नेपाल कम्युनिस्ट पार्टी (माओवादी) ले खाना पकाउने ग्यासको सहज आपूर्ति गर्न सरकारलाई ३२ घण्टे अल्टिमेटम दिएको छ। पार्टीका महासचिवद्वारा जारी प्रेस विज्ञप्तिमार्फत ग्यासको आपूर्ति सहज नबनाए नेपाल बन्दलगायतका संघर्षका कार्यक्रम घोषणा गर्ने चेतावनी दिइएको हो।
माओवादीले पछिल्लो समय देशमा बढ्दै गएको महँगी, कालोबजारी, भ्रष्टाचार, बेरोजगारी तथा जनजीविकासँग सम्बन्धित समस्याप्रति सरकार गम्भीर नभएको आरोप लगाएको छ। विज्ञप्तिमा नेपाली जनता महँगीको मारमा परेको, मजदुर–किसान तथा विद्यार्थी र आदिवासी जनजातिसहित विभिन्न वर्ग समस्यामा रहेको उल्लेख गरिएको छ।
पार्टीले बजारमा चरम मूल्यवृद्धि र अत्यावश्यक वस्तुको अभाव देखिँदा पनि सरकार मौन बसेको भन्दै तत्काल समस्या समाधान गर्न माग गरेको छ। विशेषगरी खाना पकाउने ग्यासको अभावले सर्वसाधारणको दैनिक जीवन प्रभावित भएको भन्दै ३२ घण्टाभित्र ग्यासको सहज आपूर्ति र मूल्यवृद्धि नियन्त्रण गर्न सरकारलाई चेतावनी दिइएको छ।
माओवादीले आफ्ना माग पूरा नभए पार्टीका नेता–कार्यकर्ता, समर्थक तथा जनसमुदायलाई संघर्षमा उत्रन आह्वान गर्ने जनाएको छ। विज्ञप्तिमा आवश्यक परे सरकारसँग जोडिएका विभिन्न निकाय तथा जिम्मेवार व्यक्तिविरुद्ध प्रतिरोधका कार्यक्रम अघि बढाउने संकेतसमेत गरिएको छ।
पार्टीले वर्तमान सरकार जनताको समस्याप्रति संवेदनशील नभएको आरोप लगाउँदै सरकारको कार्यशैलीप्रति असन्तुष्टि जनाएको छ। साथै, जनताको जीवनयापन सहज बनाउन तत्काल प्रभावकारी कदम चाल्न सरकारसँग माग गरेको छ।
माओवादीले आफ्नो विज्ञप्तिमा “महान् जनयुद्धको बाटो हुँदै नयाँ जनवादी क्रान्ति पूरा गरी राष्ट्रिय मुक्ति क्रान्तिमा गोलबन्द हुन” आम नेपाली जनसमुदायलाई आह्वानसमेत गरेको छ। माओवादी केन्द्रका आधिकारिक वेबसाइटमा पनि पार्टीका विभिन्न प्रेस विज्ञप्तिहरू प्रकाशित हुँदै आएका छन्।


















