इतिहास सधैं गतिशील रहन्छ। कुनै पनि युग स्थायी हुँदैन र कुनै पनि शक्ति शाश्वत रहँदैन। जस्तै लेनिनले साम्राज्यवाद पूँजीवादको उच्चतम चरण मा भनेका थिए जब पूँजीवाद आफ्नो सीमित बजारभित्र अड्किन्छ तब नयाँ बजार नयाँ प्रभुत्व र नयाँ शक्ति सन्तुलनका लागि उसले विश्वभर आक्रामक प्रतिस्पर्धा थाल्छ।
आज चीन र अमेरिकाबीचको व्यापारिक संघर्ष त्यही ऐतिहासिक द्वन्द्वको आधुनिक रूप हो। बेइजिङमा आयोजित फोरममा चिनियाँ विदेशमन्त्री वाङ यीले स्पष्ट भने अर्थ व्यवस्थालाई राजनीतिकरण गर्नु बजारलाई कृत्रिम रूपमा विभाजन गर्नु र व्यापार युद्धको सहारा लिनु विश्व अर्थतन्त्रका लागि घातक छ। तर इतिहासको प्रवाह उल्ट्याउन सकिँदैन बहुध्रुवीय संसार अब निश्चित रूपमा आउँदैछ। यो भनाइले दुई कुरा स्पष्ट गर्छ।
क .साम्राज्यवादको नवीन रूप र अमेरिकी एकध्रुवीयता
द्वितीय विश्वयुद्धपश्चात अमेरिकी पूँजीवादले विश्व अर्थतन्त्रलाई नियन्त्रणमा राख्न डोलर प्रणाली विश्व बैंक र अन्तर्राष्ट्रिय मुद्रा कोष (IMF) का माध्यमहरू प्रयोग गर्यो। यिनै माध्यमबाट उसले आर्थिक निर्भरता र नीतिगत दबाबको नयाँ रूप सिर्जना गर्यो जुन लेनिनले आर्थिक औपनिवेशिकता का रूपमा पहिले नै चेतावनी दिएका थिए। तर २१औं शताब्दीको प्रारम्भमा चीनको उदयले यो एकध्रुवीय संरचनालाई हल्लाइदियो। विश्वका श्रमशक्ति स्रोत र प्रविधि नयाँ केन्द्रहरूमा केन्द्रित हुन थाले। यसले अमेरिकी वर्चस्ववादी मनोवृत्तिलाई चुनौती दियो।
ख .चीनको वैचारिक सन्देश सहअस्तित्व र सन्तुलनको खोज
बेइजिङमा आयोजित फोरममा चिनियाँ विदेशमन्त्री वाङ यीले अमेरिकी नीतिहरूले विश्व बजार अस्थिर पारेको उल्लेख गर्दै भने आर्थिक र व्यापारिक विषयलाई राजनीतिकरण गर्नु विश्व बजारलाई कृत्रिमरूपमा विभाजन गर्नु र व्यापार युद्ध तथा कर युद्धको सहारा लिनु विश्व अर्थतन्त्रका लागि घातक छ। तर इतिहासको प्रवाह उल्ट्याउन सकिँदैन बहुध्रुवीय संसार अब निश्चित रूपमा आउँदैछ।
यो भनाइ केवल कूटनीतिक अभिव्यक्ति होइन वैचारिक संकेत पनि हो कि पूँजीवादी एकाधिकारको अन्त र शक्तिसन्तुलनमा आधारित नयाँ विश्व संरचनाको सुरुवात भइसकेको छ। चीनको दृष्टिमा बहुध्रुवीय संसार” भनेको सहयोग र सहअस्तित्वमा आधारित वैश्विक शासनको अवधारणा हो जसले कुनै पनि राष्ट्रलाई आर्थिक उपनिवेश बन्नबाट जोगाउँछ।
१. अमेरिकी वर्चस्वको एकध्रुवीय युग अन्त्यको दिशामा छ।
२. नयाँ बहुध्रुवीय शक्ति सन्तुलनको युग आरम्भ हुँदैछ।
तर प्रश्न उठ्छ यस्तो शक्ति सन्तुलनले विश्वका मजदुर वर्गका लागि के अर्थ राख्छ? के यो परिवर्तनले श्रमजीवी वर्गको स्थिति सुधार्छ वा फेरि पनि पूँजीपतिहरूबीचको प्रतिस्पर्धामा मजदुर नै बलिको बोका बन्नेछन्?
