क्यानडाको ब्रिटिस कोलम्बिया प्रान्तस्थित एक माध्यमिक विद्यालय र नजिकैको आवासीय क्षेत्रमा भएको गोलीकाण्डमा नौ जनाको ज्यान गएको छ । मंगलबार दिउँसो टम्बलर रिज सेकेन्डरी स्कुलमा बन्दुकधारीले अन्धाधुन्ध गोली प्रहार गरेपछि स्थिति तनावग्रस्त बनेको थियो। घटनास्थलमै छ जनाको मृत्यु भएको थियो भने दर्जनौँ घाइते भएका थिए ।
अस्पताल लैजाँदै गर्दा थप एक जनाको मृत्यु भएको र संदिग्ध आक्रमणकारी पनि मृत फेला परेको प्रहरीले जनाएको छ। आक्रमणकारीले आफैँलाई गोली हानेर आत्महत्या गरेको प्रारम्भिक अनुसन्धानले देखाएको छ । विद्यालयमा भएको नरसंहारको केही समयपछि प्रहरीले सोही घटनासँग सम्बन्धित मानिएको एक घरमा थप दुई जनालाई मृत फेला पारेको थियो ।
यससँगै मृतकको संख्या नौ पुगेको छ। गम्भीर अवस्थामा रहेका दुई जनालाई हेलिकप्टरमार्फत अस्पताल पुर्याइएको छ भने अन्य २५ जनाको स्थानीय मेडिकल सेन्टरमा उपचार भइरहेको छ।


















