नियमावली मस्यौदा अन्तिम चरणमा, आजै सभामुखसमक्ष पेश

प्रतिनिधिसभाको नियमावली मस्यौदा आज सभामुखसमक्ष पेश गरिने तयारी गरिएको छ। मस्यौदा तयार पार्न गठित समितिलाई दिइएको समयसीमा आजै सकिने भएकाले अन्तिम सहमति जुटाएर दस्तावेज बुझाउन लागिएको हो। समितिका सदस्य यज्ञमणि न्यौपानेका अनुसार मध्याह्न १२ बजे बस्ने बैठकले बाँकी रहेका विषयमा सहमति गर्नेछ र दिउँसो ३ बजे सभामुखलाई मस्यौदा हस्तान्तरण गरिनेछ।

गत २३ चैतमा प्रतिनिधिसभाले रास्वपाका सांसद गणेश पराजुलीको संयोजकत्वमा मस्यौदा समिति गठन गरेको थियो। समितिमा ओजस्वी शेरचन, खगेन्द्र सुनार, खुस्बु ओली, गजला समिम मिकरानी, तपेश्वर यादव, ध्रुवराज राई, निशा डाँगी, निश्कल राई, वलावती शर्मा, मधु चौलागाईं, यज्ञमणि न्यौपाने, रेखा कुमारी यादव र सुलभ खरेल सदस्यका रूपमा रहेका छन्।

नयाँ नियमावली तयार गर्दा संसदीय परम्परा र विगतका अभ्यासलाई ध्यानमा राख्दै २०१६ साल यताका अनुभव समेटिएको र बदलिँदो राजनीतिक व्यवस्थाअनुसार आवश्यक नयाँ प्रावधानहरू समावेश गरिएको जनाइएको छ। यो नियमावलीले आगामी पाँच वर्षसम्म प्रतिनिधिसभाको सञ्चालनलाई व्यवस्थित बनाउने, कानुन निर्माण प्रक्रियालाई प्रभावकारी बनाउने, सांसदहरूको भूमिका मजबुत पार्ने तथा कार्यपालिकालाई थप जवाफदेही बनाउने लक्ष्य राखेको छ। साथै संसदको गरिमा जोगाउने मूल उद्देश्य पनि मस्यौदामा समेटिएको छ।

समितिले आइतबार सभामुख तथा पूर्वमहासचिवहरूसँग छलफल गरी सुझावसमेत संकलन गरेको थियो। मस्यौदा तयार गर्दा प्रचलित कानुन, अदालतका फैसला र यसअघि बनेका कानुनी संरचनाभन्दा बाहिर नजाने गरी काम गरिएको समितिले जनाएको छ।