रास्वपाको परिवर्तन कहाँ हरायो?

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को पहिलो महाधिवेशन आइतबारदेखि सुरु भएको छ। पार्टी स्थापनाको चौथो वर्षमा प्रवेश गर्दै झन्डै दुई तिहाइ बहुमतसहितको सत्तारूढ दलको हैसियतमा पुगेको रास्वपाको लागि यो महाधिवेशन केवल संगठनात्मक महाधिवेशन मात्र होइन, आफ्ना वाचा र व्यवहारको समीक्षा गर्ने अवसर पनि हो।

रास्वपा नेपाली राजनीतिमा परिवर्तनको ठूलो नारासहित उदाएको दल हो । “देश बदल्छौँ“, “राजनीतिक संस्कार बदल्छौँ” र “पुराना दलको विकल्प बन्छौँ” भन्ने सन्देशमार्फत यसले लाखौँ युवाको आशा जितेको थियो। तर महाधिवेशनका क्रममा देखिएका केही घटनाले एउटा महत्वपूर्ण प्रश्न उठाएको छ–रास्वपाले वाचा गरेको परिवर्तन आखिर कहाँ हरायो?

पार्टी गठन हुँदा पुराना दलजस्तो राजनीति नगर्ने, दोहोरो मापदण्ड अन्त्य गर्ने र नियम सबैका लागि समान हुने प्रतिबद्धता गरिएको थियो। तर महाधिवेशनका क्रममा देखिएका दृश्यहरूले ती प्रतिबद्धतामाथि नै प्रश्न उठाइरहेका छन्।

काठमाडौं महानगरको नेतृत्व गर्दा बालेन शाहले सार्वजनिक स्थानमा फोहोर गर्नेहरूमाथि जरिवाना तिराएका थिए। सडक सफाइ र सार्वजनिक सम्पत्तिको संरक्षणमा उनको अडानलाई धेरैले प्रशंसा गरेका थिए। तर आफ्नै पार्टीको महाधिवेशनस्थल वरपर देखिएको फोहोर व्यवस्थापनबारे त्यही कडाइ किन देखिएन ? यदि नियम सबैका लागि बराबर हो भने त्यो आफ्नै राजनीतिक परिवारमा पनि लागू हुनुपर्छ ।

महाधिवेशनमा सांसद खगेन्द्र सुनारले अन्य दलका प्रतिनिधिलाई “भ्रष्टाचारी” र “आतङ्ककारी” भनेका थिए । उनको भनाइ थियो, ‘रवि दाइले हिजो चाहिँ उहाँहरुलाई बोलाएर स्टेजमा किन राखेको ! अन्तिम पटक भ्रष्टाचारी, आतङ्ककारीहरुको अनुहार कार्यकर्ता साथीभाइले हेरुन्, यिनीहरुलाई अब तह लगाउनु पर्ने यति बाँकी छ- भनेर चाहिँ उहाँले देखाइदिनु भएको हो ।’ रास्वपाका नेता-कार्यकर्तालाई सम्झाउन जरुरी नभएको भन्दै उनले बिरामीले आएर डाक्टरलाई सल्लाह दिन जरुरी नभएको बताएका थिए । परिवर्तनको राजनीति गर्ने दलभित्र यस्ता अभिव्यक्तिले राजनीतिक संस्कारको प्रश्न उठाएको छ। रास्वपाले विगतमा अरू दललाई भाषाशैली र व्यवहारका आधारमा आलोचना गर्ने गरेको थियो। त्यसैले आफ्नै नेता-कार्यकर्ताबाट आउने अभिव्यक्तिमाथि पार्टीले कस्तो दृष्टिकोण अपनाउँछ भन्ने विषय महत्त्वपूर्ण हुन्छ।

अर्कोतर्फ, महाधिवेशनको ऐतिहासिक क्षणको साक्षी बन्न चितवनमा हजारौं कार्यकर्ता र समर्थकहरू उपस्थित थिए । यति महत्त्वपूर्ण घडीमा रास्वपाका चर्चित सांसद अमेरशकुमार सिंह भने अनुपस्थित रहे। सर्लाही–४ मा कांग्रेस सभापति गगन थापालाई हराएका सांसद अमरेशकुमार सिंह पार्टीको महाधिवेशनको उद्घाटनमा देखिएनन्। सिंहले पार्टीभित्र केही समयदेखि फरक मत राख्दै आएका छन्। सार्वजनिक रूपमै पनि उनले असन्तुष्टि पोखेका थिए। संसदमा पनि उनले सरकारको काम कारबाहीबारे असन्तुष्टि पोखेका थिए। उनको अनुपस्थितले पार्टीभित्र सबै कुरा सहज छैन भन्ने संकेत गरेको छ।


