चुनाव उठ्नेबारे कुनै निर्णय गरेको छैन : सञ्चारमन्त्री खरेल

सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले आफूले निर्वाचनमा उम्मेदवारी दिनेबारे कुनै निर्णय नगरेको स्पष्ट पारेका छन् । राष्ट्रिय स्वतन्त्र पार्टीको तर्फबाट निर्वाचनमा उम्मेदवारी दिने चर्चा भइरहेका बेला उनले आफूले अहिलेसम्म सो विषयमा निर्णय नलिएको स्पष्टीकरण दिएका हुन् ।

बुधबार नेपाल पत्रकार महासंघ भक्तपुर शाखाले आयोजना गरेको एक कार्यक्रममा बोल्दै मन्त्री खरेलले आफू र वर्तमान सरकारको सम्पूर्ण ध्यान चुनावमा रहेको पनि बताएका छन् । ‘म यहाँहरुलाई आज स्पष्ट पार्न चाहन्छु-मैले अहिलेसम्म चुनावमा उठने वा नउठने भन्ने केही पनि निर्णय गरेको छैन ।

दोस्रो कुरा यहाँहरुलाई म स्पष्ट पार्न चाहन्छु-म आजको दिनसम्म कुनै पनि पार्टीमा प्रवेश गरेको छैन, गएको छैन । वार्ता वा छलफल गरेको छैन,’ उनले भने, ‘आउँछु पनि भनेको छैन । जान्छु भनेको छैन । मैले केही पनि भनेको छैन । र, मेरो अहिले सम्पूर्ण ध्यान यो अन्तरिम सरकारको सम्माननीय प्रधानमन्त्री सुशीला कार्की नेतृत्वको सरकारको ध्यान चुनाव गराउन रहेको छ ।’

आफूले निर्वाचनमा उठ्नका लागि कुनै पनि पार्टीसँग छलफल समेत नगरेको विषयलाई लिएर सञ्चार माध्यमहरूले झुटो समाचार सम्प्रेषण गरेको भन्दै मन्त्री खरेलले असन्तुष्टि समेत व्यक्त गरेका छन् ।