काठमाडौंमा एमाले विरोध प्रदर्शन, संयमित रहन प्रजिअकाे आग्रह

काठमाडौंका प्रमुख जिल्ला अधिकारी ईश्वरराज पौडेलले पूर्वप्रधानमन्त्री केपी शर्मा ओली पक्राउको विरोधमा जिल्ला प्रशासन कार्यालयमा विरोध पत्र बुझाउन आएका नेपाल कम्युनिस्ट पार्टी (एमाले) का नेता-कार्यकर्तालाई राजनीतिक विषयमा प्रवेश नगर्ने जवाफ दिएका छन्।

प्रजिअ पौडेलले भने, “राजनीतिक विषयमा हामी बिल्कुलै प्रवेश गर्दैनौं। हाम्रो न्युट्रालिटी र प्रोफेस्नालिज्मअनुसार अगाडि बढ्छौं।” एमालेका नेता रामेश्वर फुयालसहितका कार्यकर्ता शनिबार बिहान विरोध पत्र बुझाउन कार्यालय पुगेका थिए। यस क्रममा एक नेताले विषय राजनीतिक मात्र नभई कानुनी पनि भएको दाबी गरे, तर प्रजिअ पौडेलले यसमा बहस नगर्ने प्रतिक्रिया दिएका छन्। प्रजिअले प्रदर्शनका क्रममा केही हिंसात्मक घटना भएको भन्दै त्यसमा संलग्नलाई कानुन अनुसार कारबाही अघि बढाइने जानकारी दिएका छन्। “तिनीहरूको हकमा कानुनी कारबाही अघि बढ्छ। कानुनको सीमाबाट हामी सबै बाँधिएका छौं,” उनले भने।

सुरक्षाकर्मीलाई संयमित हुन निर्देशन दिइएको छ भने एमाले नेता-कार्यकर्तालाई पनि शान्तिपूर्ण र संयमित व्यवहार गर्न प्रजिअले आग्रह गरेका छन्। शनिबारदेखि सुरु भएको विरोध प्रदर्शन माइतीघर-बिजुलीबजार क्षेत्रमा तोडफोड र आगजनीको घटनासमेत देखा परेको थियो, जसलाई नियन्त्रणमा राख्न सुरक्षा निकाय सक्रिय छन्।