र, काली गण्डकीको विशद् चर्चा गरेका छन् । परमेश्वर श्रीविष्णुले माथि उल्लेख गरिएका विश्वकर्मालाई आफनो मूर्ति बनाउन लगाई अति प्राचीनक्षेत्र नेपालको गण्डकीक्षेत्रम राख्न लगाउनु भएको हो । काली गण्डकीक्षेत्रमा हालसम्म पनि असख्य शालिग्रामशिलाहरु पाइन्छन् । शालिग्रामशिला भन्नु भगवान श्रीविष्णुको स्वरुप हो । भनिन्छ – गण्डकी, तुलसी, शालिग्राम, सवैको पुण्यक्षेत्र नेपालधाम । नेपाल सत्युगदेखि नै स्थापितक्षेत्र हो । कुनै समय वा व्यक्ति विशेषले पत्तालगाएको क्षेत्र होइन यो ! सत्ययुगमा यसको नाम “सत्यपुरी” थियो भने त्रेतायुगमा यसको नाम “ तपोवन” रहयो । द्वापरयुगमा यसको नाम “मुक्तिपुर” रहयो भने हालको कलियुगमा यसको नाम “नेपाल” रहेको छ । विश्वको सर्वोच्च शिखर रहेको नेपाल “ने” नामक तपस्वी मुनिले बस्ती बसालेकाले यसलाई नेपाल भनिएको हो ! संस्कृत भाषामा “नयेन पाल्यते इति नयपालः भनिएको छ । न्यायद्वार÷धर्मको रक्षागरी जहाँ राज्य सञ्चालन हुन्छ त्यो राज्य “नेपाल” हो भनी अध्यात्मशास्त्रहरुले उद्बोधन गरेकाछन् । समस्त भूगोलको स्रोतस्थलीको रुपमा रहेको नेपालको प्रत्येक कुना कुनामा उपरोक्त वास्तुशास्त्रीहरुको निवासक्षेत्र हो !
मुक्तिक्षेत्र पावनगण्डकीको स्रोत हो । विश्वका सर्जक ब्रह््माले यसै मुक्तिक्षेत्रमा बसेर विशाल वास्तुशास्त्रीय यज्ञ सम्पन्नगरी विश्वको सिर्जना गरेका हुन् । विश्वका प्रत्येक कुनाबाट आउने पर्यटकहरु हालसम्म पनि प्रसिद्ध पोखराक्षेत्रहँुदै गण्डकीको प्राकृतिक आनन्द लिँदै मुक्तिनाथ जाने गर्छन् । भनिन्छ, विश्वका सर्जक ब्रह््मा, पालक विष्णु र संहारकारी रुद्र संयुक्त रुपमा यहाँ विराजमान छन् । कालीगण्डकीमा वास्तुशास्त्री विश्वकर्माले स्थापित गरेका शालिग्रामशिला विश्वमा अन्यत्र कहीँ भेटिन्नन् । कालिगण्डकीमा प्राप्त शालिग्रामको स्थापना एवं नित्यपूजाले घरमा वास्तुदोष रहँदैन । शालिग्रामको पूजा गर्दा भने यसको मुद्रा, आकार एवं चक्रहरुका विषयमा जानकारी लिनुपर्ने हुन्छ । घरमा शालिग्राम पूजा गर्दा धेरै ठूलो वा धेरै सानो आकारको पूजा गर्नु हुँदैन । ठीक मध्यम आकारको नफुटेको, नटुटेको, शंख, चक्र, गद्या, पद्य अंकित शिलाको पूजाले सम्पूर्ण मनोरथ पूरा हुन्छन् । घरमा दरीद्रता, अग्निभय, चोरी, हत्या, हिंँसा, लूटपाट, अपहरण, रोग, सर्पभय, भूकंप आदि केही हुँदैन । वास्तु शास्त्र एवं अध्यात्म विज्ञानमा विष्णुको प्रतीक शालिग्रामलाई उच्च र अतुलनीय रुपमा वर्णन गरिएको छ । सबैलाई अवगत छ समय, गतिशील छ र परिवर्तनशील पनि ! समय बलवान पनि छ, यसले आकाशलाई समेत खंडित गर्न सक्छ, बाँकी विषयको कुरै भएन । यो संसार समग्रमा समयकै अधिनमा छ । समय भन्नु काल हो । कालजयी भन्नु महा– मृत्युञ्जयी परमेश्वर हो । शरीरधारी प्राणी कालको वशीभूत छ । महा– मृत्युञ्जयी परमेश्वर सदाशिव हुनुहुन्छ । हामीलाई यो पनि अवगत छ, वस्तुको परिधिभित्र रहने वास्तु पंचतत्वको समिश्रण हो । वास्तु भन्नु पंचतत्वको अभिव्यक्ति हो । जीव हामी अल्पज्ञ छौंँ । सर्वज्ञलाईचाहिँ मायाधीश भनिन्छ, अल्पज्ञलाई मायाधीन मात्र !


















