यस्ता छन् काभ्रेली सांसदसँग नागरिकको अपेक्षा

काभ्रेपलाञ्चोकको दुवै प्रतिनिधिसभा निर्वाचन क्षेत्रमा नवनिर्वाचित राष्ट्रिय स्वतन्त्र पार्टी ९रास्वपा० सांसदहरूले मतादातासँगको ‘भेटघाट–धन्यवाद’ कार्यक्रमलाई हाल अन्तिम चरणमा पुर्‍याएका छन् । उनीहरूले मतदातालाई धन्यवाद मात्रै दिएका छैनन्, नागरिकका समस्या, गुनासा र सुझाव पनि सङ्कलन गरिरहेको पाइन्छन् ।

गत फागुन २१ गते सम्पन्न प्रतिनिधिसभा सदस्यको निर्वाचनमा जिल्लाको १ नं क्षेत्रमा रास्वपा मधुकुमार चौलागाईं र क्षेत्र नं २ मा बदन भण्डारीले फराकिलो मतान्तरले विजयी भएको हो । आ–आफ्ना क्षेत्रका नागरिकले अत्यधिक मतले विजयी गराएपछि यतिबेला दुवै सांसद आफ्ना मतदातासँग भेटघाट गर्दै धन्यवाद ज्ञापन गरिरहेका हुन् । “जहाँ पुग्छु, त्यहाँ नागरिकको ठूलो अपेक्षा रहेको पाएँ”, १ नं क्षेत्रका सांसद चौलागाईंले भने । मतदाताहरूले नयाँ–पुराना समस्या खुलेरै आफूसँग राखेको उनको भनाइ छ । “म पनि नागरिकको समस्या, गुनासा र सुझावबमोजिम कामका योजना बनाइरहेको छु,” उनले भने ।

चौलागाईंले २९ हजार ६१८ मत प्राप्त गरेको थियो । उनका निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसका गुणराज मुक्तान १० हजार ४५२ मतान्तरले पराजित भएको हो । भौगोलिक रूपमा अधिकांश क्षेत्र विकटका रूपमा रहेकाले पनि नागरिकको समस्या खानेपानी र सडकको रहेको पाएको चौलागाईं बताए । उनले भने, “काभ्रेली जनताको सुशासन र समृद्धिको चाहनाको प्रतिफलका रूपमा लिएको छु, नागरिकका लागि मैले निकै मेहेनत गर्नुपर्ने देखिन्छ ।” उनले भेटघाटका क्रममा अबको समय नागरिकको सेवक बनेर विकास निर्माणमा केन्द्रित हुने प्रतिबद्धता व्यक्त गर्दै आएको छ । चौँरीदेउराली गाउँपालिका–५ निवासी उहाँ पेसाले अधिवक्ता थिए ।

यसैगरी, क्षेत्र नं २ का सांसद भण्डारीले आफ्नो क्षेत्रका सबैजसो स्थानीय तहका गाउँ–टोलका मतदातासँग भेटघाटलाई करिब अन्त्यमा पुर्‍याएको बताए । उनले पनि जहाँ पुग्दा स्थानीय नागरिकले आफूसँग ठूलो अपेक्षा राखेको बताए । “मलाई किसानको समस्या धेरै आएको छ, ती समस्या समाधान गर्न योजनाबद्ध रूपमा अघि बढ्नुपर्ने देख्छु”, उनले भने । किसानले समयमा रासायनिक मल नपाएको तथा पाए पनि अपर्याप्त, सिँचाइको समस्या, उत्पादित तरकारीले बजार नपाउँदा निकै दु:ख झुल्नुपरेको, दूधले समेत उचित मूल्य नपाउँदा मेहेनत र लागत दुबै जोखिममा परेको गुनासो आफूले पाएको भण्डारीले बताए ।

क्षेत्र नं १ को तुलनामा क्षेत्र नं २ मा खेतीयोग्य जमिन धेरै छ । यसकारण पनि किसानका समस्या हुनुमा स्वाभाविक देख्नुहुन्छ, भण्डारी । उनले भने, “तर पाइएका समस्या धेरै वर्षदेखिका देखिन्छन्, किसानका समस्या प्राथमिकतामा पार्नुपर्ने देखिन्छ ।” सबैजसो किसान मतदाताको उस्तै समस्या–गुनासा सुनेपछि उनले बहुसङ्ख्यक किसानका समस्यामा आफू पनि चिन्तित रहेको बताए ।

सांसद भण्डारीले आफ्नो क्षेत्रमा कृषि र पर्यटनको राम्रो सम्भावनाका देखिएकाले यसबाट समग्र जिल्लाले नै राम्रो फाइदा लिनसक्ने अवस्था रहे पनि त्यसको सदुपयोग गर्न नसकेको पाइएकाले आफूले सक्दो पहल गर्नेसमेत प्रतिबद्धता व्यक्त गरेको छ । “सडक, खानेपानी, स्वास्थ्य र शिक्षाका समस्यालाई प्राथमिकता दिएर अघि बढ्नेछु,” उनले भने । उनले ५३ हजार ३४४ मत ल्याएर निर्वाचित भएको हो । उक्त क्षेत्रमा प्रतिस्पर्धी नेपाली कांग्रेसका मधुप्रसाद आचार्यले १७ हजार ८६८ मत प्राप्त गर्नुभएको थियो । भुम्लु गाउँपालिका–२ सिम्थली निवासी भण्डारी डेढ दशकदेखि राजनीतिमा सक्रिय थिए । ३३ वर्षका युवा भण्डारीको कार्यशैली र विकासको गतिलाई हेर्न आतुर रहेको मतदाता बताउँछन् ।