संविधान संशोधनको बहस तीव्र भइरहेका बेला श्रम संस्कृति पार्टी ले प्रत्यक्ष निर्वाचित कार्यकारी राष्ट्रपति र पूर्ण समावेशी राज्य प्रणालीको प्रस्ताव अघि सारेको छ ।
पार्टीले ‘संविधान संशोधन बहसपत्र तयार गर्ने कार्यदल-२०८२’ लाई लिखित सुझाव बुझाउँदै वर्तमान शासन व्यवस्थामा परिवर्तन आवश्यक रहेको औंल्याएको हो। पार्टी अध्यक्ष हर्क साम्पाङ ले सार्वजनिक गरेको सुझावपत्रमा नौ बुँदामार्फत वैकल्पिक शासन मोडेल प्रस्तुत गरिएको छ । सुझावअनुसार राष्ट्र प्रमुखलाई जनताबाटै प्रत्यक्ष निर्वाचित गर्नुपर्ने र सोही कार्यकारी राष्ट्रपतिलाई मन्त्रिपरिषद गठनको अधिकार दिनुपर्ने उल्लेख छ ।
साथै मन्त्रिपरिषद गठन गर्दा पूर्ण समावेशीतालाई अनिवार्य आधार बनाइनुपर्ने पार्टीको धारणा छ । श्रम संस्कृति पार्टीले वर्तमान राजनीतिक संरचनालाई परिमार्जन गर्दै उत्तरदायी, समावेशी र जनमुखी शासन प्रणाली स्थापना गर्न संविधान संशोधन आवश्यक रहेको निष्कर्ष निकालेको छ।



















