बालेन शाहलाई संकेत गर्दै शर्माले भने- इन्जिनियर र ठेकेदारलाई रुखमा बाँधेर देश बन्दैन

नेपाली काँग्रेसका उपसभापति विश्वप्रकाश शर्माले इन्जिनियर, निर्माण व्यवसायी र श्रमिकलाई दोषी देखाउँदै रुखमा बाँधेर देश नबन्ने बताएका छन् । गुल्मी-१ मा आयोजित चुनावी सभालाई सम्बोधन गर्दै नेपाली कांग्रेसका उपसभापति शर्माले उत्तेजित भाषण र प्राविधिक जनशक्तिमाथि आरोप लगाएर विकास सम्भव नहुने बताएका छन ।

उनले यस सन्दर्भमा बालेन शाहतर्फ संकेत गर्दै श्रमिक र प्राविधिक जनशक्तिको सम्मान आवश्यक रहेको टिप्पणी गरेका छन् । शर्माले स्पष्ट दृष्टिकोण, योजनाबद्ध कार्यशैली र निरन्तर परिश्रम बिना देश निर्माण सम्भव नहुने उल्लेख गरे । उनले भने, ‘पैसामात्र भएर देश बन्दैन, सोच र संकल्प आवश्यक हुन्छ ।’ विकास निर्माणलाई तीव्रता दिन कांग्रेसले तीन सिफ्टमा काम गर्ने योजना अघि सारेको जानकारी दिँदै उनले विगतमा १० वर्षमा सकिनुपर्ने काम ३० वर्ष लागेको स्मरण गराएका छन् । अब दिन-रात काम गरेर ३० वर्षको काम १० वर्षमै सक्ने समय आएको उनको भनाइ थियो ।

उनले ‘सूर्य अस्त, नेपाल मस्त’ भन्ने सोच त्यागेर उत्पादनशील र परिणाममुखी कार्यसंस्कृति अपनाउनुपर्नेमा जोड दिए । देशलाई अघि बढाउन सबै क्षेत्रको सहकार्य, सकारात्मक सोच र कडा मेहनत आवश्यक रहेको उनले बताए । कार्यक्रममा प्रतिनिधिसभा उम्मेदवार चन्द्र भण्डारी लगायत प्रदेश तथा जिल्ला स्तरका नेताहरूले पनि सम्बोधन गरेका थिए ।