skip this वडा नं १६ बालाजु च:मती

जे देखियो र भोगियो त्यही लेखियो

संसारमा मान्छे भएर लामो समय बाँच्दै जाँदा समय सँगसँगै मान्छेको विचार परिवर्तन भएको देख्न पाइने रहेछ साथै अनेक कुरा हेर्दै देख्दै भोग्दै जाँदा तीतामीठा नयाँ नयाँ कुरा पनि देख्न पाइँदो रहेछ। त्यसैले त पिता पुर्खाले भनेका रहेछन् ‘बाँच्नुपर्छ देख्न पाइन्छ’। आफ्नै जीवनकालमा राणा शासनको झलक पनि देखियो। त्यसबखत धनकुटामा पूर्वाञ्चलका तैनाथवाला बडाहाकिम लेफ्टिनेन्ट जनरल माधवशमशेरको धजगजपूर्ण शासन रवाफ श्री ३ महाराजको भन्दा कम थिएन। बडाहाकिमको भत्ता बाहेक तलब नै वार्षिक १८ हजार थियो रे। त्यतिबेला सिपाहीको तलब भने वार्षिक रु ६० मात्र थियो। सिपाहीको भन्दा ३०० गुना बेसी उनको तलब रहेछ। यसैबाट बुझिन्छ कि साधारण जनता र राणाशाही वर्गमा कति अन्तर रहेछ, शोषण कस्तो रहेछ ?

वि.सं. २००७ साल आयो। जङ्गबहादुर राणाले रणसङ्ग्राम गरेर ल्याएको १०४ वर्षको जहानिया शासन धराशयी भयो, कसरी ढल्यो त ?महामानव श्री विश्वेश्वरप्रसाद कोइराला जस्ता त्यागी नेताले राणा सरकार हटाउन बिगुल फुके। राणाभित्र पनि आफू आफूमा झुक्याई झुक्याई मारकाट गर्दै श्री ३ जङ्गका सन्तानलाई उठ्न नसक्ने गरी बढारे। बाँकी राणामा पनि कसैलाई देश निकाला र कसैलाई “ए” “बी” “सी” प्रथा निकालेर चन्द्र र जुद्धका सन्तति मात्र माथिल्लो ओहोदामा पुग्ने नियमले “बी” र “सी” क्लासका राणाभित्रभित्र विद्रोही बन्दै सरकार ढाल्न बाटो खोज्दै थिए। विश्वेश्वरजीले त्यस्ता राणासमेतको साथ पाए र आन्दोलनले राणा सरकार धराशयी भयो। राणाभित्र फुट नभएर एकजुट भएका भए अरू धेरै वर्षसम्म राणा सरकार टिकिरहने पो थियो कि ? हुने कुरा हो, भएरै छाड्यो।

राणा शासनको पतनपश्चात् राजा श्री ५ त्रिभुवनको समेत सल्लाहअनुसार जनताका छोरासमेत भएको मन्त्रीमण्डल गठन भयो। श्री विश्वेश्वरप्रसाद कोइराला गृहमन्त्री भए। तल्लो तहको सिपाहीको तलब एकैचोटि मासिक रु ३० रुपैयाँ बन्यो। एवं प्रकारले सम्पूर्ण कर्मचारीको तलब बढ्दा सम्पूर्ण कर्मचारी वर्गले विश्वेश्वरको जय जयकार मनाए। श्री ५ त्रिभुवनले जनताबाट प्रधानमन्त्री बनाउँदै गए। क्रमश: मातृकाप्रसाद कोइराला, डा के।आई। सिंह, टंकप्रसाद आचार्यलगायत प्रधानमन्त्री बन्दै रहे। टंकप्रसाद आचार्यले निजामती सेवा नियमावली बनाएर लागु गरिदिँदा कर्मचारी वर्गले उपदान र निवृत्तिभरण ,पेन्सन० सुविधा पाउने व्यवस्था सुरु भयो। यही कार्यले उनलाई अमर पनि बनायो।