१. चीन अमेरिकी आर्थिक द्वन्द्वको वास्तविक स्वरूप
चीन र अमेरिकाबीचको संघर्ष केवल कर र निर्यात आयातको विवाद होइन यो वैचारिक र संरचनात्मक प्रतिस्पर्धा हो। अमेरिका पूँजीवादी एकाधिकारको प्रतिनिधि हो जसले डोलर केन्द्रित वित्तीय प्रणाली, सैन्य प्रभुत्व र बहुराष्ट्रिय कम्पनीहरूका जालोमार्फत विश्वलाई नियन्त्रण गर्छ।
चीन अर्कोतर्फ समाजवादी राज्य नियमनमा आधारित आर्थिक मोडेल प्रस्तुत गर्दैछ जसले सहकार्य दीर्घकालीन योजना र साझा विकासको दृष्टिकोण अघि सारेको छ। यही कारण अमेरिकाले चीनविरुद्ध आर्थिक युद्ध सुरु गरेको हो कर नाकाबन्दी र दबाबमार्फत प्रतिस्पर्धालाई अवरोध गर्ने रणनीति अपनाउँदै। ट्रम्प प्रशासनको अमेरिका फर्स्ट नीति त्यसैको प्रतीक हो। तर यो नीति उल्टो परिघटनाको संकेत पनि हो कि अब अमेरिका विश्व अर्थतन्त्रमा आफ्नो सर्वोच्चता गुमाउँदैछ।
२. मजदुर वर्गमाथिको प्रत्यक्ष प्रभाव
लेनिन भनाइ-जब पूँजीपति राष्ट्रहरूबीच प्रतिस्पर्धा तीव्र हुन्छ त्यसको भार सधैं मजदुर वर्गका काँधमा पर्छ। आजको चीन अमेरिकी प्रतिस्पर्धा त्यसको ठ्याक्कै उदाहरण हो। उद्योग बन्द र रोजगारी घट्दै चीनका निर्यातमुखी उद्योगहरूले अमेरिकी बजार गुमाउँदा लाखौं श्रमिक बेरोजगार भएका छन्। अमेरिकामा पनि असर उच्च करका कारण उपभोग्य वस्तु महँगिँदा अमेरिकी मजदुरको क्रयशक्ति घट्दैछ।
विकासोन्मुख देशहरूमा दबाब दक्षिण एसिया र अफ्रिकामा कच्चा पदार्थको माग घट्दा स्थानीय श्रमिकहरू रोजगारीविहीन भएका छन्। यसरी, पूँजीपति राष्ट्रहरूको नाफा युद्धमा विश्वका मजदुरहरू साझा पीडामा बाँधिएका छन्। उनीहरू उत्पादन गर्छन्, तर नीतिगत प्रतिस्पर्धाको परिणामभोगी बन्छन्।
३. मजदुर वर्गका लागि चेतावनी र अवसर
मार्क्स र लेनिनले भनिसकेका छन् विश्वका मजदुर एक होओ! किनभने तपाईँहरूको शत्रु एउटै हो पूँजी। आज यो भनाइ अझ अर्थपूर्ण बनेको छ। चीन अमेरिकी व्यापार युद्धले देखाएको छ मजदुरहरू राष्ट्रका सीमाभन्दा पर एउटै आर्थिक शृंखलाका हिस्सा हुन्। चीनको कारखाना बन्द हुँदा नेपाल, भारत, बंगलादेशका ठेकदारहरू पनि प्रभावित हुन्छन्। त्यसैले, अब वर्गीय दृष्टिकोण विश्वव्यापी हुनुपर्छ । “कसको पक्ष लिने? भन्दा “कुन प्रणालीले श्रमलाई सम्मान दिन्छ? भन्ने प्रश्न उठ्नुपर्छ।
