एमालेको घोषणा :ओली पक्राउको विरोधमा देशव्यापी प्रदर्शन गर्ने

नेकपा एमालेले पार्टी अध्यक्ष केपी शर्मा ओलीको पक्राउको विरोधमा देशव्यापी प्रदर्शन गर्ने तय गरेको छ । पार्टीको केन्द्रीय सचिवालयको आजको बैठकले चैत २४ गतेदेखि विभिन्न कमिटीमार्फत प्रदर्शन सुरु गर्ने निर्णय गरेको महासचिव शंकर पोखरेलले जानकारी दिएका छन् ।

पोखरेलका अनुसार, चैत २४ गते सबै जिल्ला कमिटीले वृहत कार्यकर्ता भेला आयोजना गर्नेछन्। त्यसपछि पालिका, वडा, प्रदेशसम्म फैलाउँदै राजधानी केन्द्रित विरोध प्रदर्शन गरिनेछ । पार्टीले वैशाख ३ गते वडा तहमा भेला, ७ गते प्रदेश राजधानीहरूमा प्रदर्शन, र वैशाख १२ गते राजधानी काठमाडौंमा विरोध सभा गर्ने तालिका तय गरेको छ ।