वि.सं. २०१५ सालमा पहिलो आमचुनाव भयो। कांग्रेस पार्टी दुईतिहाइ ल्याएर विजयी बन्यो। विश्वेश्वरप्रसाद कोइरालाजीको प्रधानमन्त्रीत्वमा मन्त्रीमण्डल गठन भयो। सुवर्णशमशेर, गणेशमान जस्ता राष्ट्रवादी र त्यागी नेता मन्त्रीमण्डलमा समावेश भए। देशमा केही सुधार हुँदै गयो। सात सालमा बढेको तलब पुन: यही सरकारले बढायो। अकस्मात राजाले संसद् भङ्ग गरे। संसद् भङ्ग मात्र भएन यिनै बफादार नेताले कारावास जानुपर्यो। कांग्रेसले अघि सारेका देश विकासका योजना सबै बिलाए।

भित्र भित्र काङ्ग्रेसी नेताले नै राजालाई साथ दिए। ‘भाइ फुटे गबार लुटे’ जस्तै हुन गयो। श्री ५ बडामहाराजबाट काङ्ग्रेसबाट फुटेका नेताकै रोहबरमा मन्त्रिमण्डल गठन हुँदै गयो। राजा महेन्द्रले संसारभरिका देशसँग सम्पर्क बढाई मैत्री सम्बन्ध विस्तार गर्दै गए। पञ्चायती व्यवस्था सुरु गरियो। गाउँ पञ्चायत, नगर पञ्चायत, जिल्ला पञ्चायत, अञ्चल पञ्चायत, राष्ट्रिय पञ्चायत भन्दै पञ्चायतको संगठन विस्तार गरियो। साथ साथै वर्गीय संगठनका रूपमा युवक संगठन, प्रौढ संगठन, किसान संगठन, भूतपूर्व सैनिक संगठन, महिला संगठन भन्दै प्राय: जनता र सिङ्गो देश नै गोलबन्द भयो।

हामी नेपालीले आफ्नो देशभित्रै ओल्लो र पल्लो जिल्ला जानुपर्दा भारत भएर जानुपर्ने र भारतीय कुल्ली कबाडीबाट ठगिँदै दु:ख पाउँदै यात्रा गर्नुपर्दथ्यो। राजा महेन्द्रबाट पूर्वपश्चिम राजमार्गको घोषणा भयो। क्रमश: राजमार्ग तयार भयो। हामी नेपालीलाई आफ्नै देशबाट आफ्नै देशमा ओहोरदोहोर गर्दै यात्रा गर्न पाउँदा राजा महेन्द्रको जय जयकार मनाइयो। राजाले योग्य योग्य मानिसलाई राजनैतिक नियुक्ति गर्दै बडाहाकिम, अञ्चलाधीश, राजदूत आदि संवैधानिक पदमा नियुक्त गरेको देखियो। राजाबाट युक्तिबुद्धिसँग प्रयास गर्दै जाँदा हाम्रो देश नेपाल संयुक्त राष्ट्रसङ्घको सदस्य बन्न पुग्यो र संसारभरि चिनिन पुग्यो।
पञ्चायत व्यवस्था सँगसँगै भूमि सुधार लागु भयो।

प्राय: प्रत्येक वडामा धर्मभकारी बन्दै गए। ती धर्मभकारीबाट आफ्नै गाउँटोलमा सहुलियत ब्याजमा ऋण पाइने हुँदा राम्रो व्यवस्था सुरु भएको थियो तर ठाउँ ठाउँमा धानलगायतका अन्न भित्रभित्रै बिक्री गरेर भुस राखेर आगो लगाइदिए। धर्मभकारीको दुरुपयोग भई बेइमानी सुरु भएकाले धर्मभकारी बन्द गरी उक्त प्रथा नै खारेज भयो। भूमि सुधारकै कार्यक्रमभित्र ऋण निश्चित गर्ने कार्यक्रम सुरु भयो। लामो समयदेखि धेरै पैसामा ब्याज भराउने, बन्धक जग्गाजमिनको आयस्ता खाने र ब्याज तिर्दा तिर्दा कहिल्यै नसकिने भएकाले ऋणीको ऋण निश्चित गरी तमसुक च्यातिदिएर जग्गा फिर्ता हुँदा धेरैले राजा महेन्द्रको जय जयकार मनाए।

पञ्चायती चुनावको परिपाटीलाई राजा महेन्द्रबाट केही खुकुलो पार्दै लगिएको थियो। राजा महेन्द्र २०२८ सालमा परमपद हुँदा एकपटक देशको बत्ती निभेर देश नै ज्यादै शोकमय भयो। त्यसपछि चुनावको परिपाटीमा गाउँ फर्क अभियान ल्याएर कसियो। त्यसको फलस्वरूप पञ्चायती व्यवस्था नै खारेज हुन गयो।
राजा वीरेन्द्रबाट बहुदल घोषणा भयो। चुनावको परिपाटी नै फरक भयो। एक मान्छे एक भोट भयो।

