उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री गौरीकुमारी यादवले इलाम तथा झापामा उत्पादित चिया भारत निर्यातमा देखिएको समस्या समाधानका लागि कूटनीतिक प्रयास भइरहेको बताएकी छन् । प्रतिनिधिसभाको बुधबारको बैठकमा विनियोजन विधेयक, २०८३ अन्तर्गत उद्योग मन्त्रालयको विनियोजन शीर्षकमाथिको छलफलमा उठेका प्रश्नको जवाफ दिँदै उनले यस्ताे बताएकी हुन् ।
मन्त्री यादवले चिया तथा अलैँचीलगायत कृषि उपजको भण्डारण र बजारीकरणमा विशेष योजना बनाइएको बताइन् । ‘स्थानीय कृषि उपजको बजारको पहुँच अभिवृद्धि गर्न सम्बन्धित क्षेत्रका व्यवसायीसँगको लागत साझेदारीमा गोदाम घर निर्माणका लागि स्रोत व्यवस्थापन भइरहेको छ’, मन्त्री यालवले भनिन् ।
दैलेखस्थित पेट्रोलियम अन्वेषण परियोजनाको ड्रिलिङ पूरा भई अन्तिम प्रतिवदेन प्राप्त हुने क्रममा रहेको जानकारी दिँदै उनले प्रतिवेदनको सुझाव अनुरुप सरकारले थप कार्य अघि बढाउने प्रतिबद्धता जनाइन् ।
‘धौवादी फलाम खानी सञ्चालनका लागि ‘मोडालिटी’ तय गरी विस्तृत अध्ययन प्रतिवेदन तयार गर्ने कार्य अघि बढाइनेछ’, उनले भनिन् । मन्त्री यादवले तीन महिनाको माग धान्ने गरी पेट्रोलियम पदार्थको भण्डारण क्षमता अभिवृद्धि गर्ने लक्ष्यअनुसार काम भइरहेको स्पष्ट पारिन् ।
















