फेवाताल किनारको जग्गामा मलाई जग्गाधनीले झुक्याइयोः गृहमन्त्री गुरुङ

गृहमन्त्री सुदन गुरुङले पोखराको फेवाताल किनारको जग्गा लिज प्रकरणमा आफुलाई जग्गाधनीले झुक्याएको दाबी गरेका छन् । तालको ६५ मिटरको मादपण्डभित्र रहेको भनेर आफुलाई जग्गाधनीले झुक्याएको उनको दाबी छ। हाल फेवा ताल किनारका अतिक्रमित संरचना भत्काउने अभियान सुरु भएपछि त्यहाँको जग्गा मन्त्री गुरुङले पनि लिजमा लिएको बाहिर आएपछि उनीमाथि प्रश्न उठेको छ। जग्गा लिजमा लिँदा जग्गा धनीले अतिक्रमित जग्गा भन्ने तथ्य लुकाई झुक्याइ लिजमा दिएर ठगेको भन्दै मन्त्री गुरुङसहित तीन जना साझेदारले कानुन उपचारमा जाने बताएका छन् ।

जग्गाधनीले भने सम्झौताविपरीत गुरुङ भाडा नतिरी सम्पर्कविहिन भएको आरोप लगाएका छन्। पोखराको फेवाताल किनारमा साहसिक पर्यटनको प्रवद्र्धन गर्ने उद्देश्यका साथ करिब ८ वर्ष अगाडि मन्त्री गुरुङसहित तीन जना युवा उद्यमीहरू मिलेर ’एड्भेन्चर स्पोट्र्स नेपाल’ सञ्चालन गर्ने योजनासहित जग्गा लिजमा लिएका थिए ।

मन्त्री गुरुङले भनेका छन् ‘देशमै केही गरौँ भन्ने हुटहुटी र ऊर्जा बोकेका हामीले ठूलो लगानी र सपनाका साथ काम सुरु गरेका थियौँ । जग्गा भाडामा लिनुपूर्व हामीलाई जग्गाधनीहरूले उक्त जग्गा ६५ मिटरको मापदण्डभित्र पर्दैन भनी विश्वास दिलाएका थिए । लालपूर्जामा समेत जग्गा सुरक्षित रहेको देखाएका थिए, तर पछि नगरपालिकाबाट बुझ्दा त्यो त मापदण्डभित्र पर्दो रहेनछ ।’ आफूहरुलाई झुक्याएको थाहा पाएपछि तत्कालै काम रोकेको उनको दाबी छ।