४. बहुध्रुवीय संसार अवसर र चुनौती
चीनले अघि सारेको बहुध्रुवीय संसारको अवधारणा मूलत शक्ति सन्तुलन र सहयोगमा आधारित हो। तर यदि यो बहुध्रुवीयता पनि पूँजीवादी प्रतिस्पर्धाको अर्को रूप बन्यो भने मजदुरको हालत फेरि उस्तै हुनेछ। त्यसैले यो नयाँ संरचनामा मजदुर–केन्द्रित अर्थनीति अपरिहार्य छ । राज्यले सामाजिक सुरक्षामा लगानी बढाउनुपर्छ न्यूनतम तलबको अन्तर्राष्ट्रिय मापदण्ड तय गर्नुपर्छ र सार्वजनिक उद्योगहरूलाई पुन सक्रिय बनाउनुपर्छ। विकास केवल नाफा होइन जनकल्याणमा आधारित हुनुपर्छ।
५. मजदुर वर्गले के गर्नुपर्छ ?
क) चेतनाको क्रान्ति
मजदुरले बुझ्नुपर्छ चीन र अमेरिकाको यो संघर्ष उनीहरूको हितका लागि होइन। यो पूँजीको नाफाको युद्ध हो। त्यसैले वर्गीय चेतना आवश्यक छ । म कुन देशको होइन कुन वर्गको पक्षमा छु?” भन्ने आत्म–प्रश्न जागृत गर्नुपर्छ।
ख) संगठन र ऐक्यबद्धता
मजदुर संगठनहरू राष्ट्रिय सीमाभन्दा बाहिर जोडिनुपर्छ। अन्तर्राष्ट्रिय ट्रेड यूनियनहरूको सञ्जाल, श्रमिक सम्मेलन, र डिजिटल प्लेटफर्महरूबाट साझा आवाज निर्माण गर्नुपर्छ।
ग) वैकल्पिक अर्थनीति र आत्मनिर्भरता
स्थानीय उत्पादन सहकारी उद्योग र श्रममैत्री नीतिहरूको समर्थन गर्नुपर्छ। मजदुर वर्गले केवल माग राख्ने होइन, नीति निर्माणमा पनि सक्रिय सहभागिता जनाउनुपर्छ।
६. वर्गीय दृष्टिकोण र भविष्यको बाटो
लेनिनले भनेका थिए-साम्राज्यवादको अन्त केवल युद्धले होइन, मजदुर वर्गको संगठित जागरणले सम्भव हुन्छ। त्यसैले आज बहुध्रुवीय संसारको आगमनले एक अवसर ल्याएको छ । पूँजीको वर्चस्व तोड्ने श्रम केन्द्रित विश्वव्यवस्था निर्माण गर्ने र समानता–आधारित विश्व शासनको नयां अध्याय खोल्ने। यदि मजदुर वर्ग सचेत रह्यो भने बहुध्रुवीय संसार केवल शक्तिशालीहरूको खेल होइन जनताको संसार बन्न सक्छ।
विश्वका मजदुर एक होओ! चीन र अमेरिकाबीचको व्यापारिक युद्ध केवल दुई देशको आर्थिक टकराव होइन यो विश्व शक्ति सन्तुलनको पुनर्लेखन हो। तर वास्तविक प्रश्न शक्ति होइन श्रमको न्याय हो। मजदुर वर्गले सीमाभन्दा पर उठेर सहकार्य चेतना र एकताको नयाँ मोर्चा निर्माण गर्नुपर्छ।
अन्तत-बहुध्रुवीय संसार तब मात्र न्यायपूर्ण हुन्छ जब त्यसको केन्द्रमा पूँजी होइन श्रम हुन्छ।




















