प्रधानमन्त्रीलाई चन्द्र भण्डारीको प्रश्न : नेपालले भारतको सीमा मिचेको प्रमाण के छ ?

नेपाली कांग्रेसका नेता चन्द्र भण्डारीले प्रधानमन्त्री बालेन शाहको सीमा सम्बन्धी अभिव्यक्तिप्रति प्रश्न उठाएका छन्। प्रतिनिधिसभामा सांसदहरूको प्रश्नको जवाफ दिने क्रममा प्रधानमन्त्री बालेनले आफू प्रधानमन्त्री भएपछि नेपालले भारतको भूमि मिचेको विषय थाहा पाएको बताएका थिए।

उक्त भनाइपछि भण्डारीले त्यसको आधार र प्रमाण माग गरेका हुन्। सामाजिक सञ्जालमार्फत प्रतिक्रिया दिँदै उनले नेपालले भारतको सीमा मिचेको दाबी पुष्टि गर्ने कुनै आधिकारिक तथ्य, नक्सा, सन्धि वा दस्तावेज भए सार्वजनिक गर्न सरकारलाई आग्रह गरे। उनले सीमा जस्तो संवेदनशील विषयमा स्पष्ट र प्रमाणित धारणा आवश्यक रहेको बताए।

भण्डारीले नेपालले कुनै पनि छिमेकीको भूमि नमिचेको र सार्वभौमिकताको सम्मान गर्दै आएको उल्लेख गर्दै सीमा व्यवस्थापनका लागि दीर्घकालीन नीति, प्रभावकारी कूटनीति र राष्ट्रिय एकता आवश्यक रहेको धारणा राखेका छन्।