सचिव कृष्णहरि पुष्करले प्रधानमन्त्री बालेन शाहको निजी नम्बरमै राजदुतका लागि अप्लाई गर्दैछु भनेर मेसेज गरेपछि उनलाई सोधपुछका लागि प्रहरीले नियन्त्रणमा लिएको खुलेको छ।
उच्च स्रोतका अनुसार उनले प्रधानमन्त्री बालेन शाहको नम्बरमा ‘राजदूतमा अप्लाई गर्नका लागि मार्गनिर्देशन पाऊँ’ भनेर मेसेज गरेका थिए।
परराष्ट्र मन्त्रालयले भारत, चीन, अमेरिका, बेलायत लगायत झन्डै डेढ दर्जन मुलुकमा रिक्त रहेको राजदूत नियुक्तिका लागि आवेदन दिन आह्वान गरेको छ। आवेदन दिने अन्तिम मिति आज हो।
‘सम्माननीय प्रधानमन्त्रीज्यू। म असार २४ गते रिटायर्ड हुँदैछु मेरो मुख्यसचिव हुने सम्भावना पनि छैन। यहीबेला राजदूतमा आवेदन खुलेको रहेछ। त्यसमा अप्लाई गर्न लागेको छु। जानकारीको लागि, आवश्यक मार्गनिर्देशन पाऊँ,’ सचिव पुष्करले यही मेसेज प्रधानमन्त्रीलाई पठाएको स्रोतको दाबी छ।
यसरी पठाइएको मेसेजबारे प्रधानमन्त्री बालेनले सोधपुछ गर्न निर्देशन दिएपछि काठमाडौं उपत्यका अपराध अनुसन्धानले पुष्करलाई सोधपुछका लागि नियन्त्रणमा लिएको थियो।
सोधपुछ पछि थप कारबाहीको आधार नभएपछि प्रहरीले राति १० बजे पुष्करलाई श्रीमतीको जिम्मा लगाएको थियो।


