यही समयमा अजातशत्रु नेपालीका मनमुटुका राजा वीरेन्द्रको सपरिवार रहस्यमयसँग हत्या भएको समाचार सुन्नुपर्दा नेपाली जनताले अविस्मरणीय शोकमा पर्नुपर्यो। प्रचार भयो- युवराज दीपेन्द्रबाट यो हत्या भयो तर हत्या युवराज दीपेन्द्रबाट भएको भनेर नेपाली जनताले अझै पत्यार गरेका छैनन्। चुनाव अत्यन्त महँगो हुँदै गयो। प्रशस्त खर्च गरेर र कार्यकर्तालाई प्रशस्त खर्चबर्च दिएर जसले खटाउन सक्दछ उसले मात्र चुनावमा विजय हासिल गर्ने भए। तिनै विजयी मन्त्री हुने भए। चुनाव खर्च उकासेर मात्र भएन। फेरि चुनाव लड्न झन् धेरै पैसा चाहियो। आफ्नो घरपरिवार पनि हेर्नै पर्यो। मन्त्रीका घरपरिवार भनेर इज्जत राख्नै पर्यो। परोक्ष रूपमा धनआर्जन गर्न कमिसनबाट हुन्छ वा अन्य जे जे बाट भए पनि धन आर्जनतर्फ नेताजीहरू दत्तचित्त भएका जस्ता देखिन थाले।
यस्तै उस्तै चल्दै थियो। नेपाली काङ्ग्रेसको सरकारमा आपसी इर्ष्या र रिसइबीले देउवाजीले छत्तीसे जन्माए। कांग्रेसको सरकार ढल्न गयो। मध्यावधि चुनाव भयो। कामरेड मनमोहन अधिकारीको अध्यक्षतामा सरकार गठन भयो। मनमोहन अधिकारीज्यूको दूरदर्शिताले वृद्धभत्ता र गाविसको विकास गर्न निमित्त ठूलै अनुदान दिएकाले एमाले सरकारप्रति जनताको आस्था र विश्वास बढ्न थाल्यो। कांग्रेसले सोचेर नै होला, अब एमाले जनप्रिय हुँदै बढ्यो भने क्रमश: कांग्रेस तल पर्दै जाला भन्ने भयो कि के भयोर  ? एमाले सरकारलाई दिएको विश्वास फिर्ता लिएर एमालेको सरकार बीचैमा ढालियो। राप्रपा र सद्भावना पार्टीलाई साथ लिएर कांग्रेसले सरकार बनायो। एवं प्रकारले राज्य व्यवस्था चल्दै थियो। माओवादी पार्टीको नाम लिएर गाउँ गाउँमा ‘भाटे कानुन’ सुरु भयो। माओवादीले ठाउँठाउँमा झगडा मिलाउँदै लामो कपाल भएका झ्याप्ले, कुण्डले मुण्डलेलाई तह लगाएर गुन्डाराज केही कम गराए।

राजनीतिक अस्थिरताकै कारण राप्रपाका सूर्य र चन्द्र दुवैले प्रधानमन्त्री हुने मौका पाए। राप्रपामा पनि सुरुदेखि नै मेलमिलापसाथ एकढिक्का भएर बस्ने गुण देखिँदैन। सुरुमै सूर्य र चन्द्रको अहमताले दुई पार्टी भए। राप्रपा समर्थक कार्यकर्ता कता लाग्ने भन्दै अन्य पार्टीतिर लागे। पछि पुन: एक हुँदा जनताको नजिक भएर विश्वास प्राप्त गर्न थालेका थिए। फेरि सूर्य र चन्द्र दुवैलाई भाले हुनुपर्ने भएपछि दुईवटा पार्टी हुन पुगे। पछि कमल थापाजीले विश्वास प्राप्त गर्दै समानुपातिकमा २०(२२ सिट प्राप्त गरे । कमल थापाजी नै अध्यक्षमा पराजित हुँदा पार्टी फोरेर राप्रपालाई उनैले कमजोर झन बनाए।

