नेपालको इतिहास धेरै अन्योलको साक्षी बनेको छ । यहाँ विभिन्न षड्यन्त्रकारी राजनीतिबाट सत्ता परिवर्तन भएका धेरै उदाहरण पनि छन् । यी सबै आन्दोलनभन्दा पृथक् २०६२–०६३ को आन्दोलनबाट नेपाल गणतन्त्रात्मक मुलुक बन्न पुग्यो । सन् १५५९ मा द्रव्य शाहद्वारा स्थापित शाहवंशका अन्तिम राजा हुन पुगे श्री ५ ज्ञानेन्द्रविक्रम शाह । राजा ज्ञानेन्द्रले के गरे के गरेनन् भन्ने चासो र सोधखोज यहाँ गर्न खोजिएको छैन । सहज रूपमा गद्दी त्याग गरी शान्तपूर्वक नेपालमा नै बस्ने उनको चाहनालाई भने सराहना गर्नै पर्छ ।जनताको नासो जनतालाई बुझाएको अभिव्यक्ति दिने राजा ज्ञानेन्द्रले चाहेका भए केही उखरमाउलो गर्न या गराउन सक्दथे तर गरेनन् । त्यो उनको महानता हो । तर, हाल दुई दशकको अन्तरालपछि राजसत्ता फर्काउने चर्चाले महत्त्व मात्र पाएन सडक नै तात्यो । दुईजनाले त मृत्युवरण नै गर्नुप¥यो भने कयौँ घाइते भए । २०८१ साल फागुन ७ गतेबाट प्रारम्भ भएको राजावादी आन्दोलन अझै पूर्णतया सेलाएको छैन । उता सरकारले आन्दोलनलाई निस्तेज पार्न अनेकौं रणनीति चालिरहेको छ । राजावादीहरू पनि चुपचाप लागेका छैनन् । जेनजी आन्दोलनपश्चात् त झन राजावादीहरूको मनोबल बढेको छ । यसको परिणति के हुने हो भविष्यले नै बताउला । यसमा राजा ज्ञानेन्द्रकै पुनः श्रीपेच लगाउने चाहना हो या नेपालमा संवैधानिक राजतन्त्रका पक्षधरको भूमिका हो या असन्तुष्ट जमात एक ढिक्का भएका हुन् या अरू आन्तरिक, बाह्य र गुह्य कारण छन् ? बिस्तारै खुल्दै जाला । हालैको यस घटनाले नेपालको इतिहासमा गद्दीनसिन राजाहरू पदच्युत भएका र पुनः स्थापित भएका केही प्रसङ्गका विष्यमा चर्चा गर्नु प्रासङ्गिक नै होला भनेर यो आलेख उपस्थित छ ।
विश्वको इतिहासमा राजतन्त्र समाप्ति भएका र पुनःस्थापना भएका धेरै उदाहरण छन् । बेलायतमा सन् १६४९ मा राजतन्त्र अन्त्य भएकोमा सन् १६६० मा पुनः स्थापना भई हालसम्म अविछिन्न सम्मानित भइरहेको छ । सन् १७७९ को फ्रान्सको राज्यक्रान्तिले राजतन्त्र समाप्त गरेकोमा नेपोलियन बोनापार्टले पुनः राजतन्त्र कायम गराई आफू बादसाह बन्न पुगे । सन् १८१५ मा पुनः बुर्बो वंशकै लुई १८औँ बादसाह भए । यद्यपि सन् १८४८ मा पुनः फ्रान्सबाट राजतन्त्र सदाका लागि बिदा पनि भयो । अब पुनः नेपालको इतिहासतर्फ नै फर्कौँ ।
नेपालको केही हदसम्मको प्रामाणिक इतिहास लिच्छविकालको पूर्वार्धबाट प्रारम्भ हुन्छ । यसै वंशका राजा शिवदेवले आफ्नै भानिज (ज्वाइँ?) अंशुवर्माबाट गद्दीच्युत हुनुप¥यो । तर, अंशुवर्मापछि पुनः शिवदेवकै छोरा उदयदेव राजा हुन पुगे । तिनै उदयदेव फेरि गुप्तहरूद्वारा गद्दीच्युत भई भोटको शरणमा पुगे । भोटको सहायताबाट उदयदेवका छोरा नरेन्द्रदेव पुनः राजगद्दीमा बस्न सफल बने ।
