राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेमाथि जिल्ला अदालतमा विचाराधीन मुद्दाको आरोप पत्र संशोधन सम्बन्धी निर्णयविरुद्ध परेको रिट निवेदन सुनुवाइ स्थगित भएको छ ।
रिट निवेदनको सुनुवाइका लागि आज पेसी तोकिएकोमा सरकारी वकिलले स्थगित गराएका हुन् । सहकारी ठगीसँगै सङ्गठित अपराध र सम्पत्ति शुद्धीकरण सम्बन्धी कसुर जोडिएको मुद्दा संशोधन गर्ने महान्यायाधिवक्ता कार्यालयको निर्णयविरुद्धको उक्त रिट आज पूर्ण इजलासमा सुनुवाइका लागि पेसी तोकिएको थियो ।
सर्वोच्च अदालतका न्यायाधीशद्वय विनोद शर्मा र अब्दुल अजीज मुसलमानको संयुक्त इजलासले २०८२ चैत १५ गते आदेश जारी गर्दै यो विवादमा गम्भीर संवैधानिक र कानुनी व्याख्या आवश्यक रहेको भनी पूर्ण इजलासमा पठाएको थियो ।
संयुक्त इजलासले ‘थप प्रमाण’को गलत व्याख्याको आशङ्का गर्दै यो विवादलाई पूर्ण इजलासबाट सुनुवाइ गर्नुपर्ने औँल्याएको छ ।


