माओवादीका नेताजीहरू भाटाबाट बढ्दै बन्दुक लिएर हिँड्न थाले। यस्तो आन्दोलन गर्न थालेस हत्या, हिंसा, आगजनी, लुटपाट, बिनाकसुर निहत्था सेनालाई घरबिदामा आएको बेलामा पनि कि जागिर छाडेर माओवादीमा लाग्नुपर्यो नत्र भन्दै जहाँतहीँ झुक्याई झुक्याई धराप थापेर र गोली हानेर मार्न थाले। हाम्रा प्रहरी जवान तथा नेपाली सेनालाई हत्या गरेर मात्र उनीहरूले सन्तोष गरेनन् स्वास्थ्यसेविका, स्कुले निरीह बालबालिका, बाबुआमाको काजक्रिया गर्न बसेका किरियापुत्रीलाई समेत हत्या गर्न उनीहरूले बाँकी राखेनन्। माओवादी नेताजीकै मुखारवृन्दबाट ६ हजार लडाकुको २० हजारको तलबसुविधा लिन सफल भइदै छ भनेको भनाइ पनि नेपाली जनताले सुनेकै छन्। यसरी देश रुख्याउनुभएको कुरा पनि चर्चामा छ। माओवादीको यस्तो कार्यको नेपालको इतिहास रहुन्जेल निन्दा भइरहनेछ र इतिहास अवश्य रहिरहनेछ।

एवं रितले जनता त्रस्त हुँदै विकासका कामकाज रोकिए मात्र होइनन् माओवादीको पीडा सहन नसकी गाउँ छाड्दै भाग्ने परिस्थिति सिर्जना भयो। विदेशमा जाने युवा शक्ति पनि तीव्र गतिमा बढ्न थाले। देशै हाहाकारमय भयो। गाउँमा कष्टमार्ग खप्दै बस्ने पनि
माओवादी नेता घरघर आई
डर र धाक धम्की देखाई
समर्थन नगरे बाँच्नलाई
जे जे भन्छन् मान्नुपरेको छ
यस्तै बेला खप्नु परेको छ
यस्तै बेला भोग्नुपरेको छ।

भन्दै माओवादलाई समर्थन गर्न बाध्य भए। पहाडका उर्वराभूमि बाँझिँदै गए। गाउँ(गाउँ उराठ लाग्दा देखिन थाले। मानिसमाथि मात्र हिंसा भएन राँगा, खसीबोका कहीँकहीँ त यो पनि भन्छन् गाईगोरु पनि बाँकी राखेनन्। एकातिर यस्तो अवस्थाले राज्य नै जर्जर थियो र कष्टमय थियो अर्कातिर देउवा महाशयले संसद भङ्ग गरी मध्यावधि चुनावको मिति तोके। चुनाव हुन सक्ने अवस्थै थिएन। राजाबाट अकर्मण्य प्रधानमन्त्री भनी प्रधानमन्त्रीको मन्त्रिमण्डल भङ्ग गरियो। राज्यको सर्वाधिकार राजामा नै गयो। देउवाबाहेक अन्य असन्तुष्ट पार्टी सबै विरोध गर्दै आन्दोलनमा उत्रिएकै थिए। देउवाजीको समूह पनि थपिएर आन्दोलन गर्दै जहाँतहीँ सडकमा टायर जलाउँदै उपत्यका नै धुवामय हुँदै गयो। राज्यका अरू सहरमा पनि टायर बाल्दै आन्दोलन जारी रह्यो। सहर बजारभरि आन्दोलन कन्ट्रोल गर्न प्रहरी र सेनालाई धौधौ थियो। गाउँ गाउँमा माओवादीलाई कब्जा गर्न सजिलो भयो। अर्कोतर्फ राजाको जहीँतहीँ सवारी हुँदै रह्यो। जनताको बृहत उपस्थितिले स्वागत गर्न बाँकी राखेनन्। तेह्रथुम बजार आगलागीले खरानी भएको थियो। निरीक्षण गर्न राजारानीको सवारी भयो। उपस्थित आगलागी पीडितले डाँको छाडेर रोएर स्वागत गरे राजाको। जहाँजहाँ सवारी भयो “दु:खी छौँ” सरकार भन्दै बिन्ती चढाए।

