राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) भित्र वैधानिकता र नेतृत्वलाई लिएर विवाद चर्किएको छ। महामन्त्री धवलशम्शेर राणाले पार्टीले वैधानिक हैसियत गुमाएको दाबी गर्दै नयाँ राष्ट्रवादी शक्ति निर्माणका लागि आह्वान गरेका छन्। विज्ञप्ति जारी गर्दै उनले एकता महाधिवेशनबाट निर्वाचित केन्द्रीय कार्यसमितिको कार्यकाल गत मंसिरमै समाप्त भएको र थपिएको समयसीमा पनि जेठ १९ गते सकिएसँगै पार्टी वैधानिक संकटमा पुगेको दाबी गरे।
राणाले नेतृत्वमाथि गैरजिम्मेवारीपन, अदूरदर्शिता र निर्णय कार्यान्वयनमा कमजोरी रहेको आरोप लगाउँदै पार्टीको वर्तमान अवस्थाका लागि नेतृत्व नै जिम्मेवार रहेको टिप्पणी गरेका छन्।
उनका अनुसार पार्टीभित्र विश्वासको संकट गहिरिँदा सयौँ कार्यकर्ता पार्टी छोड्न बाध्य भएका छन् भने बाँकी संगठन पनि कमजोर अवस्थामा पुगेको छ। नेतृत्वको धारणा ‘भ्रमपूर्ण’ भएको दाबी गर्दै उनले सम्पूर्ण राष्ट्रवादी शक्ति, समूह र अभियानलाई एकजुट भई नयाँ राजनीतिक शक्ति निर्माणतर्फ अघि बढ्न अपिल गरेका छन्।


