मध्यकालमा पनि खसिया, मल्ल, बाइसी, चौबिसी राज्य तथा नेपाल खाल्डोमा नै राजाहरू पदच्युत भई पुनः शक्ति हत्याउन सफल भएका धेरै घटना छन् । प्रताप मल्लले भारतका मुगल शासक औरङजेबले जस्तै आफ्नै पिता लक्ष्मीनरसिंह मल्ललाई गद्दीबाट हटाई आफै राजा भएका थिए । कान्तिपुरका अन्तिम मल्लराजा जयप्रकाश मल्लले आफ्नै भाइ र रानीको षड्यन्त्रमा परी राजपाठ गुमाएका थिए भने कालन्तरमा आफ्नो सत्ता फिर्ता लिन पनि सफल भएका थिए । पाटनका ६ प्रधानको त जगजगी नै थियो, राजा फेर्ने कुरामा । उनीहरूले भक्तपुर, कान्तिपुर तथा गोरखाबाट ल्याई राजा बनाउने र पदच्युत गर्ने पनि गरिरहे । यसरी पदच्युत भएकाहरू पुनः राजा हुन पाएनन् ।
गोर्खा राजवंशको स्थापना गर्ने द्रव्य शाहकै नाति पूर्ण शाहको गोरखाका राजा हुँदाहुँदै मृत्यु भएकाले उनका भाइ रामशाह गोर्खाका राजा भए । पूर्ण शाहका कुनै सन्तान नभएका कारण भाइमा शासन हस्तान्तरण भएको थियो । शाहवंशमा दाजुबाट भाइमा शासन हस्तान्तरण भएको यो नै पहिलो घटना थियो भने विसं २०५८ मा राजा वीरेन्द्रको वंशनाश भएपछि उनैका भाइ ज्ञानेन्द्र राजा भएको दोस्रो घटना बन्न पुग्यो । गोर्खाली राजा पृथ्वीनारायण शाहले नव नेपाल निर्माण गरेको अधिराज्यमा उनकै नाति रणबहादुर शाहले स्वेच्छाले गद्दी त्याग गरी छोरा गीर्वाणलाई राजा बनाए । कालान्तरमा राज्यसत्ता आफ्रनै हातमा लिने अनेकौँ प्रपञ्च गरे तापनि पुनः श्रीपेच लगाउने धृष्टता गरेनन् । रणबहादुरकै नाति राजेन्द्रलाई जङ्गबहादुरले राज्यच्युत गरी उनकै छोरा सुरेन्द्रलाई गद्दीमा बसाले । राजेन्द्रले पुनः सत्तामा आउन गरेका प्रयासहरू असफल भए । अलौपर्वपछि त उनले बन्दी जीवन नै व्यतीत गर्नुप¥यो ।
संवत् २००७ सालमा राजा त्रिभुवन सपरिवार भारतमा शरण लिन पुगेपछि श्री ३ मोहनशमशेरले उनकै माइला नाति ज्ञानेन्द्रलाई गद्दीमा राखे । तर, २००७ सालको आन्दोलनपश्चात् पुनः त्रिभुवन नै राजा भए । विसं २०५९ सालमा राजा वीरेन्द्रको वंशनाश भएपछि काकतालीले ५२ वर्षपछि पुनः ज्ञानेन्द्र नै श्री ५ भए । राजा ज्ञानेन्द्रको दोस्रो राज्यकाल पनि २०६२–०६३ को आन्दोलनले समाप्त ग¥यो । अब नेपालमा राजतन्त्र नै एकादेशको कथा जस्तो हुनपुगेको छ ।
संवत् २०६२–०६३ को आन्दोलनपश्चात् राजा ज्ञानेन्द्रको श्रीपेच मात्र हरिएन नेपालबाटै राजतन्त्र पनि इतिहास भयो । इतिहासका विभिन्न कालखण्डमा राजा पदच्युत हुँदा राजतन्त्र समाप्त भएन । केवल सत्ता एकबाट अर्को शासक वा वंशमा हस्तान्तरित भयो । लिच्छवि राजा नरेन्द्रदेवले भोटको सहायताबाट गुमेको राजपाठ फिर्ता लिन सफल भएका थिए भने त्रिभुवनलाई नेपाली जनता र भारतीय सदासयताबाट गद्दी फर्काउन सम्भव भएको थियो । नेपालबाट राजतन्त्र समाप्त गर्न र