राजा महेन्द्रले राज्यभरि नै सवारी हुँदा जनताको मागअनुसार दु:खकष्ट बुझी आर्थिक सहायता वितरण गर्दै हिँडेर जनतालाई सहानुभूति दर्साएका थिए। राजा ज्ञानेन्द्रलाई त्यो ज्ञान भएन। टाउको हल्लाएर नै चित्त बुझाए। जहाँतहीँ माओवादीको बिगबिगी बढिरहेकै थियो।

हुँदाहुँदै माओवादीको फौज र हजारौँ हजार आन्दोलनकारीको फौज राजधानी प्रवेश गरी तोडफोड गर्दै निषेधित क्षेत्र प्रवेश गरे। राजा ज्ञानेन्द्रले चाहेको भए हजारौंको हत्या गर्न पनि सक्दथे तर प्रजा मारेर राज्य गर्नुभन्दा १० पुस्तादेखिको पुर्खाले आर्जिएको राजगद्दी त्याग गर्न उनी तयार भए। अहिले दुई वर्ष कुर्सी थाम्न ओलीजीले ७० भन्दा बढी युवाको हत्या गराएर हजारौँ युवा अङ्ग भङ्ग बनाएर घाइते बनाएका छन्।

राजा ज्ञानेन्द्रलाई गणतान्त्रिक सरकारको पहिलो चुनावका विजेता नेताजीहरूले राजाबाट हटाई पूर्ण गणतान्त्रिक सरकार बनाउने निर्णय गरी राजा ज्ञानेन्द्रले त्यो पुस्तौंदेखिको राजगद्दी हाँसी हाँसी छोडिदिए। नारायणहिटी दरबार राजपरिवारले त्यागेर हिँड्दा दरबारमा कस्तो वातावरण भयो होला, रमाइलो भएन होला र ओलीजी हत्तपत्त राजीनामा गरेर रुँदै भाग्न बाध्य भए। देउवाजीले राज्य रुख्याउँदै आर्जन गरेको सम्पत्ति केमा सदुपयोग भयो ?सुनाम कृति कसरी फैलियो ? लोभले लाभ लाभले विलाप:
अन्यायोपार्जितं वित्तं दश वर्षेण तिष्ठति।
प्राप्ते एकादशे वर्षे समूलं च विनष्यति।।

भनेको छ। देउवाजीको सम्पत्ति त्यस्तै भएको त होइनरु कमाएको धन समयमा सदुपयोग गरी उपभोग गरेन भने कि चोरडाकाले कि आगोपानीले नाश गरिदिनेछ भन्ने सत्य भएको हो कि ? जे होस् जे भयो भइगयो। राजालाई आफ्ना प्रजा जनताप्रति माया मोह कति छ भन्ने उदाहरण नेपाल प्रहरीले शीर्षस्थ नेताजीहरूसहित माओवादीसेना प्रहरीले घेरिएका सम्पूर्णलाई तत्कालीन प्रधानमन्त्रीको आशय बमोजिम समाप्त पारिदिने योजना अनुसार सरकारको आदेश अनुसार गोलीगठ्ठासहित रोल्पाको होलेरीमा सेना पठाइयो। अन्तिममा गएर श्री ५ बाट हत्या गर्ने आदेश नपाएका सेना हात मिलाएर फर्किए। ती सबैलाई त्यतिबेला समाप्त पारिदिएको भए सायद न रहे बास न बजे बाँसुरी हुन्थ्यो होला।

त्यतिबेला राजाले जोगाइदिएकाले माओवादी नेताजीहरूले गणतन्त्रको रस खान पाएर रमाउन पाएका छन्। राजा चाहिँदैन राज्यको काम छैन भन्न पाएका छन्। उनीहरू नै हामीले राम्रो गरेका छौं भन्दै घमन्डसाथ भाषण गर्न पाएका छन्। राजा ज्ञानेन्द्रलाई पूर्वराजा बनाइयो। गणतन्त्रात्मक पद्धतिबाट राज्य सञ्चालन हुन थाल्यो। देशको संविधान बनाउनलाई जनताको सुझाव सङ्कलन गर्न नेता तथा विशिष्ट कर्मचारीको टोली राज्यभरि खटाइयो। हिन्दु राज्य कायम हुनुपर्छ भन्नेमा ८० % भन्दा बढी नै सुझाव संकलन भयो। विदेशी विधर्मीबाट राम्रै उपहार पाएर होला। हिन्दु राज्यलाई हटाएर निरपेक्ष नै बनाए। भ्रमण भत्ता दिई सुझाव संकलनको नाटक मात्र रहेछ। यसबाट के स्पष्ट भयो भने यी नेता महाशयहरू जनताको जनमतको कदर गर्दा रहेनछन्।

