नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल प्रचण्डले कम्युनिस्टहरूबीच सकेसम्म चाँडो एकता हुनुपर्ने बताएका छन् । आज–भोलि नै पार्टी एक हुनुपर्छ भन्ने विचार नराखेको भन्दै उनले सहकार्यका लागि भने ढिला नगर्न र सकेसम्म आजैदेखि सहकार्य जारी राखौँ भनेका छन् ।
उनले संसारबाट कम्युनिस्टहरूलाई सिध्याउन खोजिएको भन्दै छिमेकी देश भारतको उदाहरण दिए । नेपालमा पनि कम्युनिस्ट शक्ति सक्ने प्रयास भइरहेको जिकिर गरे । उनले संविधानका मूलभूत मान्यतामाथि आक्रमण गर्ने कार्य सुरु भएको बताउँदै त्यसको प्रतिरोधका लागि कम्युनिस्ट शक्तिको आवश्यकता रहेको औँल्याए ।
‘सबैको टार्गेट कम्युनिस्ट आन्दोलनलाई के गरी सिध्याउने भन्ने छ,’ प्रचण्डले भने, ‘यो नेपाल जस्तो देशमा कम्युनिस्टको जबर्जस्ती प्रभावलाई के गरी सिध्याउन सकिन्छ भन्ने कुरामा दुनियाँभरका प्रतिक्रियावादी लागिरहेका छन् ।’
उनले गत २३ र २४ भदौको आन्दोलन र २१ फागुनको चुनाव पनि त्यही कम्युनिस्टहरू सिध्याउने खेल भएको स्पष्ट पारे । उनले राष्ट्रिय स्वाधिनताको रक्षाका लागि देशभक्त कम्युनिस्ट शक्तिहरू एक हुनुको विकल्प नभएको जिकिर गरे ।
‘यहाँ मदनलाई सम्मान गर्न हामी जुटेका हौँ भने सबै कम्युनिस्ट एक हुनुपर्नेछ,’ उनले भने, ‘प्राप्त गरेका राजनीतिक उपलब्धिको रक्षाका लागि पनि हामी एक हुनुको विकल्प छैन ।’



