हाल हिन्दुराष्ट्रसहित राजसत्ता पुनस्थापना गर्न दुवैमा भारतको भूमिका रहेको विषयक चर्चा परिचर्चाले गति लिएको छ । यो टिप्पणीमा कतिको ओजन छ त्यो त अनुमान नै हो । तर, हिजोदेखि नेपालको राजनीतिमा भारतले लिएको नीति हेर्दा के हो, के हो ? भन्नुपरेको अवस्था छ । यस पृष्ठभूमिमा अब पुनः नेपालमा राजतन्त्र त्यसमा पनि शाहवंशका अन्तिम राजा ज्ञानेन्द्र नै पुनः स्थापित हुने कुरा कत्तिको सहज वा सम्भव छ या सोमनाथकै सपना जस्तै हो सो आँकलन गर्न सकिने कुरा भएन । तर, जड कुरा किन राजतन्त्र स्थापनाको मुद्दाले हाल आएर गति लियो, समर्थकहरू किन देखिए, आन्दोलन नै किन भयो ? यसको मौलिक कारण खोज्नुपर्ने बेला भएको छ । संवत् २०६२–०६३ पश्चात् नेपालमा विकसित राजनीतिबाट राजावादी आन्दोलनलाई मलजल गरेको हो कि होइन सोको उत्तर खोज्ने बेला आएको छ । गणतन्त्रमा नेपाल राम राज्य हुने, नेपाली सुखी भई समुन्नत हुने, सबैको चाहना पूरा हुने जस्ता अनेकौं आश्वासन दिने कुरामा नेताहरू कहिल्यै थाकेनन् । तर, जनअपेक्षा पूरा हुन सकेन । राजनीतिकर्मीबाहेक रामराज्य कसैलाई आएन । यत्रतत्र सर्वत्र राजनैतिक कार्यकर्ताहरूको वर्चस्व रह्यो । सबै सरकारले उनीहरूकै स्वार्थमा सर्वाधिक ध्यान दिए । यसको चरम उत्कर्ष थियो जेन्जी आन्दोलन । तर, यस आन्दोलनपश्चात् पनि मूल समस्याको पहिचान गरी सम्बोधन गर्नतर्फ कोही लागेनन् ।
बेलायतमा गणतन्त्रले जनतालाई सन्तोष दिन नसकेको कारणबाट राजतन्त्र पुनस्र्थापित भयो । फ्रान्सको राज्यक्रान्तिपश्चात् उत्पन्न अस्थिर र अराजक राजनीतिबाट नेपोलियन बादसाह हुन पुगे । केही समय युरोपलाई नै आफ्नो हातमा नचाउने यी शासक सबै युरोपियन राज्य विशेषतः बेलायतको कारणबाट नासिए र पुरानै बुर्बोवंश स्थापना भयो । यसकारण २०६२–०६३ पछि विकसित राजनीतिको उपज राजावादी आन्दोलन हो भन्ने चर्चा चल्न थालेको छ । जेन्जी आन्दोलन पश्चात् विकसित राजनीतिक परिदृश्यमा हिन्दुराज्य घोषणा र राजतन्त्रको पुनस्थापनाको मुद्दाले झन् गति लिन थालेको छ । दुर्गा प्रसार्इँको स्वर चर्को हुँदै गएको छ । यसमा राजा ज्ञानेन्द्रको भने त्यति ठूलो चासो देखिएको छैन, उनले मरिहत्ते पनि गरेका छैनन् । शान्तिपूर्वक श्रीपेच त्यागेका राजाले अशान्ति ल्याई राजा हुन पनि अवश्य नचाहलान् । यसको समुचित विश्लेषण त समयले नै गर्नेछ । यस टिप्पणीमा विमति राख्नेमा सबै राजनीतिक पार्टीहरू देखिन्छन् । तर, पहिलेको जस्तो चर्को स्वर छैन । जे भए पनि जनअसन्तोषको सम्बोधन गर्न सम्बन्धित सबै अग्रसर हुनै पर्दछ । यो मार्मिक र कटु सत्यलाई आत्मसात गरी सम्बन्धित सबैले उपयुक्त रणनीति नलिएमा भोलिको दिन के हुन्छ कसैले पनि भविष्यवाणी गर्न सक्ने स्थिति छैन ।




