संविधानसभाको २ पटक दोहोर्याएर चुनाव गर्दा बल्ल संविधान बन्यो। कहाँ पहिले प्राकृतिक नदीको सीमामा राखेर बनाएको पाँच क्षेत्र, त्यो गणतान्त्रिक नेतालाई सुपाच्य भएन नराम्रो भएकालाई राम्रो बनाउनुपर्नेमा राम्रोलाई नराम्रो बनाएका त छैनन्रु देशलाई सात क्षेत्र बनाइयो। सातै क्षेत्रको राजधानीमा मन्त्रीमण्डल गठन गर्ने, सांसद सङ्ख्या बढाएर मात्र पुगेन समानुपातिक सांसद राख्ने सिर्जना गरियो। समानुपातिकमा पार्टीका कार्यकर्ता आसेपासे, गाँसे र झोलेलाई सांसद बनाउँदै पार्टी प्रमुखले मोलतोल गर्दै परोक्ष रूपबाट धनआर्जन गरेको पनि सुनिन थाल्यो। क्षेत्र क्षेत्रका पार्टीका नेतालाई स्थान दिन नै होला यो सानो देशलाई सात प्रान्त जस्तो बनाएर राज्य सञ्चालन सुरु भयो। नेताजीहरू देशलाई भन्दा पार्टीलाई बढी महत्त्व दिइराखेका त छैनन्रु चुनाव हुँदै रह्यो।

पार्टी पार्टीमा लुछाचुडी र पार्टीभित्र पनि आन्तरिक कलहले पार्टी कमजोर हुँदै कहिल्यै पूर्ण अवधिसम्म सरकार रहिरहन सकेन। सात क्षेत्रका मन्त्रीमण्डलमा मन्त्रीको इज्जत पुग्नेगरी तलब भत्ता त्यहीअनुसारको, मन्त्रालय भवन, मन्त्रालयलाई सुहाउने फर्निचर, कर्मचारी, सवारी साधन यी सब पुर्याउन सक्ने देशको शक्ति छ तरु यी सब पुर्याउँदा देशको हालत के होला र के भइरहेको होला ? डाइना मौरी भनेका रानो मौरीको वरिपरि रानोको रक्षा गर्दै खेताला मौरीको प्रशासन गर्ने हुन्। यी डाइना खेताला मौरीसँग रस लिन जाँदैनन्। खेताला मौरीले ल्याएको रस रानोको वरिपरि बसेर खान्छन्। डाइना धेरै भए भने महको उत्पादन हुँदैन त्यसैले मौरी खेती गर्नेले आवश्यक डाइना मात्र राखेर अरू हटाइदिन्छन्।

वास्तवमा अहिले चल्दै रहेको राज्य व्यवस्था सात क्षेत्रका सांसद, मन्त्री र समानुपातिक सांसद सबै डाइना नै हुन्। राज्यको आम्दानी र हाम्रा देशका युवा शक्तिले विदेश गएर दु:खकष्टले ल्याएको विदेशी मुद्रा र धनी देशसँग भिक्षा मागी ल्याएको अनुदान तथा विदेशी ऋण यो सबै हाम्रा नेता र डाइना नेतालाई मात्र हुने भयो। त्यतिले नपुगेर विकास निर्माणका कामबाट कमिसन र भ्रष्टाचार समेत यिनै नेताका इशारामा भइरहेका त छैनन्रु वर्तमान अवस्थामा ‘सुरमुनिदेखि भुसुनासम्म’ भनेजस्तै भ्रष्टाचार भएको बुझिन्छ। अब त विद्यालयका शिक्षक सरुवामा समेत नजराना चढाएर मात्र सरुवा भएको सुनिन्छ। नेताजीहरूलाई धनार्जन गर्न सजिलो छ। पार्टीलाई चन्दा भन्यो, उद्योग व्यवसायी ठूलाठूला व्यापारीसँग चन्दा लियो, देशलाई घाटा होस् वा जेसुकै होस् परवाह नराखी व्यावसायिक कालाबजारियालाई सुविधा दिलाएर स्वार्थ पूर्ति गरिरहेका त छैनन्रु ‘यथा राजा तथा प्रजा’ भनेको छ। शीर्षस्थ व्यक्ति नै धनार्जनका लागि भ्रष्टाचारमा लिप्त भएपछि कर्मचारीले किन नगर्नेरु यसरी भ्रष्टाचार मौलाउँदै जाँदा देशको अवस्था के हुँदै जालारु यी नेताले देशलाई कहाँ पुर्याउलान्रु यस्ता नेताजीहरूलाई अमूल्य मत दिएर विजयी गराउने हामी जनताले असलै गर्दैछौं सोचौँ। अब बेवकुफ नबनौँ। नेताका कार्यकर्ता र भरौटेको भनाइमा नलागौँ।
श्री विश्वेश्वर जस्ता युगनेता प्रधानमन्त्री हुँदा प्रधानमन्त्री भत्ता २,५००/ यो गरिब देशलाई भार पार्न हुँदैन भनेर रु ५००र( घटाउँदै अन्य मन्त्रीको पनि भत्ता कटाएका थिए भन्ने चर्चा सुनेका थियौँ। मित्र देश भारतमा सरदर १८ लाख जनतामा एक सांसद छन्, हाम्रो यहाँ १ लाख जनताको एक सांसद पर्ला। समानुपातिक हिसाब गर्ने हो भने त्यसको आधा।

