उत्तर कोरियाली नेता किम जोङ उनले आफ्नी किशोरी छोरीसँगै बहु–रकेट प्रक्षेपण प्रणालीको प्रत्यक्ष प्रहार अभ्यास अवलोकन गर्नुभएको छ । राज्य सञ्चारमाध्यमले आइतबार सार्वजनिक गरेको विवरणअनुसार उक्त परीक्षणलाई दक्षिण कोरिया र अमेरिकाबीच भइरहेको संयुक्त सैनिक अभ्यासप्रति उत्तर कोरियाको सम्भावित प्रतिक्रियाका रूपमा हेरिएको छ ।
उत्तर कोरियाको सरकारी समाचार संस्थाले किमले शनिबार देशको पूर्वी समुद्री किनार क्षेत्रमा सञ्चालन गरिएको आक्रमण अभ्यास प्रत्यक्ष रूपमा अवलोकन गर्नुभएको जनाएको छ । उक्त अभ्यासमा ६०० मिलिमिटर क्षमताका अत्यन्त सटीक बहु–रकेट प्रक्षेपण यन्त्रका १२ वटा प्रक्षेपक प्रयोग गरिएको बताइएको छ ।
राज्य समाचार संस्थाले किमलाई उद्धृत गर्दै उक्त अभ्यासले ४२० किलोमिटरभित्र रहेका सम्भावित शत्रुहरूलाई ‘असहज बनाउने’ र उनीहरूलाई ‘रणनीतिक आणविक हतियारको विनाशकारी शक्ति कति भयावह हुन सक्छ भन्ने गहिरो समझ दिने’ बताउनुभएको जनाएको छ । यदि यस्तो हतियार प्रयोग गरियो भने प्रहार दायराभित्र रहेका विरोधी पक्षका सैन्य संरचनाहरू जोगिन नसक्ने उgको भनाइ उद्धृत गरिएको छ ।
प्रकाशित तस्बिरहरूमा किम र उहाँकी छोरी विशाल ओलिभ रङका प्रक्षेपण ट्रकहरू नजिकै हिँडिरहेको र तीबाट हतियार प्रहार भइरहेको दृश्य देखिएको छ । ती किशोरीलाई किम जोङ उनकी छोरी किम जु ए भएको मानिन्छ र उनको उमेर करिब १३ वर्ष रहेको बताइन्छ । सन् २०२२ को अन्त्यदेखि उनले क्षेप्यास्त्र परीक्षण, सैनिक परेड र अन्य महत्त्वपूर्ण कार्यक्रमहरूमा आफ्ना बुबासँग सार्वजनिक रूपमा उपस्थिति जनाउँदै आएकी छन् । यसले उनलाई सम्भावित उत्तराधिकारीका रूपमा तयार पारिएको हुन सक्ने अड्कलहरूलाई बल दिएको विश्लेषकहरू बताउँछन् ।
यसैबीच अमेरिका र दक्षिण कोरियाबीच सञ्चालन भइरहेको वसन्तकालीन संयुक्त सैनिक अभ्यास जारी छ । उक्त अभ्यास मुख्यतया कम्प्युटरद्वारा सञ्चालन गरिने कमान्ड केन्द्र अभ्यासमा केन्द्रित रहेको बताइएको छ र यो मार्च १९ सम्म चल्नेछ ।
उत्तर कोरियाले यस्ता संयुक्त सैनिक अभ्यासलाई प्रायः आक्रमणको पूर्वाभ्यासका रूपमा व्याख्या गर्दै आएको छ । त्यसैले प्योङयाङले प्रायः आफ्ना हतियार परीक्षण र कडा चेतावनीपूर्ण वक्तव्यहरूमार्फत त्यसको प्रतिक्रिया दिने गरेको विश्लेषकहरूले बताएका छन् ।






