महाधिवेशनका क्रममा अर्को बहसको विषय मटन खपत पनि बन्यो। दैनिक करिब ९ क्विन्टल मटन खपत हुने बताइएको छ । विगतमा अन्य दलका यस्तै कार्यक्रममाथि आलोचना गर्ने रास्वपाले यस विषयमा के फरक अभ्यास गर्‍यो ? साथै, प्रतिनिधि छनोट, परिचयपत्र वितरण र नेतृत्वबीच भागबन्डाको चर्चा भएपछि कार्यकर्ताहरूले नाराबाजीसमेत गरे। यसले पार्टीभित्र गुटगत बिवाद सतहमा आएको संकेत दिएको छ।

रास्वपाले वर्षौँसम्म पुराना दललाई एउटा प्रश्न गर्दै आएको थियो–“जे बोल्नुहुन्छ, त्यो व्यवहारमा किन देखिँदैन?” आज त्यही प्रश्न रास्वपामाथि फर्किएको देखिन्छ। आलोचना सहने संस्कार निर्माण भएको छ कि छैन? सार्वजनिक जवाफदेहिता व्यवहारमा देखिएको छ कि छैन?

परिवर्तनको राजनीति भाषणले होइन, व्यवहारले प्रमाणित हुन्छ। जनता अब नाराभन्दा उदाहरण हेर्न चाहन्छन्। किनकि नेपाली राजनीतिले धेरै नारा सुनिसकेको छ। आज रास्वपाको सबैभन्दा ठूलो चुनौती विपक्षी दल होइनन्। चुनौती आफ्नै वाचा, आफ्नै घोषणा र आफ्नै कार्यकर्ताको अपेक्षा हो। पार्टीभित्र देखिएको असन्तुष्टि, नेतृत्व र कार्यकर्ताबीचको दूरी तथा आदर्श र व्यवहारबीचको अन्तरलाई सम्बोधन गर्न नसके परिवर्तनको दाबी कमजोर बन्दै जान सक्छ।
रास्वपाको सबैभन्दा ठूलो शक्ति उसका समर्थक र कार्यकर्ता हुन्। तर यदि पार्टीभित्र पनि पुरानै राजनीतिक संस्कृतिका संकेत देखिन थाले भने “पुराना दलभन्दा फरक” भन्ने दाबीलाई व्यवहारले पुष्टि गर्न कठिन हुनेछ।

जनताले रास्वपालाई पुराना दलको अर्को संस्करण बन्नका लागि मत दिएका होइनन्। उनीहरूले नयाँ संस्कार, नयाँ सोच र नयाँ अभ्यासको अपेक्षा गरेका थिए। त्यसैले आज उठेको प्रश्न केवल कुनै एक सांसदको अभिव्यक्ति वा अर्को नेताको अनुपस्थितिसम्म सीमित छैन। मूल प्रश्न यो हो–के रास्वपा आफूले वाचा गरेको परिवर्तन आफ्नै संगठनभित्र लागू गर्न सफल भएको छ?

यदि उत्तर “हो” भने त्यसको प्रमाण व्यवहारमा देखिनुपर्छ। यदि उत्तर “होइन” भने देश बदल्ने अभियानभन्दा पहिले आफ्नै संगठनको आत्मसमीक्षा आवश्यक छ। परिवर्तनको राजनीति नाराले होइन, संस्कारले प्रमाणित हुन्छ। रास्वपाले अब देशलाई बदल्ने दाबीभन्दा पहिले आफ्नै संगठनमा त्यो परिवर्तन देखाउन सक्नुपर्छ। अन्यथा “पुराना दलभन्दा फरक” भन्ने दाबी पनि नेपाली राजनीतिका अधुरा नाराहरूको सूचीमा सीमित हुन सक्छ।