प्रधानमन्त्री जनताबाटै चुनिनुपर्दछ। समानुपातिक र यो सात क्षेत्रका मन्त्रीमण्डल हटाउनै पर्दछ। पूर्ववत् कायम रहने हो भने राज्यको सबै आम्दानी यिनै डाइनालाई, हामी जनता हेरेको हेरे हुने भयौँ। आजभन्दा ३५-४० वर्षअघि अथवा देशमा बहुदल आउनुभन्दा अगाडिसम्म पनि पहाडको अन्न गोला गोलाबाट तिब्बत निर्यात हुन्थ्यो। तराईको अन्न विशेष गरेर धान धेरजसो देशबाहिर निकासी हुन्थ्यो। देशका मिल कारखानाले धान कुट्न नभ्याएर धानै निर्यात हुन्थ्यो। आज यसको उल्टो बाहिरबाट खाद्यान्न भित्रिरहेको छ। पहाड रित्तियो। ती पहाडका उर्वराभूमि बाझै छन्। पहाडका मानिसले राजधानी उपत्यका र मधेसका मलिला जग्गा भरियो। अब उब्जा कहाँ हुनुरु हामीले विदेशी चामल किनेर भए पनि खान पाएका छौँ, यसैमा गौरव मान्नु परेको छ।

हामी नेपाली जनता विषकृमि न्यायले निरंकुश सरकारको अनाचार अवस्था रमिता हेर्न बाध्य थियौँ। यही मौकामा भ्रष्टाचार र अत्याचारको विरुद्ध हाम्रा जेन् जीले आन्दोलन सुरु गरे। सरकार प्रमुखको आदेशले गोली चलाइयो। जनताको दु:खदायी हत्याले सम्पूर्ण नेपालीको हृदयमा वज्राघातको वेदनाले मर्माहत भएर शोकमग्न भएका छौँ। सयकडौँ घाइते अपाङ्ग जस्तो भएर अस्पतालको बास छ। नेपालको इतिहासै मेटिने गरी, नेपालको गौरव नै मासिने गरी महत्त्वपूर्ण भवनमा आगजनी हुँदै अधिराज्यभरिका सरकारी भवन उद्योग र व्यक्तिगत बासस्थान समेत आगजनीले हामी नेपालीको खरबौँ रुपैयाँको सम्पत्ति खरानी भयो। यो नोक्सानी कहिले पूर्ति होला?

यसबाट देशमा केही सकेन र घुम्दै फिर्दै रुम्जाटार नहोस्। ७१ जना सहिदको बलिदान खेर नजाओस्। अधिकाधिक नेपाली जनताको चाहनाअनुसार देशले राजा मागेको छ। देशलाई गणतन्त्र चाहिएको छैन। संवैधानिक राजालाई राजगद्दीमा राखेर नेताजीहरूले अन्यायपूर्वक फ्याँकेको हिन्दुराज्य कायम होस् भन्दै कलम बिसाउँछु। मनमा लागेको कुरा लेखियो अरूको होइन आफ्नै चित्त शान्त पार्न कोरियो। किमाधिकम अस्तु १